राजनीति

कोशी प्रदेशको राजनीतिमा सत्ता गठबन्धनको ‘चलाखी’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ३२ गते ७:४२
कोशी प्रदेशको राजनीतिमा सत्ता गठबन्धनको ‘चलाखी’ (भिडियो रिपोर्टसहित)

३२ साउन २०८० मोरङ । साउन १६ यता शान्त रहेको कोशी प्रदेशको राजनीति एकाएक गर्माएको छ । सभामुखलाई राजीनामा गराएर बहुमत सांसदको समर्थन पाएका मुख्यमन्त्री उद्धव थापाले बाबुराम गौतमलाई मन्त्री नै बनाउनुभयो ।

एमालेले पनि अब उपसभामुखलाई राजीनामा गराउनेछ भन्ने श‌म्सय पैदा भइरहँदा एकाएक सरकारले ज्येष्ठ सदस्य गयाननन्द मण्डललाई पनि राज्यमन्त्रीमा नियुक्त गरेको छ । यसले एमालेको रणनीति भन्दा अघि नै सत्ता गठबन्धनले नयाँ पासा फालेपनि विश्वासको मत पाउने वातावरण भने झन् झिनो हुँदै गएको छ । एमाले र सत्ता गठबन्धनका कारण अन्ततः ढिलो भएपनि कोशी मध्यावधिमा जाने भएको छ ।

भदौ १ गते कोशी प्रदेशसभा बैठक बस्दै छ । सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मन्त्री बनाएसँगै अबको बैठक एमालेबाट निर्वाचित उपसभामुख सृजना दनुवारले गर्नुहुनेछ । सभामुखले राजीनामा दिँदा उपसभामुखलाई तत्काल राजीनामा नगराउने भनेको एमालेलाई ज्येष्ठ सदस्य काँग्रेस सभाषद् गयानन्द मण्डललाई राज्यमन्त्री बनाएर सत्ता गठबन्धनले उक्साएको छ ।

सभामुखलाई राजीनामा गराएपछि एमालेले उपसभामुखलाई पनि राजीनामा गराउँछ भन्ने आशंका भइरहँदा त्यो भन्दा एक कदम अगाडि बढेर सत्ता गठबन्धनले ज्येष्ठ सदस्यलाई मन्त्री बनायो । खासमा कोशीमा अहिले गठबन्धनको सत्ता गिराउने नै एमालेको उद्देश्य हो । विश्वासको मत लिन नदिनका लागि एमालेले उपसभामुखलाई राजीनामा गराउनैपर्छ ।

राजीनामा गराएपछि सभामुख र उपसभामुखविहीन बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नुहुनेछ र, प्रदेशसभाको सबैभन्दा पाका व्यक्ति मण्डल हुनुहुन्थ्यो । त्यसैले त्यो अवस्था आउनुअघि नै गठबन्धनले उहाँलाई राज्यमन्त्री बनायो । राज्यमन्त्री भएपछि मण्डलले बैठकको अध्यक्षता गर्न मिल्दैन ।

अब के हुन्छ ?
उपसभामुखले राजीनामा दिएको खण्डमा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्छ । तर, मण्डल राज्यमन्त्री बनेपछि अब त्यसपछिको क्रमसंख्यामा रहेका ज्येष्ठ सदस्यले बैठक चलाउनेछन् । क्रमसंख्यामा मण्डलपछि एमाले र राप्रपाका सांसद ज्येष्ठ सदस्य छन् ।

१. रोहितबहादुर कार्की नेकपा एमाले
उमेर ७१
२. अम्बरबहादुर विष्ट राप्रपा
उमेर ६८
३. मालती कुमारी लिम्बू नेकपा एमाले
उमेर ६७
४. रामप्रसाद महतो नेकपा एमाले
उमेर ६७
५. तारादेवी ढकाल नेकपा एमाले
उमेर ६६
६. खड्गबहादुुर बस्नेत नेकपा एमाले
उमेर ६७
७. किशोर चन्द दुलाल नेकपा एमाले
उमेर ६५
८. गोपालबहादुर विश्वकर्मा राप्रपा
उमेर ६५
९. उद्धव थापा मुख्यमन्त्री
उमेर ६४
१०. ज्ञानेन्द्र सुवेदी
उमेर ६४
११. अमृत अर्याल
उमेर ६३

अहिले खास खेल ४७ को हो । मुख्यमन्त्री थापाका लागि बहुमत पुर्याउन ४७ मत चाहिन्छ। एक मत मात्रै कम भएपनि उहाँ मुख्यमन्त्रीमा रहनुहुन्न । यदी विश्वासको मत लिने दिनसम्म उपसभामुखले राजीनामा दिएमा वा बिदा बसेमा बैठक यी १० जना मध्ये क्रम संख्या अनुसार जेष्ठ एकले चलाउनुपर्नेछ ।

यसमा मुख्यमन्त्री थापाको नाम पनि समावेश भएकाले बाँकी ९ जनाले चलाउनुपर्ने अवस्था छ । तर, सत्ता गठबन्धनकै रणनीतिमा जाँदा एमाले र राप्रपा बैठकमा अनुपस्थित हुन सक्छन् । यदि त्यसो भएमा कांग्रेसका अमृत अर्यालले बैठकको अध्यक्षता गर्नुपर्नेछ । यदि अर्यालले बैठकको अध्यक्षता गरेमा सत्ता गठबन्धनले विश्वासको मत पाउन सक्दैनन् । तर मुख्यमन्त्री भने विश्वासको मत आफैले पाउने दावी गरिरहनुभएको छ ।

अध्यक्षता गरेका व्यक्तिले पक्ष र विपक्षमा बराबर हुँदा मात्रै मत दिन पाउने छन् । गठबन्धनले बहुमत पुर्‍याउन नसक्दा संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्नेछ । तर, त्यसरी बनेको सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जसको संभावना पनि न्यूनै हुनेछ । विश्वासको मत जुटाउन सकेन भने संविधानको धारा १६८ को ५ अनुसार बहुमत जुटाउने कुनै सदस्य मुख्यमन्त्री हुन सक्छन् । तर, उनले पनि विश्वासको पाउन सकेनन् भने संविधानतः मध्यावधि निर्वाचनमा जानुपर्छ । कोशीको घटनाक्रम त्यतैतिर उन्मुख देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *