Main News

कोशीमा आन्दोलन : १७ राउण्ड हवाई फायर, ४४ सेल अश्रुग्यास प्रहार (भिडियो रिपोर्टसहित)

२०७९ चैत १४ गते २०:४३
कोशीमा आन्दोलन : १७ राउण्ड हवाई फायर, ४४ सेल अश्रुग्यास प्रहार (भिडियो रिपोर्टसहित)

१४ चैत २०७९ विराटनगर । कोशी प्रदेश नामकरण गरेको विषयलाई लिएर पहिचान पक्षधरको आन्दोलन थप चर्किएको छ । मुख्यमन्त्रीदेखि सांसदसम्म सांघातिक आक्रमण गर्न पछि नपरेका आन्दोलनकारीले मंगलबार विराटनगरमा गरेको प्रदर्शन झडपमा परिणत भयो ।

आन्दोलनकारीलाई तितरवितर गर्न प्रहरीले १७ राउण्ड हवाई फायर र ४४ सेल अश्रुग्यास प्रहार गर्‍यो । केही आन्दोलनकारी र प्रहरी पनि घाइते भएका छन् । आन्दोलन रोकिने स्थिति छैन भने प्रदेश नै अशान्त बनेको छ ।

प्रदेशको नाम कोशी राख्न फागुन १७ गते प्रदेशसभामा भएको मतदानमा एमाले, कांग्रेस र माओवादीका ८२ जना सांसदले मतदान गरे । जातीय पहिचानसहितको प्रदेशको मागसहित विभिन्न चरणमा आन्दोलन गर्दै आएका विभिन्न समुदाय र सङ्गठनले प्रदेशसभाको निर्णयप्रति तीव्र असन्तुष्टि जनाए । निर्णयको विरोध गर्दै फागुन २८ मा प्रदेश बन्द घोषणा नै गरे ।

अहिले प्रदर्शन थप आक्रामक बन्न पुगेको छ । विराटनगरको रोडशेष चोकमा भएको आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा २४ जना घाइते भए । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ । ४४ सेल अश्रुग्यास प्रहार गर्‍यो ।

पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने र कोशी नाम खारेज गर्नुपर्ने माग गर्दै विभिन्न दल र संघसंस्थाका कार्यकर्ताहरु विराटनगरको होटल बिगमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य सहभागी हुने जानकारी पाएपछि घेर्नका लागि विराटनगर आएका थिए ।आन्दोलनकारीलाई प्रहरीले रोकेको थियो ।

झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १५ जना घाइते भएका छन् । आन्दोलनरत पक्षका ९ जना घाइते भएका थिए । आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रधानमन्त्रीले प्रचण्डले शनिबार आन्दोलनकारीसँग छलफल गरेर वार्ताबाट समस्या समाधान गर्ने बताउनुभएको थियो । सरकारले वार्ता समिति समेत गठन गरेको थियो ।

यसपछि आन्दोलन मथ्थर हुने अपेक्षा थियो । तर मंगलबार विराटनगर अशान्त बन्यो । चैत ५ मा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बूको चैत १० मा मृत्यु भएको थियो । यसअघि चैत ६ मा ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङमा पहिचानवादी पक्षले मुख्यमन्त्री हिक्मत कार्कीको गाडीमा तोडफोडको प्रयास गरे ।

मुख्यमन्त्रीलाई कालो झण्डासमेत देखाए । चैत ८ मा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो ताप्लेजुङ पुगेको बेला हत्या गर्नेसम्मको धम्की आइरहेका छन् । स्थानीय तहमा तालाबन्दी गर्ने क्रम रोकिएको छैन । प्रदेश अशान्त हुन थालेसँगै नागरिक अगुवाले जनपेक्षा अनुसार अघि बढ्न नेतृत्वलाई सुझावसमेत दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *