राजनीति

गण्डकी प्रदेश सरकार : निकासको पर्खाइ (भिडियो रिपोर्टसहित)

२०७९ चैत २५ गते १८:३८
गण्डकी प्रदेश सरकार : निकासको पर्खाइ (भिडियो रिपोर्टसहित)

२५ चैत २०७९ पोखरा । लुम्बिनी प्रदेशकै अवस्थाबाट गुज्रिरहेको छ, गण्डकी प्रदेश सरकार पनि । चैत १० मा माओवादीले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएसँगै खगराज अधिकारी नेतृत्वको सरकार पनि अल्पमतमा छ ।

मुख्यमन्त्री अधिकारीले पनि विश्वासको मत लिने योजना बनाउनुभएको छैन । ३० दिनको समयसीमा पर्खेर अन्तिम घडीमा राजीनामा दिने मनसाय बोक्दा सरकार हुनु र नहुनुको फरक देखिएको छैन ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शनिबार कर्णालीमा सात वटै प्रदेशमा गठबन्धनको सरकार बन्ने बताइसक्नुभएको छ । सोही अनुसार प्रदेश पनि बाँडफाँट भइसकेको छ । तर, अल्पमतमा पर्दा पनि विश्वासको मत पनि नलिने र सरकार पनि नछोड्ने गर्दा अहिले गण्डकी पनि लुम्बिनी प्रदेश जस्तै बनेको छ ।

संसदीय अंकगणित हेर्दा पनि खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत पाउने अवस्था छैन । तर, संवैधानिक व्यवस्थालाई देखाउँदै अन्तिम घडीसम्म मुख्यमन्त्री पदमा आसिन हुने मोह देखिएको भन्दै कांग्रेसले आलोचना गरेको छ । र, तत्काल राजीनामा दिन समेत माग गरेको छ ।

विश्वासको मत लिनुपर्ने मितिभन्दा ठिक अगाडिमात्र राजीनामा दिने रणनीतिमा मुख्यमन्त्री अधिकारी छन् । संवैधानिक व्यवस्थाअनुसार वैशाख ८ भित्र मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा आफूलाई परीक्षण गर्नुपर्छ । मुख्यमन्त्री अधिकारीले संसदबाट विश्वासको मत पाउने अवस्था छैन । विश्लेषक पनि सरकार टिकाउने अन्य कुनै विकल्प नभएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उचित हुने टिप्पणी गर्छन् ।

गण्डकीमा २२ सिट जितेको एमालेलाई २ सिट जितेको राप्रपाको साथ छ । तर२७ सिट जितेको कांग्रेस र ८ सिट जितेको माओवादी मिल्नासाथ प्रदेशसभामा दुई दलको प्रष्ट बहुमत पुग्छ । त्यसलाई बुझेका मुख्यमन्त्री अधिकारीले ३० दिन पुग्ने आसपासमा मात्र सरकार छाड्ने मनस्थिति बनाउँदा प्रदेश सरकारको काम कारवाही भने अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्