राजनीति

कुन दलको समाजवाद कस्तो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार ७ गते ७:५१
कुन दलको समाजवाद कस्तो ? (भिडियो रिपोर्टसहित)

७ असार २०८० काठमाडौं । नेपालको संविधानमै समाजवादउन्मूख शब्द उल्लेख छ । तर, समाजवादको व्यवहारिक व्याख्या पाइँदैन । कतिपय दलहरुले त आफ्ना नाममा समाजवादको फुर्को नै झुण्ड्याउने गरेका छन् । दलहरुले समाजवादलाई आफ्नै तरिकाले व्याख्या गर्दै आएका छन् । नेपालका प्रमुख दलको समाजवाद कस्तो हो त ?

२०७२ असोज ३ गते जारी संविधानको प्रस्तावनामै नेपाललाई समाजवाद उन्मुख भनिएको छ । तर, संविधानमा उल्लेखित समाजवादबारे व्यावहारिक व्याख्या कतै पाइदैन । बरु दलहरुका आ-आफ्नै बुझाइ रहेको छ ।

समाजवादबारे दलका दस्तावेजमा के छ ?
नेपाली कांग्रेसको मूल आदर्श नै राष्ट्रियता, लोकतन्त्र र समाजवाद हो । तर, उसको समाजवाद भनेको लोकतान्त्रिक समाजवाद हो ।

कांग्रेस संस्थापक नेता वीपी कोइरालाले समाजवादको व्याख्या गरेको पाइन्छ, जसलाई कांग्रेसले लोकतान्त्रिक समाजवाद भन्ने गरेको छ । जुन कम्युनिष्टले भन्ने गरेको समाजवाद भन्दा विल्कुल भिन्न छ । वीपीले व्याख्या गरेको समाजवादमा स्वतन्त्रता, समानता, न्याय र बन्धुत्वको सिद्धान्त अपनाइएको छ ।

कांग्रेसभन्दा कम्युनिष्टहरुले मानेको समाजवाद फरक छ । माक्सवादी दृष्टिकोणबाट प्रेरित कम्युनिष्ट पार्टीका समाजवादले वर्गशत्रु र सर्वहारा वर्गको अधिनायकवादको सिद्धान्तलाई मानेको छ । यसमा समानता, न्याय र बन्धुत्व गौण हुन जान्छ । उसो त कम्युनिष्टले आफुलाई सच्चा समाजवादी दाबा गर्ने गर्छन् ।

उनीहरु समाजवादको बाटो हुँदै साम्यवाद गन्तव्य मान्छन् । नेपालका कम्युनिष्टहरुमै समाजवादबारे भिन्न भिन्न विचार छ । दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी एकता भई नेकपा बन्दा उनीहरुले घोषणापत्रमा नेकपा घोषणा हुँदा समाजवाद उन्मुख जनताको जनवाद भनेका थिए ।

माओवादी केन्द्र
करिब १० वर्ष अघि हेटौंडामा सम्पन्न महाधिवेशनबाट माओवादीले समाजवादी कार्यदिशा पारित गर्यो । २०७८ पुसमा काठमाडौंमा सम्पन्न महाधिवेशनले अध्यक्ष प्रचण्डले पेश गरेको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पास गर्‍यो ।

माओवादीले समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत समाजवाद उन्मुख समृद्धिको कार्यनीति अगाडि सारेको छ । जसमा स्थानीय तहदेखि केन्द्रीय तहसम्म उत्पादन वृद्धि गर्ने, समुदायको हकअधिकार स्थापित गर्ने, प्राकृतिक स्रोतसाधनमाथि स्थानीय जनताको अधिकार स्थापित गर्ने, व्यापक सामुदायिक मोर्चा बनाएर उत्पादन वृद्धि गर्ने र जनताको समृद्धिको चाहना सम्बोधन गर्ने विषय पर्छन् ।

एमाले
एमालेको २०७८ मा सम्पन्न प्रथम विधान महाधिवेशनमा समाजवादको बारेमा चर्चा गरेको छ । संविधानले राज्यको चरित्र समाजवाद उन्मूख रहेको उल्लेख गरेको भनदै प्रतिवेदनमा समाजवाद उन्मुख भन्नु र समाजवादी भन्नु गुणात्मक फरक रहेको निष्कर्ष निकाल्दै एमालेले समाजवादी नभइ समाजवादको आधार तयार गर्ने कार्यक्रम अघि सार्ने नीति लिएको छ ।

एकीकृत समाजवादी
यो पार्टीले आफ्नो उद्देश्य वैज्ञानिक समाजवाद राखेको छ । सामाजिक–आर्थिक–सांस्कृतिक रुपान्तरणमार्फत नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुने यसको लक्ष्य छ ।

नाममै समाजवादी राखेको यो पार्टीले घोषणापत्रमा लेखेको छ, ‘नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्नेछ ।’

उसो त सोमबार समाजवाद ल्याउन भन्दै सोमबार समाजवादी मोर्चा नै बन्यो । तर, त्यो मोर्चा समाजवाद ल्याउनका लागि नबनेको जानकारको टिप्पणी छ ।

नेपालमा समाजवाद यस्तो शब्द बनेको छ जसलाई पूँजीवादी देखि जडसूत्रीय कम्युनिष्टसम्मले आआफ्नो अनुकूलतामा व्याख्या गर्दै आएका छन् । आफूले भनेको समाजवाद के हो र त्यो कसरी आउँछ ? भन्ने विषय भाषण र दस्तावेजमा उल्लेख भएपनि दलहरु त्यसमा प्रष्ट भने देखिँदैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्