आर्थिक

बागमती प्रदेशमा ६० प्रतिशत मात्र रोपाइँ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ६ गते १६:१७
बागमती प्रदेशमा ६० प्रतिशत मात्र रोपाइँ (भिडियो रिपोर्टसहित)

६ साउन २०८० काठमाडौं । नेपालमा ४० लाख हेक्टर खेतीयोग्य जमिनमध्ये १३ लाख हेक्टर मात्र धान रोपाइँ हुने गरेको छ । त्यसमा पनि सिँचाइको सुविधा एकतिहाइमा पनि छैन ।

यसबाहेक समयमा रासायनिक मल नपाउने, प्रविधिको पहुँच अभावजस्ता आधारभूत समस्या धानको उत्पादकत्व बढाउन चुनौती बनेका छन् । यो वर्ष बागमती प्रदेशमा ६० प्रतिशत मात्र रोपाइँ भएको छ । यही अनुपातले आगामी वर्ष माग पूर्ति गर्न कठिन हुने देखिन्छ ।

बागमती प्रदेशमा यस वर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको छ । असार अन्तिमसम्ममा प्रदेशका १३ वटा जिल्लामा लगभग आदि किसानले पानी नपरेकाले धान रोप्न पाएनन् ।

वर्षा नभएपछि मकवानपुर, धादिङ, नुवाकोट रामेछापलगायत जिल्लाका किसान धान रोप्न नपाएकाले चिन्तित छन् । समयमा पानी नपर्दा किसानका ब्याडमा बिउ डढेर गएको छ । खोलानाला, कुलो र पैनीमा पानी सुकेकाले खेतका फाँटमा रोपो हरियो हुनेबेलामा खेत बाँझै छन् । हल्का वर्षाका बेला मौका छोपेर रोपेको रोपो सुकेर गएको छ ।

कुन जिल्लामा कति रोपाइँ ?
रामेछाप – ७ हजार ८ सय ५९ मध्ये ३ हजार ४ सय ५८ हेक्टर क्षेत्रफलमा रोपाइँ
दोलखा – २ हजार ८ सय १४ मध्ये १ हजार ७ सय ७३ हेक्टर क्षेत्रफलमा रोपाइँ
काठमाडौँ – ६ हजार १५ मध्ये ५ हजार ४ सय २२ हेक्टर क्षेत्रफलमा रोपाइँ
ललितपुर – ४ हजार २ सय ११ मध्ये ३ हजार ५ सय ४७ हेक्टर क्षेत्रफलमा रोपाइँ
भक्तपुर – ३ हजार ९ सय ७९ मध्ये २ हजार ६ सय १० हेक्टर क्षेतफलमा रोपाइँ
सिन्धुली – ११ हजार ७ सय ७७ मध्ये ६ हजार ८ सय ८९ हेक्टर क्षेत्रफलमा रोपाइँ
काभ्रेपलाञ्चोक – १० हजार १ सय ८ मध्ये ६ हजार ७ सय ७३ हेक्टर क्षेत्रफलमा रोपाइँ
सिन्धुपाल्चोक – ८ हजार ७ सय ८२ मध्ये ४ हजार ९ सय १८ हेक्टर क्षेत्रफलमा रोपाइँ
चितवन – २४ हजार २ सय ४७ मध्ये १९ हजार ३ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाइँ
नुवाकोट – ११ हजार ६ सय १२ मध्ये ६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमा रोपाइँ
रसुवा– १हजार ९३ मध्ये ६ सय ७७ हेक्टर क्षेत्रफलमा रोपाइँ
धादिङ – ११ हजार ५ सय ७६ मध्ये ४ हजार ५१ हेक्टर क्षेत्रफलमा रोपाइँ

कतिपय पहाडी भेगमा अकासे पानी र मुलको पानीले नै खेती गर्नुपर्ने बाध्यता छ । तर, पानी नपर्दा किसानले धान रोप्न नपाएको कृषि विकास निर्देशनालयले जनाएको छ । हरेक वर्ष कृषिमा सबैभन्दा बढी बजेट बिनियोजन गरेपनि किसानले बेलैमा मल र सिँचाइ सुविधा पाउन सकेका छैनन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा झन्डै ५५ लाख टन धान उत्पादन हुन गरेको छ । त्यसमध्ये बागमती प्रदेशले ५ लाख ९ हजार मेट्रिक टन धान उत्पादनमा भूमिका खेल्छ ।र तर पछिल्लो समय यो मात्रा घट्दै गइरहेको छ ।

एकातर्फ भारतले चामलमा प्रतिबन्ध लगाउनु, अर्कोतर्फ नेपालमा धान रोपाइँ कम र उत्पादनमा गिरावट आउनुले आगामी दिनमा अझ बढी भारतकै भर पर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *