राजनीति

एमाले दक्षिणपन्थी भएको एकीकृत समाजवादीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ५ गते १६:४९
एमाले दक्षिणपन्थी भएको एकीकृत समाजवादीको आरोप (भिडियो रिपोर्टसहित)

५ भदौ २०८० काठमाडौं । नेकपा एकीकृत समाजवादी अहिले राष्ट्रिय दल होइन । तर गठबन्धनमा आबद्ध भएकाले मन्त्रीदेखि संसदीय समितिको नेतृत्व गर्ने मौका पाइरहेको छ । गठबन्धनका कारण लाभ उठाइरहेको एकीकृत समाजवादीको काम गराईप्रति नेतारकार्यकर्ता नै सन्तुष्ट छैनन् ।

एमाले फर्कनेको ओइरो लागेपछि गत साउन २१ मा बसेको स्थायी कमिटीको बैठकमा सम्मानित नेता झलनाथ खनालले एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि नभएको भन्दै लिखित असन्तुष्टि राख्नुभएको थियो । आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधव नेपालले खनालको असन्तुष्टि सम्बोधन गर्दै एमाले र एसबीचको फरक देखाउने प्रयत्न गर्नुभएको छ । तर निकै सकसपूर्ण भिन्नता देखाएपनि ति विरोधाभाषपूर्ण छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । तीनदिन चल्ने बैठकमा पेश भएको अध्यक्ष नेपालको प्रतिवेदनमा यसअघि सम्मानित नेता झलनाथ खनालले साउन २१ गते स्थायी कमिटीको बैठकमा एमाले र एकीकृत समाजवादीमा कुनै भिन्नता नभएको भन्दै गर्नुभएको टिप्पणीको जवाफ समेत दिइएको छ ।

साथै एमाले र समाजवादी पार्टीबीच भिन्नता रहेको भन्दै प्रष्ट्याउन पनि खोज्नुभएको छ । नेपालको नजरमा एमाले दक्षिणपन्थी बिसर्जनवादी गुट हो भन्दै एमालेबाट आफूहरूको विद्रोहको औचित्य पुष्टि भएको प्रतिवेदनमा दाबी गरिएको छ ।

के हुन् माधव नेपालले एमालेसँग देखेका भिन्नता ?
१. एकीकृत समाजवादीले गणतन्त्र स्थापना भएपछि नेपाली जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको मान्ने गरेको तर एमालेले नमान्ने
२. एकीकृत समाजवादीले वर्तमान नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको छ भनेर व्याख्या गर्ने गरेको भएपनि एमाले त्यसको बर्खिलापमा
३. एकीकृत समाजवादीको नजरमा अब हुने नेपाली क्रान्ति समाजवादी क्रान्ति भएको मानेपनि एमालेले नमान्ने
४. एकीकृत समाजवादीको मार्गदर्शक ​मार्क्सवाद–लेनिनवाद एमालेको जनताको बहुदलीय जनवाद
५. समाजवादी क्रान्तिको कार्यक्रम अँगालेर अगाडि बढ्ने एकीकृत समाजवादीको सोच भएपनि एमाले नमान्ने
६. एमालेले नमान्ने भएपनि समाजवादी कार्यदिशा अँगाल्ने एकीकृत समाजवादीको सोच
७. प्रतिगामी पुनरूत्थानवादी तत्वहरूका विरूद्ध प्रहार केन्द्रित गर्ने एकीकृत समाजवादीको सोच भएपनि एमाले त्यस्ता तत्वसँग सहकार्य गर्दै

त्यतिमात्र नभई नेपालले एमालेसँगको विद्रोह मुलुकलाई प्रतिगमनको भूमरीमा धकेल्ने दक्षिणपन्थी विसर्जनवादका विरुद्ध भएको तर्क गर्नुभएको छ । अध्यक्ष नेपालले एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटै लहरमा राख्नुभएको छ । प्रतिगमनलाई परास्त गरी जनवादी क्रान्तिका उपलब्धिको रुपमा रहेका संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, प्रतिनिधि सभालाई बचाएर पूर्ण कार्यकाल काम गर्न दिने र संविधानलाई क्रियाशील बनाउने विद्रोहका मुख्य लक्ष्य प्राप्त गरेको भनिएको छ ।

जबकी खनालले भने यसअघि लक्ष्य अनुुसार पार्टी अघि बढ्न नसकेको भन्दै असन्तुष्टि जनाउनुभएको थियो । विद्रोह नगरेको भए यी सब काम नहुने नेपालको तर्क छ । मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि नेकपा एकीकृत समाजवादीभित्र नेता कार्यकर्ताको असन्तुष्टि छ । पार्टी संसदमा राष्ट्रिय दल बन्न नसक्नु, गठबन्धनबाटै पूर्ण सहयोग नमिल्दा पनि उसमै भर पर्नु जस्ता कारणले पार्टीका नेतारकार्यकर्ता एमालेतिरै मोडिएका छन् ।

पार्टी फुटेपछिको दुई वर्ष बित्दासम्म विद्रोहको औचित्य पुष्टि गर्न किन सकिएन भन्दै आलोचना भइरहँदा नेपालले जर्बजस्ती एमाले र एकीकृत समाजवादीबीचको भिन्नता देखाउँदै यसलाई पुष्टि गर्न खोज्नुभएको छ । तर, आफ्नै प्रतिवेदनमा विरोधाभाष देखिन्छ । पार्टीको मार्गदर्शक ​मार्क्सवाद–लेनिनवाद भएको तर जनताको बहुदलीय जनवादको मार्गदर्शक नभएर सान्दर्भिकता मात्र भएको नेपालले उल्लेख गर्नुभएको छ । उहाँले एमालेले ​मार्क्सवाद–लेलिनवाद छाडेको र जबजालाई मात्र मार्गदर्शक मान्ने गरेको तर्क गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *