Main News

शहीद बढाउँदै सरकार, शहीदको अवमूल्यन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २४ गते २०:३६
शहीद बढाउँदै सरकार, शहीदको अवमूल्यन (भिडियो रिपोर्टसहित)

२४ चैत २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सहिद घोषणामा उदार देखिएको छ । फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकले माओवादी सशस्त्र द्वन्द्वका क्रममा मारिएकालाई सहिद घोषणा गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गर्यो ।

शुक्रबार मात्रै पनि प्रदेश १ को नाम कोशी राखेकोमा असन्तुष्टि जनाउँदै आन्दोलनमा मृत्युभएका पदमबहादुर लिम्बुलाई पनि मन्त्रिपरिषद्ले सहिद घोषणा गर्यो । योसँगै सहिदको संख्या १२ हजार १ स्य ९८ पुगेको छ ।

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए ।

कवि भूपी शेरचनले सहितको सम्मानमा रचेको कविता हो । यहाँ मुलुक बन्नका लागि दुई–चार सपुतले ज्यानको आहुती दिनुपर्ने आशय छ । तर, नेपालमा सहिदको नाममा विकृति सुरु भएको छ । राजनीतिक परिवर्तन वा बाह्य आक्रमणविरुद्ध उत्रिदा ज्यान गुमाउने सपुतलाई सहिदको सम्मान दिइन्छ । तर, पछिल्ला वर्षहरुमा सहिदको परिभाषा नै फेरिने गरी सहिद घोषणा गर्ने चलन जस्तै बनेको छ ।

हालै मात्र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ८ हजारबढीलाई सहिदको उपमा दिएको छ । फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकले माओवादी सशस्त्र द्वन्द्वमा ज्यान गुमाएकालाई सहिदको सम्मान दियो । त्यसपछि चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले प्रदेश १ को नाम कोशी राख्ने प्रदेशसभाको निर्णयविरुद्ध विराटनगरमा भएको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई पनि सहिद घोषणा गर्यो । सहिदको सम्मान संख्या बढाएरै हुने हो रु के हो त सहिदको परिभाषा–

नेपाली बृहत् शब्दकोशमा उल्लेख
सहिद– आफ्नो देश, संस्कृति, अस्तित्व र स्वाभिमानको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान हुने अमर व्यक्ति ।

संविधानमा सहिदबारे उल्लेख
नेपालको संविधानको धारा ४२ को उपधारा ५ मा लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष, क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने सहिदका परिवारलाई उचित सम्मानसहित शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षा कानूनका आधारमा सुविधा दिनुपर्ने उल्लेख छ । सहिद घोषणा गरेपछि सरकारले सहिदका परिवारलाई १० लाख रुपैयाँ पनि दिने गरेको छ ।

सहिदको संख्या
विक्रम संवत् १९३३ मा तत्कालीन राणा शासनविरुद्ध उभिएका लखन थापालाई झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । थापा नै नेपालका पहिलो सहिद भएको मानिन्छ । उनलाई २०५६ सालमा तत्कालीन सरकारले सहिद घोषणा गरेको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा आहुति दिने चार सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द ठकुरीलाई २०४८ साल बैशाख ४ मा सहिद घोषणा गरिएको थियो ।
तथ्यांकमा हेरौं २००७ सालदेखि २०८० सालसम्मका सहिद–

प्रथम सहिद– लखन थापा
प्रजातान्त्रिक आन्दोलन २००७ सालका सहिद – ४ जना
शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द
कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा गठित समितिको प्रतिवेदनका आधारमा सहिद – १९० जना
माओवादी सशस्त्र द्वन्द्वका सहिद – ११,४६६ जना
जनआन्दोलनका सहिद – २८ जना
हत्या घटनाका सहिद – ३२ जना
तराई मधेश, थारुहट आन्दोलनका सहिद – १२३ जना
बम बिस्फोटका सहिद – ८ जना
प्रहरीसँगको झडपमा परेका सहिद – ११ जना
विभिन्न समयमा घोषणा भएर छुट भएका सहिद – २९७ जना
विभिन्न मितिमा तत्कालीन शासन व्यवस्थाविरुद्ध आवाज उठाउने सहिद – २२ जना
धार्मिक, निजामति कर्मचारीलगायत अन्य सहिद – १५ जना
कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनका सहिद – १ जना
जम्मा सहिद – १२,१९८ जना

२ हजार ७ साल यता विभिन्न आन्दोलनमा साहदत प्राप्त गरेका व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन रहेपछि २०६२÷०६३ को जनआन्दोलनपछि सरकारै पिच्छे सहिद घोषणा गर्ने प्रतिस्पर्धा नै चलाइएको छ ।

सहिद घोषणा गरिएका व्यक्तिका परिवारले राज्यबाट १० लाख आर्थिक साहयता र विभिन्न सहुलियत पाउने भएका कारण सडक दुर्घटनामा परेका व्यक्तिलाई पनि सहिद घोषणा गराउन माग गर्दै सडक बन्द गरेर आन्दोलन गर्ने विकृति पनि देखा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *