Main News

अदालतबारे काठमाडौंका मेयर बालेनको द्वैधवृत्ति (भिडियो रिपोर्टसहित)

२०८० असार ८ गते २१:२१
अदालतबारे काठमाडौंका मेयर बालेनको द्वैधवृत्ति (भिडियो रिपोर्टसहित)

८ असार २०८० काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले अदालत र कानून कार्यान्वयनमा दोहोरो चरित्र देखाउनु भएको छ ।

आफूमाथि पर्ने अवस्थामा रिट लिएर अदालत पुग्ने र फैसलाको स्वागत गर्ने शाह आफू तल पर्ने अवस्थामा भने न्यायाधीशलाई दलाल र गुलामको आरोप लगाउनसमेत पछि पर्नु भएन । बालेनको दोहोरो नीतिले कतै न्यायालयमाथिको विश्वास टुट्ने र न्यायिक अराजकताले प्रश्रय पाउने पो हो की भन्ने चिन्ता थपिएको छ ।

नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण खारेजको माग गर्दै काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह उच्च अदालत पाटन पुग्नुभयो । असार ७ गते उच्च अदालत पाटनले शाहसँग तत्काल स्पष्टीकरण नसोध्न नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा आदेश जारी गर्यो । उक्त फैसलाको शाहले स्वागत गर्नुभयो ।

निर्वाचन खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका अधिकांश उम्मेदवारलाई जरिवाना गर्ने निर्णयविरुट शाह २०७९ पुष १९ गते सर्वोच्च अदालत पुग्नुभयो । २०७९ फागुन ४ गते अदालतले काठमाडौँ शाहको रिटमा फैसला गर्दै जनप्रतिनिधिसँग माग गरेको जरिवाना कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेपछि बालेनले आदेशको स्वागत गर्नुभयो ।

असार ७ गते उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले हिन्दी फिल्म रोक्ने काठमाडौं महानगर प्रमुख शाहको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गर्यो । त्यसपछि साहले सामाजिक सञ्जालमा अदालतविरुद्ध आक्रोश पोख्नुभयो । उहाँले भारतको गुलाम बनेर अदालतले आदेश दिएको र त्यो निर्णय नमान्ने उद्घोष गर्नुभयो ।

आफु अनुकुलका आदेशको स्वागत र प्रतिकुलका आदेशको चर्को विरोध गर्ने शैलीले न्यायालयमाथिको उहाँको दृष्टिकोणमा खोट देखिएको कानुनविद् बताउँछन् ।

अदालतको आदेश र कानुन कार्यान्वयनमा दोहोरो चरित्र देखाएको भन्दै कानुनविद् र अधिवक्ताले शाहको आलोचना गरेका छन् । महानगरको मेयरजस्तो व्यक्तिले न्यायाधीशलाई नै दलाल र परिचालित भएको भाष्य बनाइदिँदा न्यायालयमाथिकै विश्वासमा संकट आउने जानकारहरुको तर्क छ ।

कानुन र संविधानमा बाँधिनुपर्ने व्यक्ति नै न्यायालयको विरुद्धमा सार्वजनिक अभिब्यक्ति दिँदा न्यायिक विचलन आउनसक्ने भएकाले सचेत हुनुपर्ने हो । मेयर शाहमा जुझारुपन देखिए पनि संयमता नअपनाउँदा पटक पटक चुकिरहनुभएको छ । आफूबाहेक संघीय सरकार र अदालतलाई अराष्ट्रवादी करार गर्ने प्रयत्न कतै उहाँकै लागि घातक पो हुने हो कि ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *