राजनीति

भीम रावल फकाउने वार्ता टोलीमा ‘झगडिया’हरु (भिडियो रिपोर्टसहित)

२०७९ चैत १९ गते २१:०७
भीम रावल फकाउने वार्ता टोलीमा ‘झगडिया’हरु (भिडियो रिपोर्टसहित)

१९ चैत २०७९ काठमाडौं । आफ्नै पार्टीका नेतासँग संवाद गर्नका लागि नेकपा एमालेको सचिवालय बैठकले एउटा समिति नै बनायो ।

अध्यक्ष केपी शर्मा ओलीसँगै असन्तुष्ट देखिएका नेता भीम रावलबारे पार्टीले निर्णय लिनुअघि उहाँसँग छलफलका लागि उपाध्यक्ष विष्णु पौडेल, सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट र नेता कर्ण थापा सम्मिलित समिति बनाएको हो । यो समितिले रावलसँग अनौपचारिक संवाद सुरु गरेको छ । यो समितिमा रहेका नेताहरु र रावलबीच तित्तता रहँदै आएको छ ।

चितवनमा सम्पन्न एमालेको १०औँ महाधिवेशनपछि पार्टीको कुनैपनि जिम्मेवारीमा नरहेका नेता भीम रावलको पार्टी अध्यक्ष ओली र उहाँ पक्षका नेताहरुसँग तितो सम्बन्ध छ । गएको आम निर्वाचनमा आफ्नै जिल्ला अछामसमेत रावलले एमाले उम्मेदवारलाई असहयोग गरेको आरोप मात्रै लागेको छैन ।

सार्वजनिकरुपमै पटक–पटक पार्टी नेताहरुविरुद्ध बोलेको आरोप पनि छ । नेतृत्वसँग तितो सम्बन्ध बढ्दै जाँदा रावल एमालेमै नरहने होकि भन्ने चर्चा पनि बाहिरिएको थियो । एमाले छाडेका घनश्याम भुसालसँगै रावल पनि एमालेबाट फुटेको एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा चुलिएको थियो तर, रावलले पार्टीले सादारण सदस्यसमेत नरहने गरी कारवाही नगरेसम्म एमाले नछाड्ने बताउँदै आउनुभएको छ ।

यहीबीचमा रावल र उपाध्यक्ष विष्णु पौडेलबीच सार्वजनिकरुपमै आरोप–प्रत्यारोप बाहिरिएको थियो । यही पृष्ठभूमिमा शनिबार बसेको सचिवालय बैठकले उहाँका असन्तुष्टि बुझ्न उपाध्यक्ष पौडेलकै नेतृत्वमा लेखराज भट्ट र कर्ण थापाको समिति बनायो । एमाले १०औँ महाधिवेशनअघि अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा उहाँलाई हटाउन हस्ताक्षर संकलन गर्न अग्रसर भएकोदेखि नै रावल र ओलीबीचको सम्बन्ध विग्रिएको हो ।

नेकपादेखि एमालेसम्म रावलको पार्टी नेतृत्वसँगको सम्बन्ध–
–एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा हुँदा रावल अध्यक्ष ओलीको कटु आलोचक
–२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर
–प्रतिनिधिसभा विघटनको ओली प्रस्तावमा रावलको विरोध
û२०७७ फागुन २३ मा नेकपा खारेज, रावल एमालेमै
–२०७८ भदौ २ मा एमाले विभाजन, माधव नेपाल निकट रावल एमालेमै
–अध्यक्ष ओलीसँग असन्तुष्टि राख्दै १० बुँदे सहमति कार्यान्वयनका लागि गठित समितिको संयोजकबाट राजीनामा
–सुदूरपश्चिम प्रदेश कमिटीको इञ्चार्जमा बस्ने रावलको चाहनाविपरित पार्टीले लेखराज भट्टलाई दियो जिम्मेवारी
–२०७८ मंसिरमा सम्पन्न १०औँ महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा रावलको उम्मेदवारी
–अध्यक्षमा पराजित रावललाई केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रस्ताव रावलद्वारा अस्वीकार
–पार्टीले दिएको जिम्मेवारी सल्लाहकार परिषद् सदस्य बन्न पनि रावलद्वारा अस्वीकार
–२०७९ मंसिर ४ गतेको आम निर्वाचनमा आफ्नै जिल्ला अछाममा एमाले उम्मेदवार झपट बोहोरालाई हराउन भूमिका खेलेको आरोप
–जिल्ला कमिटीबाट रावललाई कारवाहीका लागि सिफारिस
–केशव बडाल नेतृत्वको अनुशासन कमिटीले बोलाएको छलफलमा सहभागी हुन अस्वीकार
–बडालसँग अनौपचारिक संवाद
–निरन्तर फरक मत राख्दै संसद र सार्वजनिक मञ्चहरुमा फरक धारणा
–एमालेको मिसन ग्रासरुटका क्रममा उपाध्यक्ष विष्णु पौडेल र रावलको तिक्तता

चैत ३ गते कैलालीमा आयोजित कार्यक्रममा उपाध्यक्ष पौडेलले रावल पार्टीहित विपरित लागेको बताउनुभएको थियो । त्यसको जवाफमा रावलले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध दूष्प्रचार गरेको टिप्पणी गर्नुभएको थियो । त्यसपछि एमालेले रावलबारे निर्णय गर्न उहाँका असन्तुष्टि सुन्न समिति बनाएको नेताहरुले बताएका छन् ।

वार्ता गर्न बनाइएको समितिमा रहेका पौडेल, भट्ट र थापा तीनै जना रावलसँग तिक्त सम्बन्ध रहेका नेता हुन् । यसले रावललाई पार्टीबाट निष्कासन गर्नकै लागि यो नाटक मञ्चन गरिएको कतिपयले बताउने गरेका छन् । तर छलफल भएपछि मात्र टिप्पणी गर्ने रावल र समिति सदस्य भट्टले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्