Main News

उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता

हिमालय टिभी
२०७९ चैत २० गते ९:१०
उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता

२० चैत २०७९ काठमाडौं । आगामी वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नम्बर २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नम्बर २ का लागि उपनिर्वाचन हुन लागेको हो ।

आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज हुँदैछ । तनहुँ क्षेत्र नंं १ मा हुने उपनिर्वाचनका लागि यही चैत १८ गते सञ्चालनमा आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।

यसैबीच उपनिर्वाचनका लागि तनहुँमा सात सय ६० जनशक्ति परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले हाल कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको जानकारी दिनुभयो । “उहाँका अनुसार विभिन्न कार्यालयमा रहेका कर्मचारीको विवरण माग गरेका छौँ”, उहाँले भन्नुभयो, “कर्मचारी खटनपाटनको काम चैत मसान्तबाट हुन्छ ।”

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका ४२ वडामा ६९ मतदानस्थल तथा एक सय ५२ मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटाउने तयारी गरिएको छ । “उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि मात्रै चुनाव भएकाले धेरै कर्मचारी खटाउनुपरेन, मङ्सिर ४ गतेको निर्वाचनमा प्रदेशसभातर्फ पनि उम्मेदवार हुँदा धेरै कर्मचारी खटाइएको थियो”, प्रमुख ढकालले भन्नुभयो ।

विभिन्न मतदान केन्द्रको निरीक्षण पनि सुरु गरिएको छ । उम्मेदवारी दर्ता र निर्वाचन चिह्न प्रदान गरेपछि कर्मचारी खटनपटनको कामलाई अगाडी बढाइने उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले तनहुँ १ को मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई नियुक्त गरेको छ । जिल्ला समन्वय समितिको कार्यालय भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत आचार्यले सबैको सहयोगबाट निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्षरुपमा सम्पन्न गर्न सकिने बताउनुभयो । जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, पत्रकारलगायतको सहयोगबाट निर्वाचनलाई मर्यादित र भयरहित रुपमा सम्पन्न गर्न सहयोग आवश्यक छ भन्नुभयो ।

तनहुँ–१ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा वैशाख १० गते आइतबारका दिन हुने उपनिर्वाचनका लागि यो क्षेत्रमा एक सय ८५ मतदाता घटेर एक लाख २३ हजार तीन सय पाँच कायम भएको छ ।

मतदाता नामावली अद्यावधिकका क्रममा मृत्यु भएका, दोहोरो नाम भएका, बसाइँसराइ गरेकाको नाम हटाउँदा मतदाता घटेको निर्वाचन कार्यालयले जनाएको छ । उपनिर्वाचनका लागि माघ २९ गतेसम्म मतदाता नामावलीमा दर्ता गरेकाले मत हाल्न पाउने निर्णय भएको कार्यालयले जनाएको छ ।

मङ्सिर ४ गतेसम्म तनहुँ १ मा एक लाख २३ हजार चार सय ९० मतदाता थिए । निर्वाचनमा ६६ हजार नौ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार तीन सय १८ मत प्राप्त गरी विजयी हुनुभएको थियो । प्रतिस्पर्धी नेकपा ९एमाले० का एकबहादुर रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिपदमा निर्वाचित हुनुभएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गर्दै छन् । जिल्लामा विशेष गरी चार दलका लागि निर्वाचन कार्यालयले समय तालिका तोकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिनको १ बजे देखि ४ बजेसम्म ठूला दलहरुलाई उम्मेदवारी दर्ताका लागि समय दिइएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का विहान १० बजे, नेपाली कांग्रेसका लागि दिनको २ बजे, नेकपा ९एमाले०का लागि ३ बजे र राप्रपाका लागि ४ बजे समय तोकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले समय तालिका तोकेसँगै मनोनयनका लागि दलहरुले आ–आफ्नो तयारी थालेका छन् । यस क्षेत्रको उपनिर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जिवलाल पुरीले उम्मेदवारी दर्ताको तयारी थाल्नुभएको हो ।

रास्वपाका केन्द्रीय सभापति लामिछानेले बिहान १० बजे मनोनय दर्ता गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । आफ्नो उम्मेदवारी दर्ता गरेसँगै तनहँुमा समेत उम्मेदवारको दर्ता कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेकाले चाँडै दर्ता गर्न लागिएको उहाँका निजी सचिव प्रकाश सिग्देलले बताउनुभयो ।

कांग्रेसले उम्मेदवारी दर्ता गर्नका लागि दिनको १ बजे चौबिसकोठीमा भेला हुन आह्वान गरेको छ । मनोनयन दर्ताका क्रममा कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ९डिना० चितवन आउनुहुने कार्यक्रम रहेको छ । भेलामा नेताले सम्बोधन गरेपछि जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताउनुभयो ।

एमालेका उमेदवार न्यौपानेले दिउँसो ३ बजे उमेदवारी दर्ता गर्दै हुनुहुन्छ । उमेदवारी दर्ता गर्नुअघि जिल्ला पार्टी कार्यालयमा भेला भएर जुलुससहित निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै, राप्रपाका उमेदवार ल पुरीले ४ बजे उमेदवारी दर्ता गर्दै हुनुहुन्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एकैचोटी सबै दलका उमेदवार पुगेर भीडभाड नहोस् भनेर दललाई छुट्टाछुट्टै समय दिइएको हो ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय अध्यक्ष लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरुले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *