Main News

धरहरा ढलेको ८ वर्ष पूरा : कस्तो छ अहिले धरहराको अवस्था ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख १२ गते २०:५२
धरहरा ढलेको ८ वर्ष पूरा : कस्तो छ अहिले धरहराको अवस्था ? (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०८० काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पले ऐतिहासिक सम्पदा धरहरा पनि भत्कायो । अहिले धरहराको पुनर्निर्माण मात्र होइन बहुउद्देश्यीय योजना नै बनाइएको छ । तर, निर्माणका सबै काम सम्पन्न गर्नु २ वर्षअघि नै धरहराको उद्घाटन गरियो । भूकम्प गएको ८ वर्ष वितिसक्यो, निर्माण सुरुभएको सांढे ४ वर्ष । कस्तो छ त धरहराको अवस्था ?

आजकै दिन २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जनधनको क्षतिसँगै देशकै धरोहर धरहरा पनि ध्वस्त बन्यो ।

२०७५ सालयता धरहरा निर्माणको काम सुरु भयो र छ वर्ष पछि अर्थात २०७८ साल वैशाख ११ गते पुरानै स्वरुपको नयाँ धरहरा ठडिएको घोषण गरियो । निकै तामझाम र लावालस्करका साथ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा सम्पन्नताको बिगुल नै फुक्नुभयो, तर उद्घाटनको ठिक २ वर्ष वितिसक्दा पनि वास्तवमा धरहरा अझै बनिसकेको छैन ।

धरहरा परियोजना बहुउद्देश्य छ । यो परियोजना अन्तरगत पार्किङ, बगैंचा, लिफ्ट जडान, साना–साना भवन निर्माण रहेका छन् । परियोजना अन्तरगत धेरै काम भएकै छैनन् काम भएको छ त मुख्य स्तम्भ धरहराको बाहिरी आवरण र तल्ला । तर यसको उदघाटन भने २ वर्ष पहिला नै भैसकेको छ ।

अहिले बनेको धरहराभन्दा पछाडि रहेको यो अवशेष पुरानो धरहराको हो । यो व्यवस्थित गर्न बाँकी नै छ । भूकम्पले भत्काएको धरहरालाई नयाँ रुपमा निर्माणका लागि २०७५ पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले शिलान्याश गर्नुभएको थियो ।

अनि उहाँले नै जाँदा–जाँदै पूरा काम नभएको धरहराको उद्घाटन नै गर्दिनुभयो । उद्घाटन भएको २ वर्षमा पनि धरहराको भर्याङ, सिलिङ, फर्निचर, विजुली बत्तिदेखि प्राविधिक कामहरु अझै बाँकी छन् ।

बाहिरबाट हेर्दा ११ तल्लादेखिने यो धरहरा २२ तल्ले रहेको छ । निर्माण सम्पन्न भनिएको धरहरा वरिपरिका काम पनि भइनै रहेका छन् । तर तत्कालीन सरकार र पूनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले तत्कालीन प्रधानमन्त्री ओलीलाई खुशी पार्न उद्घाटनमै हतारो देखाउनुभयो । २ वर्षअघि उद्घाटन भएको धरहरा निर्माण परियोजनाको ठेकेदार कम्पनीले अझै १५ प्रतिशत काम बाँकी रहेको बताएको छ ।

८५ प्रतिशत भौतिक प्रगति रहेको यो नयाँ धरहरा ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । पुरानो भत्किएको ऐतिहासिक धरहरापनि छेउमै छ । भूकम्पले भत्केको पुरानो धरहराको भग्नावशेषलाई सिसाले छोपेर संरक्षण गरिएको छ । धरहरा क्षेत्रभित्रका काम निरन्तर चलिरहेको छ। ४ पटक सम्म म्याद थपिएको यो परियोजना अझ सम्पन्न भएको छैन । तर उद्घाटनमा हतार गर्ने तत्कालीन प्रमुख कार्यकारी अधिकृत ज्ञवाली भने मुख्य धरहरा र अन्य काम फरक–फरक भएकोभन्दै धरहरा उद्घाटनको बचाउ गर्नुहुन्छ ।

धरहरा बनाउन ३ अर्ब रुपैयाँ बढी रकम विनियोजन भएको छ । डिजाइन तथा चित्रमा गरिएका बारम्बारको फेरबदल, हालको सरकारको कम चासो र स्थानीयको बाधाअड्चनका कारण काममा ढिलाई भएको निर्माण कम्पनीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *