स्टण्टबाजीमा रमाउँदै मन्त्री किराती (भिडियो रिपोर्टसहित)

२० असार २०८० काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती हिजो–आज स्टण्डबाजीमै रमाउने गर्नुभएको छ ।
उहाँले मन्त्री बनेको ६ महिनामा कामभन्दा कुरामै आफूलाई केन्द्रित गर्नुभएको छ । सामाजिक सञ्जालमा वाहवाही कमाउन व्यस्त किरातीले मुलुकका लागि फाइदा हुने एउटै काम पनि गर्न सक्नुभएको छैन ।
नाम होस् या बदनाम होस् तर गुमनाम नहोस् । यो नेपाली भनाइसँग ठ्याक्कै मेल खान्छ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग । ‘स्टण्ड’ गर्न माहिर किराती आफ्नै गतिविधिले बद्नाम हुनुहुन्छ ।
४३ वर्षकै उमेरमा मन्त्री बनेका किराती हिजो–आज स्टण्टमै रमाउन थाल्नुभएको छ । मन्त्री किरातीसँगको आशा निराशामा परिणत हुन थालेको मात्रै छैन, नागरिकबाट चर्को आलोचना समेत हुन थालेको छ। सुरुमा काम गर्ने उत्साह देखिए पनि पछिल्लो समय काम भन्दा किरातीको बढी गुनासो र प्रचार मात्रै सुनिन्छ ।
प्रसंग– १
मन्त्री भएलगतै बधाई दिन आउनेलाई खादा र माला नल्याउनु बरु त्यस वापतको रकम दान पेटिकामा राख्न आग्रह गरेका किरातीले सो रकम दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उद्घोष गर्नुभयो । अझ उहाँले आफूले पाउने १ महिनाको तलब र सचिवालयकोतर्फबाट १५ दिनको सुविधा दिन लगाउने पनि भन्नुभयो । तर, कहाँ पुग्यो मन्त्री किरातीको यो योजना रु
प्रसंग– २
मन्त्री किराती र नागरिक उड्डयन प्राधिकरणबीचको द्वन्द्व ।
किरातीले प्राधिकरण नेतृत्वलाई तीन पटक स्पष्टीकरण सोध्नुभयो । त्यो पनि सामाजिक सञ्जालमा सार्वजनिक नै गर्नुभयो । सुरुमा कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ५ बुँदे स्पष्टीकरण सोध्नुभएका उहाँले पछि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई फेसबुकमार्फत ९ बुँदे स्पष्टीकरण सोध्नुभयो । प्राधिकरणको महानिर्देशकलाई मन्त्रिपरिषद्ले मात्रै हटाउन सक्छ ।
प्रसंग– ३
गैरसैनिक हवाई उडान सिभिल एभिएशन ऐन, २०१५ र गैर सैनिक हवाई उडान सिभिल एभिएशन नियमावली २०५२ अनुसार निजी क्षेत्रलाई हेलीपोर्ट संचालन गर्न दिन नमिल्ने प्रावधान छ । तर मन्त्री किरातीले जेठ २६ गते सिम्रिक एयरलाई काभ्रेको बनेपास्थित राउत गाउँको माथिल्लो भागमा रहेको इटापु डाँडामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेलीपोर्ट निर्माण गर्न मन्त्रीस्तरीय निर्णयबाट बाटो खुला गरिदिनुभयो ।
प्रसंग–४
पर्यटनमन्त्री किरातीले ३ महिनामा नेपाल वायुसेवा निगमले ४ अर्ब नाफा कमायो भन्दै प्रचार गर्न समेत छोड्नुभएन । तर महालेखा परीक्षकको रिर्पोट अनुसार नेपाल वायुसेवा निगमको घाटा १ अर्ब ७० करोड रहेको र ऋण ५० अर्ब नाघिसकेको छ । किरातीको यो झुट सुनौं ।
यतिमात्र होइन, मन्त्री किरातीले गौशाला धर्मशालामा मारवाडी सेवा समितिले गरेको कब्जा हटाउने प्रचार गर्नुभयो । तर, कुनै कारवाही प्रक्रिया नै अघि बढाउनुभएन । त्यसबाहेक पशुपति विकास कोषको गायब भएको ३१ रोपनी जग्गा खोजीको प्रयास नगरी पशुपतिको जग्गा हालसाबिक गरिदिनुभयो।
यी सबै घटनाक्रम हेर्दा प्रष्ट हुन्छ मन्त्री किराती काम भन्दा पनि फन्डा गर्न बढी रुचाउनुहुन्छ । उहाँलेमन्त्रालयको जिम्मेवारी पूरा गरेको ६ महिना बितिसक्दा पनि पर्यटन क्षेत्रमा देखिने कुनै काम गर्न गर्नसक्नुभएको छैन ।
प्रतिक्रिया