बिशेष

कांग्रेस र एमालेले भाउ नदिएपछि साना दललाई विश्वासमा लिने प्रचण्ड रणनीति

हिमालय टिभी
२०८१ माघ २६ गते १८:२८
कांग्रेस र एमालेले भाउ नदिएपछि साना दललाई विश्वासमा लिने प्रचण्ड रणनीति

काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले हर तरहबाट विपक्षी दलहरुलाई आफ्नो छतमुनि ल्याउने प्रयासमा हुनुहुन्छ ।

सरकारविरुद्ध विपक्षीहरुलाई एक बनाउन र आफ्नो पक्षमा उभ्याउन उहाँले विपक्षी साना दलप्रति निकै सहानुभूति देखाइरहनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा झण्डै एक घण्टा खर्चिँदा प्रचण्डले ठूलो समय साना दलप्रतिको सहानुभूतिमा खर्चिनुभयो । तर के साना दल प्रचण्डको सहानुभूतिमा सन्तुष्ट छन् ?

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले सरकारविरुद्ध मोर्चाबन्दी गर्न विपक्षी दललाई कुनै पनि बहानामा एक ठाउँमा ल्याउने प्रयासमा हुनुहुन्छ । गत असारमा कांग्रेस–एमाले गठबन्धन बनेर आफू सत्ताबाट बाहिरिनासाथ समाजवादी मोर्चा सम्झिनु भएका प्रचण्ड यो बीचमा मोर्चालाई बलियो बनाउन र सरकारविरुद्ध एक ठाउँमा उभ्याउन लागि पर्नुभयो । पटक-पटक मोर्चाका बैठकहरु बसाल्नुभयो ।

गत वर्ष नै गठन भएको मोर्चामा आफ्नो पार्टी नेकपा माओवादी केन्द्रसहित, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा नेपाल र विप्लव नेतृत्वको नेकपा थिए । तर तत्कालीन सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू मिलेर जसपा नेपाल फुटाइदिएपछि अहिले उपेन्द्र यादवको नेतृत्वमा जोगिएको जसपा मोर्चाबाट बाहिरियो । अहिले मोर्चामा एक सिट भएको नेपाल समाजवादी पार्टी नेसपा मिसिँदा मोर्चाको संसदीय सिट पुगेको छ, जम्मा ४३ मात्र ।

४३ सिटले सरकारलाई धक्का दिन नसक्ने भएपछि माघको पहिलो हप्ता प्रचण्डले सबैजसो विपक्षी दलहरुलाई समेटेर विपक्षी मोर्चासमेत बनाउनुभयो । यो मोर्चामा रास्वपादेखि राप्रपासम्म आबद्ध त छन् तर मुद्दा कसैको कसैसँग पनि मिल्दैन । बिहीबार प्रचण्डले संसद बैठकमा आफ्नो लामो अभिव्यक्तिमार्फत् साना दलहरुप्रति गहिरो सहानुभूति प्रकट गर्नुभयो । उहाँको सहानुभूति २१ सिटको रास्वपाप्रति अलि बढी नै थियो ।

संविधान संशोधनको विषय निकालेर प्रचण्डले अरु साना दलहरुलाई पनि सहानुभूति दिने प्रयास गर्नुभयो । तर प्रचण्डको यो एकोहोरो सहानुभूतिमा उहाँको छातामुनि रहेका दलहरु नै खास सन्तुष्ट हुन सकेका छैनन् । उहाँले पटकपटक नाम लिएको रास्वपासमेत प्रचण्डको अभिव्यक्तिमा त्यतिधेरै सन्तुष्ट सुनिन्न । प्रचण्डको अभिव्यक्तिमा आफू सत्ताच्युत हुनुकै पीडा छचल्किएपछि यसले साना दललाई खास छहारी दिन सकेन ।

माओवादीलाई भने प्रचण्डको अभिव्यक्तिले सबै विपक्षीलाई एक ठाउँमा ल्याउन मद्दत गर्ला कि भन्ने आश छ । सहानुभूति दिनु आफैमा नराम्रो कुरा त अवश्य होइन । तर यस्तो सहानुभूति विपक्षीमा पुग्दा मात्रै किन व्यक्त हुन्छन् यो भने रहस्यमय छ ।

आफू सत्तामा हुँदा जसपा फुटाएर आफ्नो सत्ता बलियो बनाउन लागि पर्नुभएका प्रचण्ड त्यसअघि कांग्रेससँगको सहकार्यमा रहँदा रास्वपालाई कुन नजरले हेर्नुहुन्थ्यो ? राप्रपा वा अरु कुनै दलप्रतिको उहाँको दृष्टिकोण के थियो ? यी विषय विस्मृतिमा गइसकेका छैनन् ।

जे होस्, सरकारमा रहने दलहरुले जुन रबैया प्रस्तुत गर्ने गरेका छन् प्रकारान्तरले विपक्षमा पुगेकाहरुले त्यसको आलोचना गर्नु र फेरि सत्तामा पुगेपछि रबैया देखाउनु संस्कृति नै बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *