Main News

सर्वदलीय बैठक निष्कर्षविहीन, संसद बैठक पाँच गतेसम्मका लागि स्थगित

हिमालय टिभी
२०८० भदौ ३ गते १५:०१
सर्वदलीय बैठक निष्कर्षविहीन, संसद बैठक पाँच गतेसम्मका लागि स्थगित

३ भदौ २०८० काठमाडौं । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदीय बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन । सदन खुलाउनुपर्छ भन्नेमा सबै दल सहमत रहेकाले भोलि बस्ने बैठकमा सहमति जुट्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जानकारी दिनुभयो ।

तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको अडान यथावत नै राखेको छ ।

एमालेले समितिको अडान राखिरहेका बेला उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको केन्द्रीय अनुसन्धा ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेकाले अर्को समिति बनाउँदा छानिबन प्रभावित हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । दलहरुबीच सहमति नजुटेपछि आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक भदौ ५ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

यसअघि आजै सभामुख देवराज घिमिरेले संसद अवरोध अन्त्यका विषयमा दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको थियो । छलफलमा एमालेले अडान कायम राख्दा सहमति जुट्न नसकेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *