प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा पक्राउ तीनै जना धरौटीमा रिहा
१४ चैत २०७९ काठमाडौं । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन जना धरौटी बुझाएर रिहा भएका छन् ।
चैत ७ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी एक कार्यक्रममा नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का पक्राउ परेका थिए ।
उनीहरुलाई अभद्र व्यवहार मुद्दामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चैत १२ गते ५ हजार धरौटी तोक्नुभएको थियो । धरौटी जम्मा गर्न नसकेपछि तीनै जनालाई केन्द्रीय कारागार चलान गरिएको थियो ।
आज धरौटी बुझाएपछि उनीहरुलाई रिहा गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ । उनीहरुलाई पक्राउ गर्दा प्रहरीले मुख थुनेको भिडियो सार्वजनिक भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।
प्रतिक्रिया