Main News

करोडौं मूल्यका भेन्टिलेटर काम नलाग्ने अवस्थामा (भिडियो रिपोर्टसहित)

२०८० भदौ २६ गते २०:३०
करोडौं मूल्यका भेन्टिलेटर काम नलाग्ने अवस्थामा (भिडियो रिपोर्टसहित)

२६ भदौ २०८० काठमाडौं । कोरोना संक्रमण महामारीको समयमा देशभरका अस्पतालमा भेन्टिलेटरको चरम अभाव देखियो । अभावपूर्तिका लागि सरकारले अस्पतालमा आवश्यक भेन्टिलेटर आफैंले खरिद गर्‍यो भने कतिपय दातृ निकाय र संघ संस्थाबाट पनि सहयोगमा प्राप्त भयो । कोरोना महामारीको समयमा किनिएका करोडौं मूल्यका भेन्टिलेटर अहिले काम नलाग्ने अवस्थामा पुगेका छन् ।

कोरोना महामारीका समयमा देशभरका अस्पतालमा अक्सिजन प्लान्ट र भेन्टिलेटरमा ठूलो लगानी भयो । स्वास्थ्य सेवा विभागले मात्रै पछिल्लो ३ वर्षमा कुल ८ सय ४० थान भेन्टिलेटर देशभरका सरकारी अस्पतालमा पठाएको छ ।

२०७७ साउनदेखि हालसम्म स्वास्थ्य सेवा विभागमा प्राप्त भएको ९ सय २४ थान भेन्टिलेटरमध्ये ८४० थान सरकारी अस्पतालमा वितरण गरिएको विभागले जनाएको छ । तत्कालीन अवस्थामा कोरोना संक्रमितलाई राहात पुर्‍याएको भेन्टिलेटर अहिले बन्द हुने अवस्थामा छन । काठमाडौंका तीन ठूला सरकारी अस्पतालमा हामीले भेन्टिलेटरको अवस्था के छ भनेर जानकारी लिने प्रयास गरेका छौं । सुरुमा चर्चा गरौं देशकै ठूलो र जेठो अस्पताल वीरमा भएका भेन्टिलेटरको अहिलेको अवस्था ।

वीर अस्पतालमा भेन्टिलेटरको कुल संख्या– १ सय ३०
कोरोना महामारीपछि थप भएका भेन्टिलेटरको संख्या– १०५
अहिले सञ्चालनमा रहेका भेन्टिलेटरको संख्या– १००
बिग्रिएर थन्किएका भेन्टिलेटरको संख्या– ३०

एउटा भेन्टिलेटरको मूल्य २० देखि २५ लाख रुपैंयासम्म पर्छ । यो तथ्यले वीरमा अहिले लाखौं मूल्य बराबरका भेन्टिलेटर प्रयोग विहिन अवस्थामा पुगेको देखिन्छ । तर अस्पताल प्रशासन भने केही भेन्टिलेटर बिग्रिएको दाबी गर्छ । आईसीयू र एचडीयूको संख्या बढेकाले कोरोना महामारीपछि पनि भेन्टिलेटर प्रयोगमै रहेको वीर अस्पतालको दाबी छ ।

वीर अस्पताल सँगैको राष्ट्रिय ट्रमा सेन्टरमा रहेका भेन्टिलेटरको अवस्था पनि चर्चा गरौं । दुर्घटनाका घाइतेका लागि भेन्टिलेटरको आवश्यकता बढी हुन सक्छ । ट्रमामा आवश्यकता भन्दा कम भेन्टिलेटर उपलब्ध छन् । ती मध्ये पनि आधा जसो भेन्टिलेटर प्रयोग बिहीन अवस्थामा रहेको अस्पताल प्रशासन नै बताउँछ ।

ट्रमा सेन्टरमा रहेका कुल भेन्टिलेटरको संख्या– ३७
सञ्चालनमा रहेका भेन्टिलेटरको संख्या– १७
बिग्रिएका भेन्टिलेटरको संख्या– २०

कोरोना महामारीकै लागि भेन्टिलेटर थप नभएको अस्पतालको भनाइ छ ।

ट्रमा सेन्टरमा अधिकांश घाइते गम्भीर अवस्थामा पुग्छन । उनीहरुका लागि भेन्टिलेटरको आवश्यकता बढी हुन्छ । तर भएका भेन्टिलेटर नै चल्ने अवस्थामा छैनन ।

वीर पछिको सबै भन्दा बढी बिरामीको चाप हुने त्रिवि शिक्षण अस्पतालमा भएका भेन्टिलेटर थोरै मात्र बिग्रिएको पाइएको छ । अधिकांश भेन्टिलेटर प्रयोगमै रहेको अस्पतालको भनाइ छ ।

त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरको संख्या– ६८
चालु अवस्थामा रहेका भेन्टिलेटरको संख्या – ६०
कोरोना महामारीपछि थपिएका भेन्टिलेटरको संख्या– २८
बिग्रिएका भेन्टिलेटरको संख्या – ८

कोरोना संक्रमणका बेला अस्पताल आफैंले खरिद गरेर र कतिपय सहयोगी संस्थाको सहयोगमा भेन्टिलेटर थप गरिएका थिए । अहिले ८ वटा भेन्टिलेटर चलेका छैनन ।

यी केही प्रतिनिधि अस्पताल हुन्, लाखौं मूल्य बराबरका भेन्टिलेटरहरु थन्काइएको छ । केही मर्मत नै हुन नसक्ने र मर्मत गर्न ठूलो रकम खर्च हुनेबाहेक धेरै जसो सामान्य मर्मत गरेर चलाउन सकिने अवस्थाका छन । तर मर्मतका लागि अस्पताल व्यवस्थापन र सरकारले चासो दिएका छैनन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *