Main News

नयाँ अर्थमन्त्री महतलाई चुनौती नै चुनौती (भिडियो रिपोर्टसहित)

२०७९ चैत १७ गते २१:०२
नयाँ अर्थमन्त्री महतलाई चुनौती नै चुनौती (भिडियो रिपोर्टसहित)

१७ चैत २०७९ काठमाडौं । मुलुकको अर्थतन्त्र संकटमा छ । राजस्वले चालू खर्च धान्नै नसक्ने अवस्था छ । चर्को व्याज र महंगीका कारण उद्योगी, व्यवसायीदेखि आमसर्वसाधारण आक्रान्त छन् ।

यो अवस्थामा मुलुकको अर्थतन्त्रको बागडोर कांग्रेस नेता डा. प्रकाशरण महतको काँधमा आइपुगेको छ । वर्तमान सरकारको सफलता र असफलताको मापक अर्थमन्त्री नै हुने भएकाले अर्थतन्त्रको यो चुनौती पार लगाउन महत सफल हुनुहोला त ?

महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत १६ गतेसम्म सरकारको आम्दानी ६ खर्ब ९ अर्ब ७७ करोड छ भने खर्च ८ खर्ब ३० अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अर्थात सरकारको खाता २ खर्ब भन्दा बढी घाटामा छ । कमजोर राजस्व संकलन र भारी चालु खर्चले सरकारलाई सकसको अवस्थामा पुर्याएको छ ।

यही अवस्था रहे वैशाखदेखि कर्मचारीलाई तलब भत्तासमेत खुवाउन मुस्किल हुने देखिन्छ । चुलिँदो चालू खाता घाटा र घट्दो शोधानान्तर बचतले मुलुकको बाह्य क्षेत्रको दबाव केही कम भए पनि आन्तरिक रुपमा अर्को संकट सृजना भएको छ । यो संकट समाधान गर्नु मन्त्री महतको मुख्य जिम्मेवारी हो ।

चालू आर्थिक वर्षमा ३ खर्ब ८० अर्ब रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म २५ प्रतिशत अर्थात ९४ अर्ब ४७ करोड रुपैयाँ मात्र खर्च गरेको छ। बाँकी ३ महिनामा ७५ प्रतिशत विकास खर्च गर्नुपर्ने छ। यस्तै उच्च ब्याजदर र महंगीको मारले उपभोक्ता थिचिएका छन् ।

बैंकको कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको छ भने मूल्य वृद्धि ७ दशमलव ८८ प्रतिशतभन्दा बढी छ । ब्याजदर उच्च भएको भन्दै ७ महिनादेखि आन्दोलनमा रहेको निजी क्षेत्रलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकल अंकमा झारिदिने आवश्वासन दिएपछि ब्याजदर घट्ने अपेक्षामा छन् । उनीहरुको मागलाई सम्बोधन गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नु मन्त्री महतका सामु अर्को चुनौती छ ।

अर्थतन्त्रको ऐनाको रुपमा लिइने शेयर बजार पनि सकारात्मक छैन् । विगत १९ महिनादेखि निरन्तर बजार ओरालो लाग्दा लगानीकर्ताले १४ खर्बभन्दा बढी रकम गुमाइ सकेका छन् । बैंकको उच्च ब्याजदर र सहज कर्जाको अभावले निरुत्साहित लगानीकर्ताको मनोबल उँचो बनाउनु उनको अर्को जिम्मेवारी हुने छ ।

योसँगै कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा आएको विचलनको प्रभावले बाह्य संकट पनि निम्तिइरहेको छ । सरकारको ढुकुटीमा रहेको १३ खर्ब ८३ अर्ब बराबरको विदेशी मुद्राको सञ्चितीले ९ महिनाको मात्र बस्तु तथा सेवाको आयात धान्न सक्छ ।

यसले बाह्य क्षेत्र पनि संकटमुक्त छैन । यो अवस्थामा अर्थतन्त्रको आन्तरिक र बाह्य क्षेत्रको दबावकाबीच मन्त्री महतले सुझबुझका साथ जिम्मेवारी सम्हालनु पर्नेछ । अन्यथा मुलुक ठूलो आर्थिक संकटमा फस्ने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *