Main News

प्रधानमन्त्री प्रचण्ड किन गर्दैछन् भारत जान मरिहत्ते (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख ४ गते २१:१५
प्रधानमन्त्री प्रचण्ड किन गर्दैछन् भारत जान मरिहत्ते (भिडियो रिपोर्टसहित)

४ वैशाख २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणका लागि लालायित हुनुहुन्छ । बोआओ फोरम होस् वा अतिकम विकसित राष्ट्रको पाँचौ सम्मेलनलाई वेवास्ता गरेर आफ्नो पहिलो विदेश यात्रा भारतबाटै गर्ने प्रचण्डको चाहना छ ।

उहाँ भारतकै कारण आफ्नो नेतृत्वको सरकार फेरिने चिन्तामा रहँदा भारतीय जनता पार्टी विजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको काठमाडौं दौड सुरु भएको छ । काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले पनि देखिनेगरी आफ्नो सक्रियता बढाउनुभएको छ । प्रचण्डको भारत आसक्ति किन ?

गएको पुसमा प्रधानमन्त्री भएलगतै पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने अभिव्यक्ति दिनुभयो । यसपटक उहाँ भारतलाई विश्वासमा लिएर सरकार टिकाउने खेलमा रहनुभएको कतै लुकेको छैन । तर, प्रधानमन्त्री प्रचण्डको चाहनालाई खासै वास्ता नगरेको भारत ‘पर्ख र हेर’कै अवस्थामा छ । प्रधानमन्त्रीकै निजि सचिवालयले चैतको अन्तिम वा बैशाखको पहिलो साता भारत भ्रमण हुने सूचना चुहाएको थियो । तर, औपचारिक निमन्त्रणा दिन भारत अहिले नै तयार देखिएन ।

भारतसँग उत्तारचढावको सम्बन्ध बनाएको प्रचण्डले अहिले दिल्लीको विश्वास जित्न चीनको निमन्त्रणा नै अस्वीकार गर्नुभयो । गत मार्च २८ मा चीनको हाइनान प्रान्तको बोआओमा भएको बोआओ फोरम फर एसिया सम्मेलनमा भाग लिन चीनले फेब्रअरी २२ मै औपचारिक निम्ता दिएको थियो । तर भारतलाई नबिच्काउन प्रधानमन्त्री प्रचण्ड आफू पनि जानुभएन नत कुनै उच्च अधिकारीलाई नै पठाउनुभयो ।

यो मात्र होइन, उहाँले भारतको निम्ता पर्खिनै राख्नुभएकोेछ । कतारमा भएको अतिकम विकसित राष्ट्रको पाँचौ सम्मेलनलाई पनि प्रधानमन्त्रीले वेवास्ता गर्नुभयो । यसको एउटै कारण थियो, पहिलो विदेश भ्रमण भारतको लहड । तर, भारतले टेरपुच्छर लगाएन ।

दिल्ली काठमाडौंमा सत्ता परिवर्तन हुने हो कि भन्ने आशंकामा छ । यहाँ प्रमुख सत्तारुढ कांग्रेसलाई सत्ताको साँचो दिन तयार रहेको एमालेको प्रस्तावले अल्मल्याएको हुनुपर्छ । चैत २८ गते पार्टी निकट शिक्षक संगठनको महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनकै सहमतिमा कांग्रेसले सरकारको नेतृत्व लिने उल्लेख गर्नुभयो ।

हुनत उहाँले हालैको गठबन्धनको सहमतिका आधारमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने उल्लेख गर्नुभएको जस्तो देखिन्छ । तर, सत्ताका माहिर खेलाडी शेरबहादुर देउवा दुई–तीन वर्षसम्म पर्खिनुहोला भन्न नसकिने उहाँ निकटहरु नै बताउँछन् । फागुनको पहिलोसाता बीबीसी हिन्दीसँग नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले त उमेरका कारण पनि देउवाका निम्ति ३ वर्षको पर्खाइ सम्भव नहुने प्रतिक्रिया दिएका थिए ।

कांगेस निकटहरु एमालेको एउटा तहबाट कांग्रेसलाई सत्ताको साँचो सुम्पिने प्रस्ताव आएका बताउँछन् । नेपाली राजनीतिभित्रको अस्थिर चरित्रका जानकार प्रचण्डले धम्क्याउने शैलीमै नयाँ वर्षको दिन पार्टी कार्यालय पेरिसडाँडामा यो व्यवस्था संकटमा परेको र अहिलेको व्यवस्था उल्टाउन खोजेको अभिव्यक्ति दिनुभयो । भारतले झट्ट विश्वास नगर्ने प्रचण्डको विकल्प खोजेको अनुमान धेरैले लगाएका छन् । त्यसैले पनि भारत प्रचण्डलाई कमजोर पार्दै आफूले चाहेका जलविद्युत आयोजना र नदीनालाहरुमा आफ्नो नियन्त्रणमा लिन खोजेको कतिपयको टिप्पणी छ ।

प्रधानमन्त्री भएकैदिन पुस १० देखि नै दिल्ली दौडाको चाहना राखेका प्रचण्ड भारतले भनेझैं काम गर्न तयार बनेरै पन िसरकार जोगाउन चाहनुहुन्छ । भारतीय जनता पार्टी विजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि नेपालको पछिल्लो राजनीति र दलहरुको नाडी छाम्न् काठमाडौं आइपुग्नुभएको छ । स्थलमार्गबाट धनगढी आएर सुदूरपश्चिम प्रदेशको मानसखण्ड कार्यक्रममा सहभागी भएर चौथाइवाले काठमाडौंमा राजनीतिक भेटघाट तीव्र पार्दै हुनुहुन्छ ।

उहाँले प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र विभिन्न राजनीतिक दलका नेतृत्वसँग भेटवार्ता गर्ने कार्यतालिका छ । किन भेटघाटमा तीव्रता ? दलहरुको मनस्थिति कस्तो छ ? र प्रचण्ड सरकारको टिकाउबारे पार्टी नेतृत्व र भारतीय प्रधानमन्त्रीलाई जानकारी गराएपछि मात्र प्रचण्डको दिल्ली दौडा तय हुने भारतीय निकटस्थ बताउँछन् ।

त्यस बाहेक नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवको भेटघाट तीव्र बनेको छ । हालैमात्र दिल्ली पुगेर काठमाडौं फर्किएका श्रीवास्तवले नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री प्रचण्डसम्मलाई भेटिसक्नुभएको छ । कतिसम्म कमजोर बनेर भारतसँग त्वम शरण गर्ने हुन प्रधानमन्त्री प्रचण्डले त्यो समयक्रमले देखाउँदै जानेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *