राजनीति

एमाले लुम्बिनी अधिवेशन, मतदानमै जाने संकेत (भिडियो रिपोर्टसहित)

२०८० भदौ १७ गते २०:५१
एमाले लुम्बिनी अधिवेशन, मतदानमै जाने संकेत (भिडियो रिपोर्टसहित)

१७ भदौ २०८० रुपन्देही । सहमतिमै नेतृत्व चयन गरी प्रदेश अधिवेशन सम्पन्न गर्ने तयारी गरेको नेकपा एमाले प्रदेशको पहिलो अधिवेशनमै असफल हुने देखिएको छ । प्रदेश कमिटीको नेतृत्व चयनका लागि भएको लुम्बिनी प्रदेश अधिवेशनले सहमतिको नेतृत्व नपाउने भएको हो ।

पार्टी केन्द्रले सहमतिका लागि नेताहरुलाई दबाब दिए पनि अध्यक्षका प्रत्याशीको अडान र प्रतिनिधिहरुको रुचिका कारण लुम्बिनीको नेतृत्व निर्वाचनबाटै चयन हुने संकेत देखिएको छ ।

शनिबार सुरु भएको नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा सहमतिबाटै नेतृत्व चयनका लागि हरसम्भव प्रयास भइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेतालाई सहमति गराउन दबाब दिनुभएको छ । तर उपाध्यक्ष पौडेल र महासचिव पोखरेलकै गुटबाट अध्यक्षका आकांक्षी बनेका क्रमशः पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल कुनै पनि हालतमा पछि हट्न तयार भएका छैनन् ।

यी दुवै आकांक्षीलाई उपाध्यक्ष पौडेल र महासचिव पोखरेल गुट निकटका तलैसम्मका नेताहरुले उचालिरहेका छन् । यो सँगै प्रदेश अधिवेशनका प्रतिनिधिसमेत केन्द्रको दबाबमा सहमतिको नाम दिनुभन्दा लोकतान्त्रिक प्रणालीबाटै नेतृत्व चयन गर्नुपर्ने मनस्थितिमा देखिएका छन् ।

शनिबार प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएसँगै नेताहरुले आफ्नो कुनै गुट नभएको र पार्टीभित्रसमेत कुनै पनि प्रकारको गुट नभएको जिकिर गरेका थिए । तर २ सय ५ सदस्यीय प्रदेश कमिटीका विभिन्न पदमा आकांक्ष राखेकाहरु सहमतिको नाममा पछि हट्न तयार देखिँदैनन् ।

बरु उल्टै नेतृत्वले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र प्रतिष्पर्धात्मक सोचमाथि थिचोमिचो गर्न खोजेको बुझाइमा छन् । जसका कारण पनि एमालेले सुरु गरेको प्रदेशको पहिलो अधिवेशन नै प्रतिस्पर्धाका आधारमा नयाँ नेतृत्व चयन बाध्य हुने देखिएको हो । यसअघि तदर्थका कमिटीका रुपमा रहेको प्रदेश कमिटी ५ सय ७६ सदस्यीय थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *