Main News

समलैङ्गिक विवाह दर्ताको आदेशपछि पक्ष र विपक्षमा छेडियो बहस (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार १६ गते २०:५५
समलैङ्गिक विवाह दर्ताको आदेशपछि पक्ष र विपक्षमा छेडियो बहस (भिडियो रिपोर्टसहित)

१६ असार २०८० काठमाडौं । सर्वोच्च अदालतले समलैङ्गिक विवाह दर्ताका लागि आदेश दिएपछि यसको पक्ष र विपक्षमा बहस छेडिएको छ ।

केही उच्चपदस्थले सामाजिक सञ्जालमा यसको विपक्षमा मत राखेपछि उनीहरु आलोचनाको तारो बनेका छन् । कतिपयले प्राकृतिक नियमको हवाला दिंदा कतिले प्रकृतिकै उपज भएको तर्क गरेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मङ्गलवार विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न अन्तरिम आदेश जारी गर्यो । लगत्तै केही उच्चपदस्थ नेताहरुले त्यसको विपक्षमा मत राखे ।

केही उदाहरण हेरौं
पूर्वउपप्रधानमन्त्री कमल थापाले सर्वोच्च अदालतको फैसला त्रुटीपूर्ण रहेको भन्दै यसले प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरित रहेको ट्वीट गरे । थापाको ट्वीटमा भनिएको छ–‘विवाह महिला र पुरुषबीचको पवित्र सम्बन्ध हो । समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्छ ।’

थापाको यस्तो ट्वीटमा आलोचनात्मक टिप्पणी नै धेरै छन् । उसो त उनकै पुरानो पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र नै थापाको विपक्षमा उभिएका छन् । मिश्रले समलिङ्गीपनालाई प्रकृतिकै उपज भन्दै प्राकृति नियम, सामाजिक मान्यता र संस्कार विपरित भन्नु गलत रहेको प्रतिक्रिया दिएका छन् ।

थापा र मिश्रका पक्षमा धेरैले विभाजित मत राखेका छन् । समलिङ्गी विवाहलाई लिएर सामाजिक सञ्जालमा देखिएको जस्तै मतभेद समाजमा पनि देख्न सकिन्छ । तर, समलिङ्गी अधिकारका पक्षमा लाग्नेहरु आलोचकले भनेको कुरा मान्न तयार देखिदैन्न ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकको पहिचान सहितको अधिकारमा सर्वोच्च अदालत उदार र सरकार अनुदार देखिएको अभियन्ताहरुको आरोप छ । सर्वोच्चले १५ वर्ष अघि दिएको निर्देशनात्मक आदेश अनुसार कानुन बनाउन आलटाल गरेको सरकारले सर्वोच्चको पछिल्लो आदेशसँगै अब तत्काल विवाह दर्ता गरिदिने प्रबन्ध मिलाउनु पर्ने छ ।

–२०७८ सालमा स्वीट्जरल्याण्डमा समलैङ्गिक विवाहले मान्यता पायो
–२०७५ मा भारतमा समलैङ्गिक अपराधको श्रेणीबाट हटायो
धेरैजसो युरोपेली देशहरुमा पनि समलिङ्गी सम्बन्धलाई वैधानिक मानिन्छ ।

नेपालमा हालैको सर्वोच्चको आदेशले समलैङ्गिक विवाह दर्ताका लागि बाटो खुलेको छ । यसले नेपालमा समलिङ्गी सम्बन्ध विकृतिका रुपमा अघि बढ्छ वा पश्चिमा समाजमा जस्तै समाजले सहजै ग्रहण गर्ने अवस्था बन्छ ? त्यसका लागि भने केही समय कुर्नैपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *