आर्थिक

नश्ल सुधार नहुँदा भैँसी पालनबाट किसानलाई छैन आम्दानी (भिडियो रिपोर्टसहित)

२०८० असार २ गते १४:३३
नश्ल सुधार नहुँदा भैँसी पालनबाट किसानलाई छैन आम्दानी (भिडियो रिपोर्टसहित)

२ असार २०८० बाँके । नेपालमा करिब ५२ लाख भैसी छन् । ती मध्ये करिब ६५ प्रतिशत भैसी स्थानीय जातका छन् । करिब ३५ प्रतिशत मात्रै उन्नत जातका छन् ।

उन्नत जातको भैसीको तुलनामा स्थानीय जातका भैसीले झन्डै आधा मात्रै दूध दिन्छन् । बाँकेकोे डडुवा गाउपालिकाको कम्दी क्षेत्रका किसानको मुख्य पेशा नै भैसी पालन हो । उनीहरुले ४ देखि १ सय २० वटासम्म भैसी पाल्दै आएका छन् । तर, नश्ल सुधार नहुँदा भैँसी पालनबाट किसानले मिहिनेत अनुसारको आम्दानी भने गर्न सकेका छैनन् ।

बाँकेको डडुवा गाउँपालिकाको कम्दी क्षेत्रका किसान परिवारले पाल्दै आएका भैँसीमध्ये करिब ९० प्रतिशत स्थानीय जातका छन् । तर, भैसी पालन ब्यबसायबाट मिहिनेत अनुसारको आम्दानी भने हुन सकेको छैन । स्थानीय जातका भैँसीले दूध नै कम दिने भएकाले दूध विक्री गरेर आउने आम्दानीको अधिकांश रकम भैँसीकै दाना, घाँस र स्याहारमा खर्च हुने गरेको छ ।

स्थानीय जातका भैसी पाल्दै आएका किसानले उन्नत जातको राँगाबाट कृत्रिम गर्भाधारण गराएर आफ्ना भैसीको नश्ल सुधारको व्यवस्था मिलाई दिन सरकार समक्ष आग्रह गर्दै आएका छन् । उन्नत जातको राँगाबाट कृत्रिम गर्भाधारण गराएपछि जन्मिएका भैँसीले माउको तुलनामा ५० प्रतिशत बढी दूध दिने गर्दछन् ।

दूधको उत्पादकत्व बढाउनका लागि सरकारले स्थानीय जातका भैसीमा उन्नत जातको राँगाबाट कृत्रिम गर्भधारण गराउने कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले बाँकेको खजुरा गाउँपालिकाको गौघाटमा पशु प्रजनन कार्यालय स्थापना गरेको छ ।

प्रजनन कार्यालयले ९ वटा उन्नत जात ( मुर्रा ) का राँगाबाट वीर्य संकलन गर्दै आएको छ । प्रजनन केन्द्रमा एउटा राँगाबाट हप्तामा दुई पटक वीर्य सङ्कलन गरिन्छ । त्यसपछि वीर्यलाई प्रशोधन गरेर लामो समयसम्म मदर कन्टेनरमा राखिन्छ । यसरी गौघाट स्थित राष्ट्रिय पशु प्रजनन कार्यालयबाट लुम्बिनी प्रदेशका बाँके लगायत ६ जिल्ला सहित कर्णाली र सुदुरपश्चिममा भैसीमा कृत्रिम गर्भधारण कार्यक्रममार्फत नश्ल सुधार गरिँदै आएको छ ।

एउटा भैसीलाई उन्नत जातको रागाबाट कृत्रिम गर्भाधारण गराउनका लागि तराइमा करिब ३ सय र पहाडी जिल्लामा ५ सय देखि एक हजारसम्म खर्च लाग्छ । नश्ल सुधारपछि दूधको उत्पादकत्वमा ५० प्रतिशतसम्म वृद्धि भई किसान लाभान्बित हुने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *