राजनीति

काेशीका मुख्यमन्त्रीको विश्वासको मतका लागि नाैटंकी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ४ गते २०:४१
काेशीका मुख्यमन्त्रीको विश्वासको मतका लागि नाैटंकी (भिडियो रिपोर्टसहित)

४ भदौ २०८० काठमाडौं । कोशीमा नौटंकी चलिरहेको छ । हिक्मत कार्की नेतृत्वको सरकार विश्वासको मत नपाएर ढले यता कोशीमा दलहरुले नाटक मञ्चन गरिरहेका छन् ।

सरकार बनाउन र टिकाउन दलहरुले संविधानको धज्जी उडाएका छन् । गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका उद्धव थापाले यसअघि सभामुखलाई मुछेर र आज संविधान विपरित सभाध्यक्षलाई पनि मत हाल्न लगाएर फेरि एकपटक नाटकीय ढंगले विश्वासको मत लिनुभयो । थापाले सोमबार पाएको मत र प्रतिपक्षले उपसभामुखलाई बिदामा बस्न लगाएर गरेको नाटकले अन्ततः कोशीको भविष्य थप अन्योल बन्न पुगेको छ ।

कोशी प्रदेशसभा आजको अवस्थासम्म आइपुग्नुको मुख्य योजनाकार र अझ नाटक मञ्चनका नाइके प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुन् । पुस १० मा एमालेसँग गठबन्धन गरेर कोशीमा हिक्मत कार्की नेतृत्वमा सरकार बनाए । पछि फेरि चुनावताकाकै गठबन्धन ब्युताउँदै प्रचण्डले नै कार्कीको सरकार गिराउन खेलेको भूमिकाबाटै कोशी सरकार र प्रदेशसभामाथि अन्योल सिर्जना भएको हो ।

त्यसपछि सुरु भएको दलहरुको नाटक मञ्चन आजसम्म जारी छ । प्रचण्डले माओवादीलाई जेठ १३ मा सरकारबाट फिर्ता बोलाए । असार १५ मा विश्वासको मत लिन नसकेपछि हिक्मत कार्की नेतृत्वको सरकार ढल्यो । त्यसपछि कांग्रेसको नेतृत्वमा उद्धव थापा मुख्यमन्त्री नियुक्त हुनुभयो । तर, मुख्यमन्त्री बन्न थापा र गठबन्धनले नाटक मञ्चन गरे । सभामुखको हस्ताक्षरसमेत जोडेर बहुमतसिद्ध गराउँदै थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गर्नुभयो ।

संविधान बर्खिलाप भएको निर्णयलाई सर्वोच्च अदालतले सच्याउँदै साउन ११ गते थापा नेतृत्वको सरकारलाई बदर गरिदियो । सभामुखलाई संविधान विपरित प्रयोग गरेको सत्ता गठबन्धनको नौटंकी त्यतिमा रोकिएन । बरु सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर फेरि साउन १६ गते मुख्यमन्त्रीका रूपमा दावी पेस गरियो । त्यसका लागि बाबुरामलाई मन्त्री नै बनाउनुपर्‍यो ।

सभामुखलाई राजीनामा गराएपछि ४७ को संख्या पु¥याउन आउने बाँकी बाधा अवरोध पनि हटाउन गठबन्धनले ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री नै बनाउनुप¥यो । किनकी सभामुखले राजीनामा दिएपछि उपसभामुखले बैठक चलाउनुपर्ने व्यवस्था छ । उपसभामुख पनि नहुँदा सदनको ज्येष्ठ सदस्यले बैठक चलाउनुपन हुन्छ । त्यो सूचीमा मण्डल पनि थिए । त्यसैले उहाँलाई राज्यमन्त्री बनाइयो । तर, सोमबार सत्तापक्ष सांसदले भने उपसभामुखले नाटक मञ्चन गरेको आरोप लगाएर आफु भने सही मार्गमा हिँडेको गफ छाँटे ।

कोशीमा देखिएको संकट सत्तापक्ष मात्र नभई प्रतिपक्षका कारण पनि निम्तिएको हो । एमाले र राप्रपाका थरी कुल ४६ सांसद छन् । एक सांसद कम भएकाले कार्कीको सरकार ढलेपछि प्रतिपक्ष गठबन्धनको सत्ता यात्रामा बाधा पु¥याउन चाहान्थ्यो नै ।

त्यसैले उपसभामुखलाई एमालेले सोमबार विश्वासको मत लिने दिन नै उपसभामुखलाई बिदामा बस्न लगाइयो । उपसभामुख बिदामा बसेपछि ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने अवस्था आउने भएपछि राप्रपाले त्यो क्रमसंख्यामा आफ्ना सांसद परेपछि बैठकमै अनुपस्थित गरायो । राप्रपा र एमालेका गरी ९ सांसदले बिदा बसेर नाटक मञ्चन गरे । तर, एमालेले त्यसको बचाउ ग¥यो ।

बैठकमा एमालेले जति नै उपसभामुख र बिदा बसेका सांसदको बचाउ गरेपनि अहिलको अवस्थामा ९ सांसद घरायसी समस्यमा भन्दै बिदामा बस्नु र पछि उनीहरु नै कोशीको एक कार्यक्रममा भेटिनुले यो नाटक गरिएको हो भन्ने कुरालाई थप पुष्टि गर्दछ । निरन्तर नौटंकी देखाइरहेका दलहरुले फेरि एकपटक नौटंकी गरेका छन् ।

साउन ११ गते सर्वोच्च अदालतले गरेको फैसलामै बैठकको अध्यक्षता गर्नेले मत दिन नपाउने व्यवस्था गरेको छ । तर, सोमबार भने स्माइल मन्सुरीले बैठकको अध्यक्षता मात्रै गर्नुभएन मत पनि दिनुभयो । जुन संविधान र अदालतको आदेश विपरीत छ । दलहरुले फेरि गरेको यो नाटक सर्वोच्च पुग्ने निश्चित छ । दलहरुको सत्ताको लोभमा नागरिकको समस्या भने ओझेलमा परेको छ । डेंगुले आक्रान्त धरानतर्फ कसैको ध्यान गएन बरु नाटक मञ्चन गर्दा गर्दै अन्ततः कोशी प्रदेश विघटनको डिलमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *