आर्थिक

अर्थतन्त्रका परिसूचक सुधारोन्मुख, रेमिट्यान्स बढ्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २८ गते २१:१३
अर्थतन्त्रका परिसूचक सुधारोन्मुख, रेमिट्यान्स बढ्यो (भिडियो रिपोर्टसहित)

२८ चैत २०७९ काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको वित्तीय क्षेत्र सुरक्षित रहेको दाबी गरेको छ । अर्थतन्त्रमा सुधार रहेकाले सानो–तिनो धक्काले संकट नहुने राष्ट्रबैंकले उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा पर्याप्त पुँजी हुनु, पुँजी पर्याप्तता ११ प्रतिशत हुनुपर्नेमा १३ प्रतिशत पुग्नु, विदेशी मुद्रा सञ्चितिमा वृद्धि, रेमिट्यान्समा वृद्धिलाई सुधारको संकेत मानिएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक सूचकहरु सकारात्मक हुँदै गएको देखिन्छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार पछिल्लो चार महिनामा निरन्तर रुपमा १ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

चालु आर्थिक वर्षको औषत रेमिट्यान्स ९९ अर्ब प्रतिमहिना छ । सरकारको चालु खाता घाटामा सुधार भएको छ । राष्ट्र बैंकले फागुन मसान्तसम्म चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा रहेको उल्लेख गरेकोछ । अघिल्लो वर्षको ८ महिनामा ४ सय ६० अर्बले ऋणात्मक रहेको चालु खाता घाटामा उल्लेख्य सुधार भएको हो । त्यस्तै विदेशी विनिमय सञ्चिति पनि सुविधाजनक अवस्थामा देखिएको छ ।

गत असार मसान्तमा १२ सय १५ अर्बको सञ्चिति रहेकोमा अहिले १४ सय १ अर्ब सञ्चिति रहेको छ । फागुन मसान्तसम्म शोधनान्तर स्थिति नेपालबाट बाहिरिने र भित्रीले विदेशी मुद्राको अन्तर १ खर्ब ४८ अर्ब रुपैयाँले बचतमा गएको छ । माघ मसान्तसम्म १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले वचतमा रहेको शोधनान्तर स्थिति १५ अर्बले सुधार भएको हो ।

गत वर्ष फागुन मसान्तसम्म शोधानान्तर स्थिति २ खर्ब रुपैयाँले घाटामा थियो । असोज यता शोधनान्तर स्थिति निरन्तर वचतमा छ । चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले बढ्नुको साथै आयात २० प्रतिशतले घटेपछि शोधनान्तर स्थिति वचतमा गएको हो । आर्थिक वर्ष २०७९–८० को आठ महिनाको आयातका आधारमा मान्दा विदेशी विनिमय सञ्चितिले १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।

गत फागुनसम्म अमेरिकी डलरमा सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा गत फागुन मसान्तमा १२.१ प्रतिशतले वृद्धि भएर १० अर्ब ६९ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अहिलेको मुलुकको अर्थतन्त्र संकटमा रहेको भन्न नमिल्ने राष्ट्रबैंकको तर्क छ ।

समग्र बजार महँगीदरमा अघिल्लो महिनामा भन्दा सुधार भएको छ । माघ महिनाको तुलनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ओरालो लागेको हो । खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिमा राम्रो सुधार देखिए पनि गैरखाद्य तथा सेवातर्फको महँगी भने झिनो मात्रै सुधार देखिएको छ । फागुन महिनासम्म समग्र मुद्रास्फीति ७.४४ प्रतिशतमा झरेको छ । माघ महिनामा यस्तोदर ७.८८ प्रतिशत थियो । तर गत वर्ष फागुनसम्म यस्तो दर भने ७.१४ प्रतिशत थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *