Main News

फर्मुला दुध : रहर कि बाध्यता ? आमा र शिशुको स्वास्थ्यमा नकारात्मक असर ! (भिडियो रिपोर्टसहित)

२०८० भदौ १० गते २०:५३
फर्मुला दुध : रहर कि बाध्यता ? आमा र शिशुको स्वास्थ्यमा नकारात्मक असर ! (भिडियो रिपोर्टसहित)

१० भदौ २०८० काठमाडौं । नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै गइरहेको छ । सय जना सुत्केरी आमामध्ये ५६ जनाले मात्र स्तनपान गराउँछन् भने ४४ जनाले फर्मुला (कृत्रिम) वा गाईभैंसीको दूध खुवाउँछन ।

यसको अर्थ नेपालमा फर्मूला दुध अर्थात बट्टाको दुध खुवाउने चलन बढिरहेको छ । यसले आमा र शिशु दुबैको स्वास्थ्यमा नकारात्मक असर परिरहेको हुन्छ । तर आमाले यी उपाय अपनाउँदा फर्मुला दुध खुवाउनु पर्ने अवस्थाको अन्त्य हुन सक्छ ।

ल्यानसेट सिरिज अन ब्रेसफिडिङले सन् २०२३ मा गरेको सर्वेक्षणमा विश्वमा २ जना नवजात शिशु मध्ये १ जनाले मात्र पूर्ण स्तनपान गराउने गरेको तथ्य सार्वजनिक गरेका छ । नेपालको अवस्था हेर्ने हो भने जन्मेको १ घण्टा भित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत, ६ महिनासम्म पूर्ण स्तनपान गराउने संख्या ५६ प्रतिशत र दुई वर्षसम्म स्तनपान गराउनेको संख्या ९४ प्रतिशत छ ।

सरकारको दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म सरकारले १ घण्टा भित्र स्तनपान गराउने, ६ महिना स्तनपान गराउने प्रतिशतलाई बढाएर ९० प्रतिशत बनाउने लक्ष्य लिएको छ । तर स्तनपानभन्दा पनि बोतलका दुध खुवाउने चलन बढिरहेकाले सरकारलाई लक्ष्य भेट्न कठिन हुने देखिन्छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण एनडीएचएसले पाँच पाँच वर्षमा गर्ने अध्ययनले त्यस्तै देखाउँछ ।

शिशु जन्मिएदेखि पाँच महिनासम्म स्तनपान गराउने आमा
सन् २०२२- ५६ प्रतिशत
सन् २०१६- ६६ प्रतिशत
सन् २०११- ७० प्रतिशत
सन् २००६- ५३ प्रतिशत
सन् २००१- ६८ प्रतिशत
सन् १९९६- ७५ प्रतिशत

आमाको शैक्षिक अवस्था र स्तनपानको अवस्था पनि एक पटक हेरौं । ६ महिनासम्म पूर्ण स्तनपान गराउनेको शैक्षिक अवस्था र प्रतिशत स्

माध्यामिक शिक्षा पढेका ५३ प्रतिशत
आधारभूत शिक्षा पढेका ६१ प्रतिशत
औपचारिक शिक्षा हासिल नगरेका ५९ प्रतिशत

यो तथ्यांकले औपचारिक शिक्षा हासिल गरेका महिलाहरु नै पूर्ण स्तनपान गराउन उदासीन रहेको देखाउँछ । यसको कारण अनेक हुन सक्छन्, त्यसमध्ये कामको व्यस्तता पनि प्रमुख कारणको रुपमा रहेको छ । काममा व्यस्त हुने आमाले पनि आफ्नो शिशुलाई ६ महिनासम्म पूर्ण स्तनपान गराउन सक्छन् । तर कसरी रु

नेपालमा सन् २०२२ मा न्यूट्रिसन इन्टरनेशनलले गरेको सर्वेक्षण अनुसार पूर्ण स्तनपान नगराउँदा २ लाख ११ हजार ६ सय ७२ जना बालबालिकामा झाडापखालाको समस्या देखिएको छ । त्यसमध्ये १ सय ७४ जनाको मृत्यु भएको छ ।

त्यस्तै पूर्ण स्तनपान नगराइएका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कम भएकाले अन्य विभिन्न प्रकारका रोगको सामना गर्नु परेको पनि तथ्यले देखाउँछ । बच्चाजन्मेको १ घण्टा भित्रै आमाको दुध खुवाउन सके यो समस्यामा कमी आउन सक्छ । तर अहिले शल्यक्रिया गरेर बच्चा जन्माएका र अन्य कारण दुध नआएको भन्दै बोतलका दुध खुवाउने गरिएको छ । यो गलत हो ।

बेहोसी भएका अवस्थाबाहेक बच्चा जन्माएको आमाको दुध बच्चालाई चुसाइरहने हो भने जुनसुकै अवस्थामा पनि आउँछ । तर आमा स्तनपान गराउन तयार नभएको अवस्थामा दुध नआउन सक्छ । त्यसैले आमा बच्चालाई दुध खुवाउन पूर्ण रुपमा तयार हुनुपर्छ । परिवार, स्वास्थ्यकर्मीले स्तनपानको लागि आमालाई सहजीकरण र सहयोग गरिदिनु पर्छ । यो नै फर्मुला दुध हटाउने उत्तम विकल्प हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *