राजनीति

संसद्को गतिरोध हटाउने विषयमा सत्ता-प्रतिपक्षी जुहारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ २ गते २०:४५
संसद्को गतिरोध हटाउने विषयमा सत्ता-प्रतिपक्षी जुहारी (भिडियो रिपोर्टसहित)

२ भदौ २०८० काठमाडौं । साउन १० यता अवरुद्ध संघीय संसद खुलाउन न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्थक पहल गर्नुभएको छ न सभामुख देवराज घिमिरेले नै । तर प्रधानमन्त्री प्रचण्डले आइतबार बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध नहुने दाबी गरिरहँदा प्रमुख प्रतिपक्षी एमालेले भने सरकार र गठबन्धनका कारण अवरुद्ध सदन आफुहरुले चाहेर नखुल्ने दाबी गरेको छ ।

सुन तस्करी प्रकरणको छानबिनलाई लिएर साउन १० यता सदन अवरुद्ध छ । उच्चस्तरीय छानबिनको माग दाबी गर्दै आएको एमाले अडानमा यथावत रहँदा सरकार भने राजश्व अनुसन्धान विभागबाट माथि उठ्न चाहँदैन । सीआईबीमार्फत् संगठित अपराधको छानबिन गरिरहेको सरकारले सुन तस्करीमा भने राजश्व अनुसन्धान विभागलाई नै फोकस गराइरहेको छ ।

यस्तोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारबाट संसदको अवरोध हट्ने दाबी गर्नुभएको छ । गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको भन्दै संसद अवरोध हट्ने उहाँले दाबी गरिरहे पनि त्यसको आधार भने देखिएको छैन । तर प्रधानमन्त्री प्रचण्ड सदन खुल्नेमा आशावादी हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डले संसद अवरोध खुलाउनका लागि आफूले सभामुख घिमिरेसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग निरन्तर छलफल गरिरहेको बताए पनि एमाले अडानबाट टसको मस भएको छैन । सचेतक महेशकुमार बर्तौलाले संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन भएकाले त्यतिकै अवरोध नहट्ने बताउनुहुन्छ । बर्तौलाले जनताबाट चुनिएका सांसदहरुले संसदमा आफ्ना माग राख्दा प्रतिपक्षले संसद अवरोध ग‍र्‍यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको आरोप समेत लगाउनुभयो ।

त्यसो त अवरुद्ध सदन खोल्न पहल नगरेको आरोप सभामुख घिमिरेलाई पनि लागेको छ । उहाँ भने आफुले पहल गरिरहे पनि सार्थक हुन नसकेको बताउनुहुन्छ ।

सदन अवरोध हुँदा जनताका सवाल उठ्न पाएका छैनन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि प्रधानमन्त्रीले पहल नगर्दा सदन अवरोध भएको ठान्नुहुन्छ।

सुन तस्करी, ललिता निवास, भुटानी शरणार्थी, गौर हत्याकाण्ड लगायतका प्रकरणमा प्रधानमन्त्रीले सत्ता साझेदार दलका नेतालाई पालैपालो फाइल खोल्छु भनेर धम्काएर सत्ताको आयु लम्बाउने काम गरिरहेको विपक्षीको आरोपबीच संसदको अवरोध खुलिहाल्छ भन्ने बलियो आधार देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *