Main News

गेटा मेडिकल कलेज : कैलालीवासी आन्दोलित (भिडियो रिपोर्टसहित)

२०८० जेठ २८ गते २०:०६
गेटा मेडिकल कलेज : कैलालीवासी आन्दोलित (भिडियो रिपोर्टसहित)

२८ जेठ २०८० कैलाली । संघीय सरकारले मन्त्रिपरिषदबाट कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गर्‍यो । तर, बजेट भाषणमा भने प्रतिष्ठानका रुपमा अगाडि बढाउँदै तत्काल एक सय बेडको अस्पताल सञ्चालन गरिने घोषणा गरियो । त्यसयता आन्दोलित कैलालीवासीले आइतबार कैलाली बन्द नै गरे ।

कैलालीको गेटामा ५ अर्ब ४५ करोड रुपैयाँ बढी लागतमा ४२ वटा भवन बनाइएका छन् । मेडिकल कलेजका लागि भनेर ती संरचना निर्माण भए पनि कुन मोडलबाट चलाउने भनेर सरकारले टुंगो लगाएको थिएन ।

गत माघ २९ गते मन्त्रिपरिषद् बैठकले ती भवनमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गर्‍यो । सरकारको सो निर्णयको सुदूरपश्चिमका विभिन्न स्थानमा दियो बालेर स्वागत गरिएको थियो । तर, सरकारको निर्णय समेत बजेट बक्तब्यमा उल्टिएको भन्दै अहिले कैलालीबासी आन्दोलनमा उत्रिएका छन् ।

सुदूरपश्चिम नेपालको एकमात्र त्यस्तो प्रदेश हो जहाँ प्रदेशभरि स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेज दुवै छैनन् । यहाँका नागरिक अगुवाहरू जनताको माग र आवश्यकता बेवास्ता गरेर गेटा मेडिकल कलेज सञ्चालनको विषय राजनीतिकरण भएको बताउँछन् । एमालेले आइतबार बसेको प्रदेशसभाको बैठकमा गेटाबारे सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ ।

६ सय शैयाको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित गेटामा अहिले सम्म २९ वटा संरचना तयार भएका छन् भने ३ वटा निर्माणाधीन छन् । निर्माणाधीन अन्य संरचनाको काम आगामी असारमा सम्पन्न हुने पूर्वाधार विकास समितिले जनाएको छ । सरकारले प्रतिष्ठानका रुपमा अघि बढाउने घोषणा गरेर प्रदेशबासीको चाहनामाथि कुठाराघात गरेको उनीहरूको आरोप छ ।

करिब ९० प्रतिशत भौतिक संरचना निर्माणको काम सकिएको मेडिकल कलेजलाई सरकारले बेवास्ता गर्दै डडेल्धुरा अस्पताललाई भने मेडिकल कलेज बनाउन बजेट दिनु नै अहिलेको विरोधको मुख्य कारण हो । गेटालाई विश्वविद्यालय बनाउँदा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाले पनि सहजै गेटामा अध्ययन गर्न सक्ने थिए । तर, मन्त्रिपरिषदको निर्णय नै बजेटमा नसमेट्नुलाई धेरैले शेरबहादुर देउवालाई मुख्य कारक मानेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *