राजनीति

एमाले अधिवेशन सौराहाको पुनरावृत्ति (भिडियो रिपोर्टसहित)

२०८० असोज १२ गते २०:२०
एमाले अधिवेशन सौराहाको पुनरावृत्ति (भिडियो रिपोर्टसहित)

१२ असोज २०८० काठमाडौं । नेकपा एमालेले वर्ष २०८० लाई अधिवेशन वर्षको भनेको छ । त्यसैलाई साकार पार्न एमाले धमाधम प्रदेश अधिवेशनमा छ ।

प्रत्येक प्रदेशमा अधिवेशनका लागि दुई दिन छुट्याइएको छ । तर, शीर्ष तहबाटै सहमतीय नेतृत्वको रटान लगाईंदा अधिवेशनका लागि निर्धारित भन्दा दोब्बर समय लागिरहेको छ । हुन न त एमालेले तीन दिने दशौं महाधिवेशनका लागि पाँच दिन लगाएको थियो । जारी प्रदेश अधिवेशनमा पनि दशौं महाधिवेशनकै नियति दोहोरिएको छ ।

नेकपा एमालेले साउन २९ गते बसेको सचिवालय बैठकले सातै प्रदेशको अधिवेशनको मिति तय गर्‍यो । जसअनुसार भदौ १६ र १७ मा लुम्बिनी, असोज ५ र ६ गते मधेश, ८ र ९ गते बागमती, १० र ११ गते कर्णाली, १२ र १३ गते कोशी, १५ र १६ गते गण्डकी, १९ र २० गते उपत्यका विशेष प्रदेश र २१ र २२ गते सुदूरपश्चिमको प्रदेश अधिवेशन गर्ने भयो ।

मधेश प्रदेश अधिवेशन भने असोज २४ र २५ गते गर्ने गरि सारियो । यी मध्ये लुम्बिनी प्रदेशको अधिवेशन सकिएको छ भने बागमती, कर्णाली र कोशीको अधिवेशन जारी छ । प्रत्येक प्रदेशमा दुई दिनमा सक्ने भनेको अधिवेशनका लागि एमालेले दोब्बर समय लगाएको छ ।

लुम्बिनीमा भदौ १७ मा सकिनुपर्ने अधिवेशन १९ गतेसम्म पुग्यो । बागमतीमा पनि ९ गते नै सकिनुपर्ने अधिवेशन तीन दिन ढिला अर्थात् १२ गतेसम्म जारी छ । कर्णालीमा पनि जारी नै छ । यसरी तोकिएको समय भन्दा बढी समय लगाएपछि नेता कार्यकर्ता बेखुस छन् ।

अधिवेशनमा तोकिएको भन्दा बढी समय लाग्नुको मुख्य कारण ‘सहमतिको रटान’ हो । पार्टीको उपल्लो कमिटि र अध्यक्ष केपी शर्मा ओलीले सहमतिका नाममा नेता व्यवस्थापन गराउन खोज्दा प्रदेश अधिवेशन तोकिएको समयमा सम्पन्न हुन सकेका छैनन् । अझै सहमतिकै लागि भनेर दोब्बर समय लगाउँदा पनि नेतृत्व चयन मतदानबाटै हुँदा यसको औचित्य पुष्टि भएको छैन ।

त्यसैले एमालेको प्रदेश अधिवेशनमा चितवनको सौराहामा भएको दशौं महाधिवेशनकै नियति दोहोरीएको छ । अझ अध्यक्ष केपी शर्मा ओली र उहाँपछिका भावि नेतृत्वकर्ता भनिएकाहरुले आफ्नालाई च्याप्ने र कार्यकर्ताबीच लोकप्रिय रहेका नेतालाई पाखा लगाउन गरिएका दौडधुप अधिवेशनमा छरपष्ट भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *