Main News

विशेष महाधिवेशन : प्रचण्डको नयाँ ‘कार्ड’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २० गते २०:४८
विशेष महाधिवेशन : प्रचण्डको नयाँ ‘कार्ड’ (भिडियो रिपोर्टसहित)

२० साउन २०८० काठमाडौं । आठौं महाधिवेशन सकिएको २७ महिनापछि आगामी चैतमा माओवादीको विशेष महाधिवेशन हुँदैछ ।

पार्टी स्थापनाकालदेखि अविछिन्न अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डकै चाहनामा जारी केन्द्रीय कमिटी बैठकमा विशेष महाधिवेशनको विशेष चर्चा छ । र चैतमा हुने विशेष महाधिवेशनबाट आफूप्रतिको समर्थन थप प्रचण्ड बनाउने योजनामा हुनुहुन्छ, प्रचण्ड । अनि बहस चलेको छ पुस्तान्तरणको पनि । नेतृत्वमा पुगेका वा पुग्न चाहेकाको उकुसमुकुस प्रज्ञा भवनमा छरपष्ट छ ।

२०७८ पुस ११ देखि १५ सम्म काठमाडौंमा भएको आठौं राष्ट्रिय महाधिवेशनले बनाएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले २०७८ पुस १९ गते अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई नै दोहोर्यायो ।

पुनः नेतृत्वमा चुनिएपछि प्रचण्डले उमेरलगायतका कारण देखाउँदै सम्भवतः नेतृत्व हाँक्ने अन्तिम अवसर बताउनुभएको थियो । २०६९ माघ २० देखि २६ सम्म मकवानपुरको हेटौंडामा सातौं महाधिवेशन गरेको माओवादीले ९ वर्षपछि अर्को महाधिवेशन गरेको थियो । एक दशक बित्दासम्म पनि महाधिवेशन नहुनु माओवादीभित्र सामान्य थियो र रहने छ । तर आठौं महाधिवेनको यति छोटो समयमै विशेष महाधिवेशनको प्रस्ताव प्रचण्डले किन गर्नुभयो त ? के उहाँ नेतृत्व हस्तान्तरणको पक्षमा देखिनुभएको हो ?

जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव ल्याउनु र यहीबेला नेताहरुले नेतृत्वको चर्को आलोचना गर्नुलाई संयोग मात्र मान्न सकिन्न । त्यसो त आगामी तीन महिनापछि माओवादीको विधान अधिवेशन पनि हुँदैछ । कतिपय नेताले भने छ महिनाभित्र हुने दुई ठुला गतिविधि मिसन ८४ मात्रै भएको र पार्टीको आकार बढाउने अध्यक्षको रणनीति रहेको दाबी गर्छन् ।

डेढ वर्ष पहिलाको आठौं महाधिवेशन निर्वाचन आयोगमा बैधता बचाउनका लागि मात्रै भएकाले चैतमा हुने विशेष महाधिवेशनमा संगठनको चुस्तता र मंसिरको विधान महाधिवेशनको नीति कार्यान्वयनको थलो बन्ने नेताहरुको तर्क छ । पार्टीमा अहिले प्रचण्डबाहेकको नेतृत्व कसैले सोच्न पनि नसक्ने दाबी गर्नेहरु पनि छन् ।

त्यसबेलासम्म समाजवादी मोर्चामा रहेका दलहरुसँग एकता हुनसक्ने र विशेष महाधिवेशनमार्फत् त्यसलाई अनुमोदन गराउने प्रचण्डको भित्री चाहना छ । तीन दशकभन्दा लामो समय पार्टी नेतृत्व गरेका प्रचण्डकै अगुवाइमा माओवादीले नेपालमा १० वर्ष लामो सशस्त्र विद्रोह गरेको थियो। शान्ति प्रक्रियामा आइसकेपछि माओवादीमा नेतृत्व परिवर्तन बलियो मुद्दा बन्न सकेन । तर जारी केन्द्रीय समितिमा भने प्रसस्त आवाज उठेको छ । उमेर हदको विषय पनि उठेको छ । प्रचण्ड स्वयंले पार्टीलाई लयमा ल्याउने र सरकार मार्फत् माओवादी जनयुद्ध जनहितमा रहेको पुष्टि गराएर नेतृत्व हस्तान्तरण गर्ने बताइसक्नुभएकाले उहाँलाई चुनौति कसैले दिन नसक्ने र नमिल्ने नेताहरुको तर्क छ ।

माओवादीमा पछिल्लो पटक उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले भावी नेतृत्वको दाबीसहित अध्यक्षलाई टक्कर दिन खोजेको देखिन्छ । तर आठौं महाधिवेशनपछि देव गुरुङलाई महासचिव बनाएका प्रचण्ड यतिबेला विप्वलवलाई भित्र्याएर थप शक्तिशाली बन्न खोजिरहनु भएको त होइन भन्ने आशंका पार्टीका नेताहरुमा देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *