Main News

आवश्यक छ हिन्दू विश्वविद्यालय ? (भिडियो रिपोर्टसहित)

२०७९ चैत १२ गते २०:४३
आवश्यक छ हिन्दू विश्वविद्यालय ? (भिडियो रिपोर्टसहित)

१२ चैत २०७९ काठमाडौं । सशस्त्र द्वन्द्वका क्रममा संस्कृत अध्ययनमा नै रोक लगाइयो । धर्म निरपेक्षतालाई नै प्रमुख एजेन्डा बनाएका माओवादीका नेताहरू अहिले भने संस्कृत र हिन्दू विश्वविद्यालयप्रति चासो राख्न थालेका छन् ।

माओवादीबाट मन्त्री बन्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले त हिन्दू विश्वविद्यालय खोल्ने घोषणा नै गर्नुभएको छ । संस्कृतिको जगेर्ना गर्दै आएको नेपाल संस्कृत विश्वविद्यालय नाजुक अवस्थामा छ । त्यसलाई उकास्नु भन्दा नयाँ विश्वविद्यालय थपेर राज्यमाथि थप आर्थिक भार गर्ने सरकारले योजना बनाएको छ ।

नेपालमा हाल १४ वटा विश्वविद्यालय छन् । तर विद्यार्थीको आकर्षण खासै देखिदैन । विश्वका सय प्रभावकारी विश्वविद्यालयमा परेको त्रिभूवन विश्वविद्यालय र अन्तरगतका क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दो छ । दश वर्षअघिसम्म ६ लाखभन्दा बढी विद्यार्थी रहेको यो विश्वविद्यालयमा अहिले पुग न पुग ५ लाख छन् ।

ठूलो विश्वविद्यालयको हालत यस्तो रहँदा सरकार भने विश्वविद्यालय थप्ने होडमा छ । संस्कृत विश्वविद्यालय छदैछ । यहाँ विद्यार्थीको खासै उत्साह देखिदैन । उपत्यकामा नेवास् विश्वविद्यालय खोल्ने विषय सेलाउन नपाउँदै अहिले फेरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले हिन्दु विश्वविद्यालय स्थापना गर्ने घोषणा गर्नुभयो ।

मन्त्री किराती विश्वविद्यालय स्थापनाबाट विश्वभर कूटनीतिक बौद्धिक व्यक्तित्व उत्पादनका साथै सांस्कृतिक कूटनीतिको विकास हुने र यसले पर्यटनको विकास हुने विश्वास व्यक्त गर्नुहुन्छ । नेपालको सभ्यता, सम्पदा, संस्कृति र दर्शनलाई पाशुपत दर्शनभित्र समेटेर हिन्दू विश्वविद्यालय स्थापनाको तयारी थालिएको छ । तर विश्लेषक यस्तो कुरामा सहमत छैनन् । नेपालमा भएका विश्वविद्यालयलाई सवलीकरण गरिनुपर्ने र भएका विश्वविद्यालयको स्तरोन्तीमा ध्यान दिनुपर्नेमा भावनात्मक रिझाईं गर्न होडबाजी गरिरहेको बताउँछन् ।

फागुन १५ को मन्त्रीस्तरीय निर्णयबाट पशुपति क्षेत्र परिसरमा सो विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणा पत्र तयार गर्न संस्कृतिविद् जगमान गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त विश्वविद्यालय स्थापनाबाट नेपाली संस्कृति र दर्शनलाई नेपाली माटोको सुगन्धसहित अध्ययन, अध्यापन हुनुका साथै शैक्षिक, धार्मिक तथा सांस्कृतिक पर्यटकको प्रवद्र्धन हुने विश्वास लिइएको भए पनि विद्वानहरु– भन्छन् विश्वविद्यालय थप्नुपर्ने अवश्यकता छैन । हिन्दूत्वकै सवलिकरण खोजेको हो भने संस्कृती विश्वविद्यालयलाई किन सवलिकरण नगरेको उनिहरुको तर्क छ ।

अन्तर्राष्ट्रिय गतिलाई समात्न नसकेका हाम्रा विश्वविद्यालय र यिनीहरूले सञ्चालन गरेका कार्यक्रमहरूको व्यवस्थापनका लागि पहल छैन, न त भएका विश्वविद्यालयलाई सुदृढ गर्नेप्रति नै सरोकारवालहरुको चासो तर विश्वविद्यालय थप्ने होड प्रवृति बन्दै गइरहेको विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *