आर्थिक

पर्याप्त उत्पादन हुने भनिएका वस्तुमासमेत आत्मनिर्भर छैन देश (भिडियो रिपोर्टसहित)

२०७९ चैत १२ गते २०:३९
पर्याप्त उत्पादन हुने भनिएका वस्तुमासमेत आत्मनिर्भर छैन देश (भिडियो रिपोर्टसहित)

१२ चैत २०७९ काठमाडौं । आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई हरेक सरकारले प्राथमिकताका साथ उठान गर्ने गर्छन । तर वैदेशिक व्यापारघाटाको आकार भने हरेक वर्ष बढ्दै गइरहेको छ ।

नेपालमै उत्पादन गरी आत्मनिर्भर बन्न सक्ने बस्तु पनि अर्बौं रुपैयाँको आयात हुँदै आएको छ । आत्मनिर्भर घोषणा गरिएका बस्तुमा पनि पूर्ण आत्मनिर्भर हुन सकिएको छैन् । केके छन् त नेपालले आत्मनिर्भर भई निर्यात गर्न सक्ने बस्तुहरु ?

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ चैत १२ गते दूध, कुखुराको मासु, अण्डा र बंगुरको मासुमा आत्मनिर्भर घोषणा गर्नुभयो । अन्डा र कुखुराको मासुमा मुलुक २० वर्षयता पूर्ण रुपले आत्मनिर्भर हुँदै आएको छ । तर खसीको मासुमा भने अझै ५० प्रतिशत आयातमा निर्भर रहेको छ । कुखुराको मासुमा आत्मनिर्भर भए पनि अवैध आयात भने रोकिएको छैन् ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ८ महिनामा १ करोड १४ लाख रुपैयाँ बराबरको मासु र मासुजन्य बस्तु आयात भएको छ । यस्तै १ अर्ब ६५ करोडभन्दा बढीको दुग्धजन्य उत्पादन, अन्डा र मह आयात भएको देखिन्छ ।

दूधमा सरकारले आत्मनिर्भर घोषणा गरे पनि सरकारी दूग्ध विकास संस्थालाई नै दैनिक २० हजार लिटर दूधको अभाव रहेको छ । नेपालको वैदेशिक व्यापार घाटाको अवस्था निकै डर लाग्दो छ । चालू आर्थिक वर्षको ८ महिनामै १० खर्ब ५८ अर्ब रुपैयाँ बराबरको बस्तु आयात गर्दा निर्यात भने १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको मात्र गरेको छ ।

गत आर्थिक वर्ष १७ खर्ब २० अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । उच्च आयात र न्यून निर्यातकै कारण व्यापार घाटाले सरकारको बार्षिक बजेटलाई पनि उछिनी सकेको छ । नेपालमै उत्पादन गरी आत्मनिर्भर हुन सक्ने बस्तु समेत आयात गर्दा यो अवस्था आएको हो ।

उद्योग विभागले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार चिया, पेन्ट्स, केबल तार, जुत्ता चप्पल, जस्तापाता, गार्मेन्ट र टेक्सटायल, औषधि, प्लाष्टिक उत्पादनमा नेपाल आत्मनिर्भरसँगै उच्च निर्यात सम्भावन रहेको छ । यस्तै कृषि उत्पादनका लागि आवश्यक मालखाद, सिचाई र प्रविधिको उचित व्यवस्थापन गर्ने हो भने कृषि उत्पादन मकै, धान चामलसहित हरियो तरकारीमा पनि छिट्टै आत्मनिर्भर बन्ने सकिन्छ ।

अहिले नै किसानको उत्पादनले कृषि उपजले बजार पाउन सकेको छैन् । अर्कोतर्फ बार्षिक ३ खर्बभन्दा बढीको कृषिजन्यवस्तुको आयात गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *