राजनीति

मन्त्रिपरिषद् विस्तार, कांग्रेसभित्रको द्वन्द्वले मन्त्रालय भागवण्डाको सकस (भिडियो रिपोर्टसहित)

को–को छन् मन्त्रीका आकांक्षी ?

हिमालय टिभी
२०७९ चैत १० गते २१:१९
मन्त्रिपरिषद् विस्तार, कांग्रेसभित्रको द्वन्द्वले मन्त्रालय भागवण्डाको सकस (भिडियो रिपोर्टसहित)

१० चैत २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् विस्तारको चाहनामा हुनुहुन्छ । १६ मन्त्रालयको भारी बोकेका प्रधानमन्त्री प्रचण्ड सत्तासाझेदारहरलाई साथमा लिएर अघि बढ्न मन्त्रिपरिषद् विस्तारको तयारीमा हुनुहुन्छ । तर, सत्ता घटक दलभित्रै किचलो देखिएको छ ।

प्रमुख घटक कांग्रेसमा पार्टीकातर्फबाट सरकारको नेतृत्व कसले गर्नेभन्ने विवाद छ । भागवण्डाको राजनीतिलाई निरन्तरता दिएको कांग्रेसभित्र गुटउपगुटले आफ्नो भाग खोजेका छन् । जसले गर्दा कांग्रेसमा विवाद चुलिएको हो ।

नेपाली कांग्रेसले औपचारिक रुपमा नै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । तर, पार्टीबाट सरकारमा कसलाई पठाउने भन्ने विषयमा निर्णय लिन भने कांग्रेसमा सकस देखिएको छ ।

संस्थापन समूहमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जानुपर्ने लबिङमा एउटा पक्ष छ भने अर्को पक्ष प्रकाशमान सिंहको नेतृत्वमा जानुपर्ने लबिङमा छ । उपसभापति खड्काले मन्त्री नबन्ने भनेर अभिव्यक्ति दिएकाले अर्को विकल्प खोज्नुपर्ने कतिपयको तर्क छ । संस्थापनमा खड्कालाई प्रतिष्पर्धी ठान्ने प्रकाशशरण महत लगायतका नेताहरु अहिले खड्कालाई रोकेर प्रकाशमान सिंहलाई नै नेतृत्वमा पठाउनुपर्ने लविङमा छन् । तर, खड्का आफू नेतृत्वमा जाने अवस्था आए मन्त्री बन्नै महतलाई रोक्ने प्रयासमा देखिन्छन् ।

खड्का र महतको आ–आफ्नो दाउका कारण संस्थापनसमूहभित्रै मन्त्री चयनको विषय पेचिलो बनेको छ । तर, यो समूहका नेताहरु अहिले मन्त्री चयनका विषयमा प्रतिक्रिया दिन तयार देखिँदैनन् । उसो त अहिले कांग्रेसको भागमा यसअघि एमालेले छाडेका ८ मन्त्रालय पर्ने देखिन्छ । त्यसो हुँदा संस्थापनसमूहबाटै मन्त्री हुन चाहनेको लिष्ट लामै छ ।

संस्थापन र संस्थापन इतर समूहले मन्त्रीका लागि औपचारिक अनौपचारिक छलफल भने गरिररहेका छन् । संस्थापनइतर समूहले त मन्त्री छान्ने जिम्मा नेता शेखर कोइरालालाई दिइसकेको छ । अब मन्त्री पठाउने विषयमा धेरै विलम्ब नहुने कांग्रेस नेताहरु बताउँछन् ।

को–को छन् मन्त्रीका आकांक्षी ?
संस्थापन समूहबाट नेतृत्वका लागि खडका र सिंह आकांक्षी रहेका छन् । सिंह सरकारमा नगएर खड्काको नेतृत्वमा जाने अवस्था आउँदा सिंह पक्षबाट एक जना मन्त्री बन्ने छन् । अहिले संस्थापनसमूहबाट प्रकाशशरण महत, एनपी साउद, किशोर सिंह राठोर, सीता गुरुङको नाम चर्चामा छ । त्यस्तै, संस्थापनइतर समूहबाट धनराज गुरुङ, डिगबहादुर लिम्बु, जीवन परियार, बद्री पाण्डे र सुनिल शर्मा मन्त्रीको दौडमा छन् ।

त्यस्तै, नेता सिंह सरकारमा नगएको अवस्थामा राजन केसी मन्त्री बन्न सक्ने चर्चा कांग्रेसवृत्तमा छ । नेता शशांक कोइराला पक्षबाट दीपक खड्काको नाम पनि चर्चामा छ । यसअघि कांग्रेसले सरकारमा मन्त्री पठाउँदा नेता सिंह र शशांकलाई समेत १(१ मन्त्री दिँदै आएका छन् । कांग्रेसले ८ मन्त्री पाउँदा संस्थापन समूहबाट ४, शेखर समूहबाट २ र सि‌ह र शशांक पक्षबाट १,१ मन्त्री बनाउने गृहकार्यमा सभापति शेरबहादुर देउवा देखिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्