Main News

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, के-के हुन उठाउनैपर्ने एजेण्डा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख ४ गते ७:१०
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, के-के हुन उठाउनैपर्ने एजेण्डा ? (भिडियो रिपोर्टसहित)

४ वैशाख २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको आन्तरिक तयारीमा जुट्नु भएको छ । वैशाखको अन्तिमतिर दिल्ली दौडामा निस्किने तयारी भएपनि दुबै देशले मिति सार्वजनिक गरेका छैनन् ।

प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्यादेखि हवाई रुट, विद्युत व्यापार लगायतका विषयमा छलफल गर्ने एजेण्डाको तयारीमा परराष्ट्रमन्त्रालय र सरोकारवाला निकाय जुटेका छन् । केके हुन त प्रधानमन्त्रीले भारत भ्रमणमा उठान गर्नै पर्ने विषयहरु ?

भारतको रक्सौलदेखि काठमाडौँसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएलगत्तै वैशाख अन्तिम सातासम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुने निश्चित भएको छ । यसको तयारीका लागि नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले तयारी अघि बढाउने जानकारी दिनुभएको छ ।

यसपटक भ्रमण विशेष बनाउन एजेण्डा तयार पारिदैछ । भारतले रेल मार्गमा विशेष चासो राखेको छ । १३६ किलोमिटर लम्बाई हुने प्रस्तावित यो परियोजनालाई नेपालले अनुदानमा बनाइदिन आग्रह गरे पनि भारतले ऋण वा अनुदान भन्ने स्पष्ट पारेको छैन । प्रधानमन्त्रीको भ्रमणका क्रममा यो आयोजनाबारे भारतले आर्थिक मोडालिटीका बारेमा स्पष्ट पार्ने सम्भावना छ ।

यसका साथै दुईवटा जलविद्युत आयोजना र एउटा प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतामा समेत प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा हस्ताक्षर गर्ने तयारी छ । जसअन्तर्गत ७५६ मेगावाटको तमोर जलविद्युत आयोजना र ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना छन् । भारत हुँदै बंगलादेशसम्मको प्रसारण लाईन निर्माणको विषयमा पनि सम्झौता हुनेछ । बंगलादेशको यो प्रस्तावमा भारत तयार भइसकेको छ ।

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवतरणका लागि अत्याधुनिक मेसिन जडान गर्न भारतसँग नेपालले स्वीकृति मागिरहेको छ । तर, भारतले सुने नसुने झैं गरिरहेको छ । फ्रिक्वेन्सी भारतका केहि गाँउसम्म पुग्ने भएपछि नेपालले यस्तो स्वीकृतका लागि कसरत गरिरहेको छ ।

यस्तै भ्रमणका क्रममा दुई देशबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्नसक्ने यूनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) प्रणाली लागू गर्ने सम्झौता समेत हुने भएको छ । डिजिटल कारोबारको विषयमा जीटुजी सम्झौता हुने भएपनि यसका लागि आवश्यक पूर्वाधार के हुने भन्ने विषयमा भने कुनै छलफल र तयारी छैन् ।

भारतले गहुँ निर्यातलाई खुकुलो बनाउने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुटका विषयमा समेत छलफल गर्ने तयारी नेपाली पक्षको छ ।

यसैगरी इपीजी प्रतिवेदन पनि भारतले बुझ्न मानिरहेको छैन् । भारतबाट आउने तरकारीमाथिको विषादी परिक्षण लगायतका विषय पनि समस्याको विषयको रुपमा रहेको छ । यसकारण प्रधानमन्त्री प्रचण्डको यो भ्रमणमा राष्ट्रको वृहत्तर हितका विषय नै प्रमुख मुद्दाहरु बन्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *