राजनीति

कांग्रेसमा गुटगत फेरबदलको संकेत, संस्थापन इतरको नेतृत्वमा महामन्त्रीद्वय ! (भिडियो रिपोर्टसहित)

२०८० साउन ९ गते २०:३६
कांग्रेसमा गुटगत फेरबदलको संकेत, संस्थापन इतरको नेतृत्वमा महामन्त्रीद्वय ! (भिडियो रिपोर्टसहित)

९ साउन २०८० काठमाडौं । नेपाली कांग्रेसमा गुटगत अभ्यास नयाँ होइन । कांग्रेसको स्थापनादेखि नै गुटगत अभ्यास सुरु भएको थियो । अहिले आइपुग्दा पनि गुट कायमै छ । संस्थापन समूह र संस्थापन इतरमा बाँडिएर कांग्रेस नेतृत्व चल्दै आएको छ ।

सभापति शेरबहादुर देउवा र उहाँसँग १४औँ महाधिवेशनमा पराजित शेखर कोइरालाले संस्थापन र इतर समूह चलाइरहनुभएको छ । तर हालैको केन्द्रीय समिति बैठकमा गुटगत ध्रुविकरणमा फेरबदल आएको संकेत देखा परेको छ । संस्थापन इतरको नेतृत्व महामन्त्रीद्वयले लिने संकेत देखिएको छ ।

नेपाली कांग्रेसको ५ दिनसम्म चलेको केन्द्रीय समिति बैठकले अब कांग्रेसभित्रको शक्ति संघर्ष फेरिन लागेको सन्देश दिएको छ । १४औँ महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइराला दुई ध्रुवका रुपमा हुनुहुन्थ्यो । तर, केन्द्रीय समिति बैठकसम्म आउँदा संस्थापनइतर कित्ताको नेताका रुपमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा देखापर्नुभएको छ ।

दुईतिहाइ केन्द्रीय सदस्यको साथ पाएका सभापति निकट र अन्यको पनि निशाना थापा र शर्मा माथि नै थियो । आफ्नो धारणा राख्ने क्रममा दुवै महामन्त्रीले एकै स्वरमा एउटै लय मिलाउँदै अबसँगै अघि बढ्ने सन्देश पनि दिनुभएको छ । पार्टीका सबै निर्णयमा आफ्नो भूमिका खोजेका महामन्त्रीद्वयले केन्द्रीय समिति बैठकमै संस्थापनपक्षसँग सम्झौता नगर्ने प्रष्ट सन्देश दिनुभएकोछ ।

यो बैठकमा शेखर कोइरालाले संस्थापनलाई ुकाउन्टरु दिने अपेक्षा थियो । तर, पार्टीभित्रको प्रतिपक्षका रुपमा आफूलाई उभ्याउन नसकेका कोइरालाको विकल्पका रुपमा महामन्त्री थापा र शर्मा देखिनुभयो । यदी देउवाको विपक्षमा शेखर उभिनुभएको भए दुबै महामन्त्रीको नेताका रुपमा उहाँको स्पेस हुन्थ्यो । संस्थापन पक्षकै नेताहरु पनि अब कांग्रेसको आन्तरिक राजनीति नयाँ ध्रुविकरणको चरणमा प्रवेश गरेको स्वीकार्छन् ।

केन्द्रीय समितिमा १ सय २५ भन्दाबढी सदस्य देउवा पक्षका छन् । बाँकी ४० को हाराहारीमा रहेका सदस्य संस्थापन इतरमा छन् । बैठकमा देउवाको पक्षमा धेरैले धारणा राखे । तर, महामन्त्रीद्वयले धारणा राख्नेक्रममा आफूमाथिको प्रश्नको जवाफ मात्र दिएनन्, अबको नेतृत्वमा दाबी नछाड्ने चुनौती पनि दिए ।

कांग्रेसभित्रको शक्ति संघर्षमा देखिएको यो फेरबदलले पार्टीभित्र शक्तिशाली देउवालाई कति फरक पर्छ ? देउवा सँग लडेर होइन मिलेर लिने शेखर रणनीति सफल हुन्छ ? वा खुला उद्घोष गरेरै परिवर्तन गरिछाड्ने महामन्त्रीहरुको संकल्पले आकार लिन्छ ? त्यसका लागि भने केही समय कुर्नैपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्