आर्थिक

धान : उत्पादन ओरालोतिर, आयात उकालोतिर (भिडियो रिपोर्टसहित)

२०८० असार १५ गते २०:१७
धान : उत्पादन ओरालोतिर, आयात उकालोतिर (भिडियो रिपोर्टसहित)

१५ असार २०८० काठमाडौं । नेपालमा कृषि उपजप्रतिको परनिर्भरता बढ्दै गइरहेको छ। धान चामल आयातको ग्राफ बर्सेनि उकालो लागिरहेको छ ।

स्वदेशमै वार्षिक ५० लाख मेट्रिक टनभन्दा बढी धान फल्दा पनि ३० अर्ब रुपैयाँ भन्दा बढीको धानचामल आयात हुने गरेको छ। पछिल्लो ६ वर्षमा मात्रै पौने ३ खर्बको धान चामल आयात भएको छ ।

नेपालमा १४ लाख ७७ हजार हेक्टर जमिनमा धान खेती हुन्छ । जुन खेतीयोग्य जमिनको ४७ प्रतिशत हो । जसबाट बार्षिक ५० लाख मेट्रिकटन भन्दा बढी धान उत्पादन हुन्छ ।

गत वर्ष ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । नेपालको कुल चामलको माग ७२ लाख टन हो । ३० वर्षअघिसम्म निर्यात गर्ने मुलुक अहिले बार्षिक ३० अर्ब रुपैयाँभन्दा बढीको धानचामल आयात गर्नुपर्ने अवस्थामा पुगेको छ ।

पछिल्लो ६ आर्थिक वर्षमा मात्रै नेपालले २ खर्ब ६८ अर्ब रुपैयाँभन्दा बढीको धान चालम आयात गरेको छ ।

कुन वर्ष कति रकम धान चामलका लागि विदेशियो ?
आर्थिक वर्ष २०७४–०७५ मा २९ अर्ब ५३ करोड रुपैयाँ
आर्थिक वर्ष २०७५–०७६ मा ३२ अर्ब ५९ करोड रुपैयाँ
आर्थिक वर्ष २०७६–०७७ मा ३३ अर्ब ६५ करोड रुपैयाँ
आर्थिक वर्ष २०७७–०७८ मा ५० अर्ब ७९ करोड रुपैयाँ
आर्थिक वर्ष २०७८–०७९ मा ४७ अर्ब ५७ करोड रुपैयाँ
आर्थिक वर्ष २०७९–०८० मा ४४ अर्ब ४३ करोड रुपैयाँ

यो ६ वर्षको अवधीमा धान उत्पादन भने ५० लाख मेट्रिक टनभन्दा कम कुनै वर्ष कम भएको छैन ।

धान उत्पादन
आर्थिक वर्ष २०७४–०७५ मा ५१ लाख ५२ हजार मेट्रिक टन
आर्थिक वर्ष २०७५–०७६ मा ५६ लाख १० हजार मेट्रिक टन
आर्थिक वर्ष २०७६–०७७ मा ५५ लाख ५१ हजार मेट्रिक टन
आर्थिक वर्ष २०७७–०७८ मा ५६ लाख २२ हजार मेट्रिक टन
आर्थिक वर्ष २०७८–०७९ मा ५१ लाख ३० हजार मेट्रिक टन
आर्थिक वर्ष २०७९–०८० मा ५४ लाख ८६ हजार मेट्रिक टन

कृषिलाई उच्च प्राथमिकतामा राखेको दाबी गर्ने सरकारले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन नसक्नु र सिंचाइको उपयुक्त व्यवस्था गर्न नसक्दा उत्पादन बृद्धि हुन नसकेको विज्ञको तर्क छ ।

अर्थतन्त्रको मुख्य हिस्सा मानिएको कृषिको योगदान बार्षिक रुपमा खुम्चिँदै गएको छ । अहिले जिडिपीमा कृषिको योगदान २३ प्रतिशतमा सीमित भएको छ जसमा सबैभन्दा धेरै करिब २० प्रतिशत योगदान धानको छ । धान उत्पादनमा हुने घटबढले मुलुकको बार्षिक जिडिपीको लक्ष्यलाई नै प्रभाव पार्ने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *