विशेष समिति गठन गर्न प्रमुख तीन दल सहमत
११ वैशाख २०८० काठमाडौं । प्रमुख तीन दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्याउन विशेष समिति गठन गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विशेष समिति बनाएर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगोमा पुर्याउने सहमति भएको हो ।
बैठकमा संसदीय समितिको नेतृत्वमा पनि सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।
संसदीय विशेष सुनुवाइ समितिको सभापति कांग्रेसले लिने सहमति भएको छ । १० वटा विषयगत समितिमध्ये एमालेले लेखा समिति र थप एक समितिको सभापति पाउने सहमति भएको छ ।
संवैधानिक परिषदसम्बन्धी विधेयक पारित गर्ने सहमति पनि तीन दलको बैठकमा भएको छ । संवैधानिक परिषदसम्बन्धी कानूनमा समस्याका कारण प्रधानन्यायाधीश नियुक्तिको सिफारिस अघि बढ्न सकेको छैन ।
यो सहमतिसँगै अब संवैधानिक परिषदबाट प्रधानन्यायाधीश नियुक्ति सिफारिस, संसदीय सुनुवाइ समिति गठनलगायतका सबै प्रक्रिया अघि बढ्नेछ ।
प्रतिक्रिया