Main News

दोस्रो पाइपलाइन परियोजनाको ४० प्रतिशत काम पूरा (भिडियो रिपोर्टसहित)

२०८० भदौ ९ गते २०:४६
दोस्रो पाइपलाइन परियोजनाको ४० प्रतिशत काम पूरा (भिडियो रिपोर्टसहित)

९ भदौ २०८० बारा । नेपाल आयल निगम प्रादेशिक डिपो अमलेखगन्जमा सन् २०२४ को जनवरीदेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरु गर्ने लक्ष्य साथ सुरु भएको दोस्रो चरणको परियोजनाको निर्माण ४० प्रतिशत पूरा भएको छ ।

निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रुपमा लगानी गरेको दोस्रो चरणको परियोजनाअन्तर्गतको भौतिक निर्माणको काम द्रुत गतिमा अघि बढेको छ ।

गत २०७६ भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगन्जमा पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न सुरु भएको दोस्रो चरणको काम जारी छ ।

सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गरी सन् २०२४ को जनवरीदेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरु गर्ने लक्ष्य लिइएको छ । ४० प्रतिशत निर्माण सम्पन्न भएको यस परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्टयाउने ओडब्ल्यूएस सिस्टम तथा पीएमसीसी कक्ष निर्माणको काम अघि बढेको छ ।

दोस्रो चरणको परियोजनाअन्तर्गत डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्यांक, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण भइरहेको छ ।

भारतको बरौनीदेखि अम्लेखगञ्जसम्म पेट्रोल ढुवानी गर्दा प्रतिलिटर पेट्रोलमा ३ रुपैयाँ खर्च हुन्छ भने पाइपलाइनबाट ल्याउन सके प्रतिलिटर ५० पैसामात्रै खर्च हुने छ । म्लेखगञ्जदेखि २ सय ५० किलोमिटर टाढा रहेको भारतको बरौनी पुगेर पेट्रोल ल्याउँदा प्रतिट्याङ्कर २० हजार लिटर पेट्रोलका लागि ४ सय लिटर डिजेल खर्च हुने गरेको छ । एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्यांकरबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ ।

आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल सबैको आयात पाइपलाइनबाटै हुनेछ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा वातावरण प्रदूषण कम हुनुका साथै प्राविधिक नोक्सानी शून्य हुने र ढुवानी भाडा पनि बचत हुनेछ ।

दोस्रो चरणको काम सम्पन्न भएर पाइपलाइनबाट पेट्रोल आयात हुँदा निगमको इन्धन खर्च र ढुवानी भाडा बापत मात्रै प्रतिमहिना १५ करोड र वार्षिक १ अर्ब ८० करोड बचत हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *