Main News

फर्केर हेर्दा लोकतन्त्र ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख ११ गते २१:११
फर्केर हेर्दा लोकतन्त्र ! (भिडियो रिपोर्टसहित)

११ वैशाख २०८० रुपन्देही । लोकतन्त्र स्थापना भएको १७ वर्ष पुगेको छ । लोकतन्त्र स्थापना गर्दाको उत्साह भने नागरिकमा विस्तारै ओरालो लाग्दैछ ।

सबैभन्दा राम्रो र सुधारिएको व्यवस्थाका रुपमा लिइएको लोकतन्त्रलाई शासन सत्तामा पुग्नेहरुले आफ्नो अनुकुलताको ‍औजार बनाएपछि नागरिकमा यो व्यवस्थाका लागि लडेका दलहरु प्रति नै वितृष्णा बढिरहेको देखिन्छ ।

शासनसत्ता आफ्नो हातमा लिएर संवैधानिक परिधि तोड्दै सक्रिय राजनीतिमा प्रवेश गरेका तत्कालीन राजा ज्ञानेन्द्र शाहले घुँडा टेकेको दिन, वैशाख ११ । जसको नेपाली राजनीतिमा महत्वपूर्ण अर्थ छ । राजाको प्रत्यक्ष शासनविरुद्धको जनउभारपछि दरबार झुकेको दिनका रुपमा वैशाख ११ लाई लोकतन्त्र दिवसमा मनाउन थालेको १७ वर्ष भएको छ ।

कसरी आएको थियो लोकतन्त्र रु एकपटक ०६३ वैशाख ११ लाई फर्केर हेरौंः
एक पटक वैशाख ११ आउनुअघि यी घटनाक्रम हेरौंः
–२०५९ जेठ ८ गते राजा ज्ञानेन्द्रबाट संसद विघटन
–२०६१ साल माघ १९ गते प्रत्यक्ष शासन सुरु
–२०६२ मंसिर ७ गते राजाको शासनविरुद्ध संघर्षरत ७ दल र माओवादीबीच १२ बुँदे समझदारी
–२०६२ फागुन ७ गते दोस्रो जनआन्दोलनको घोषणा
–२०६२ चैत २४ गते जनआन्दोलन सुरु
–०६३ वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा

२०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्थापना भएकाले वैशाख ११ लाई नागरिकको जितका रुपमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

आन्दोलनरत दलले गरेक मस्यौदाका आधारमा तत्कालिन राजा शाहले वैशाख ११ गते राति संसद् पुनस्थापनाको घोषणा गर्नुभयो । जुन नेपालबाट राजसंस्था विदाई गर्ने महत्वपूर्ण घटनाक्रम बन्यो ।

पुनस्थापित संसदको २०६३ जेठ ४ गतेको बैठकले राजाको अधिकार कटौती मात्र गरेन, माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधानसभाको चुनाव गर्ने सङ्कल्प प्रस्ताव पारित गर्यो । यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा चुनाव भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो ।

उसो त लोकतन्त्र स्थापनाको १७ वर्ष पुग्दा देशले के पायो रु नागरिकले के पाए रु भन्ने प्रश्न ज्वलन्त छ ।

लोकतन्त्रको स्मरण गर्दैगर्दा दलहरुले लोकतन्त्र ल्याउन लडेका नागरिकको भावना नबुझेको आरोप लागिरहेको छ । जसकारण अहिले लोकतन्त्रमाथि नै प्रश्नहरु उठिरहेका छन् भने लोकतन्त्र ल्याउने दलहरुप्रति वितृष्णा बढ्दो छ । लोकतन्त्र नारामा नभई जनताको जीवनमा अनुभूत गराउन सके मात्रै लोकतन्त्र साकार हुन सक्छ । तर, के नेपाल अहिले त्यो बाटोमा छ त ? लोकतन्त्र भनेर नथाक्ने दलहरुले जवाफ आफैभित्र खोज्ने हो की ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *