Main News

रोजगारीको खोजीमा विदेशिने युवाको विमानस्थलमा लाम (भिडियो रिपोर्टसहित)

२०७९ चैत २६ गते २०:५३
रोजगारीको खोजीमा विदेशिने युवाको विमानस्थलमा लाम (भिडियो रिपोर्टसहित)

२६ चैत २०७९ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो विछोडमा रुवावासी चल्छ ।

वैदेशिक रोजगारीमा जान लागेकालाई विदाई गर्न पुगेका आफ्न्त हुन् वा विदेशबाट बाकसमा फर्किएका युवाहरुको शव लिन पुगेकाहरु नै किन नहुन्, सबैको आँखामा आँसु देख्न सकिन्छ । वैदेशिक रोजगारीमा जानेहरुका आ–आफ्नै कथा छन् । आइतबार मात्र २ हजार ४ सयको हाराहारीमा युवा विदेशिएका छन् ।

रुपन्देही सूर्यपुराका सुरेन्द्र केवर घरका जेठो छोरा हुन् । बुवाको निधनपछि सुरेन्द्रको काँधमा परिवारको भरण पोषणको जिम्मेवारी आइलाग्यो । उनका दुई बहिनी र एक भाइ सानै छन र पढ्दै छन् ।

नेपालमा केही गर्ने सोच भएपनि उचित अवसर नपाउँदा २१ वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि मलेसिया गए । तीन महिनाको छुट्टिमा स्वदेश आएका उनी आइतवार दोस्रो पटक मलेसिया उडे । मलेसिया प्रस्थान गर्न अघि विमानस्थलमा सुरेन्द्रले भाइ बहिनीको पढाई पुरा गराउनु र विवाह गरिदिने सपना पुरा गर्नकै लागि आफू वैदेशिक रोजगारीमा जान लागेको दुखेसो पोखे ।

सुरेन्द्रजस्तै बैदेशिक रोजगारीमा जान बाध्य भएका अर्का युवा हुन्, खिम पटेल । म्याग्दी बेनीका पटेल देशमै केही योगदान गर्ने र परिवार पाल्ने उद्देश्यले मेकानिकलको काम गरे । तर यहाँ काम गर्दा जिविकोपाजर्न गर्न हम्मे–हम्मे परेपछि उनी पनि आइतवार नै साउदी लागे ।

बाग्लुङ्गका हिराध्वज पौडेल पनि विगत नौ वर्ष यता बैदेशिक रोजागारीका क्रममा दुवईमा छन् । सुरुमा दुई तीन वर्षका लागि भनेर विदेशिएका पौडेल देशकै काम गर्ने वातावरण नभएका कारण पुनः युएई तर्फ प्रस्थान गरे । हरेक पटक छुट्टीमा नेपाल फर्किँदा आफूले वैदेशिक रोजगारी टुंगाउने भनेर वाचा गरेर आएपनि देशको परिस्थितिका कारण आफूलाई बस्नै मन नलाग्ने पौडेलको दुखेसो छ ।

यी केही प्रतिनिधि उदाहरण हुन् , जो स्वदेशमा अवसर नपाएरै बैदेशिक रोजगारीमा जान बाध्य छन् । आइतवार मात्रै झण्डै २ हजार ४ सय युवा बैदेशिक रोजगारीका लागि विभिन्न मुलुक उडेका छन् । बैदेशिक रोजगारीमा जाने युवालाई पुराउन सम्भव भएसम्म परिवारका सदस्य विमानस्थलमै पुग्छन् । यसरी आफ्नो प्रिय मान्छेलाई पराई भूमिका पठाउँने क्रममा विदाईका हात हल्लाउदा आँखु भने रोक्नै सक्दैनन् ।

हरेक दिन सयौं युवा विदेशिन बाध्य हुनुपर्ने विवशताले कसको मन नरोला ? तर राज्यको नीति निर्माण तहका बस्नेहरुको ध्यान भने यी युवा प्रति भन्दा कसरी कुर्सीमा पुग्ने र पद जोगाई रहने भन्नेमा मात्रै केन्द्रित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *