Main News

चितवन- २ मा सांसद लड्न टिकटको लबिङ सुरु (भिडियो रिपोर्टसहित)

२०७९ चैत ५ गते २१:०९
चितवन- २ मा सांसद लड्न टिकटको लबिङ सुरु (भिडियो रिपोर्टसहित)

५ चैत २०७९ चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंसिर ४ मा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा पदमुक्त भएपछि रिक्त निर्वाचन क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

चैत २० गते उपनिर्वाचनको उम्मेदवारी दर्ता तोकिएको छ । रास्वपाबाट निर्विकल्प उम्मेदवार लामिछाने चुनावको तयारीमा लागि सक्दा अन्य दलका आकांक्षीले टिकटको लागि पार्टीभित्र लविङ थालेका छन् ।

माघ १३ मा सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै रवि लामिछानेको सांसद पद खारेज गरिदियो ।

मंसिर ४ को निर्वाचनमा ४९ हजार २ सय ६४ मत ल्याएर विजयी हुनुभएका लामिछानेको पद खारेज भएसँगै वैशाख १० मा हुने उपनिर्वाचनका लागि तयारी स्वरूप रामनगरमा सम्पर्क कार्यालय स्थापना गरिएको छ। अहिले अन्य दल पनि चुनावमा लामिछानेविरुद्ध उत्रने भन्दै टिकटका लागि लबिङ गरिरहेका छन् । लामिछानेसँग पराजित कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेलले चुनाव नलड्ने पार्टी नेतृत्वलाई जानकारी गराइसकेका छन् । त्यबाहेक अहिले कांग्रेसबाट जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठको नाम चर्चामा छ ।

यता एमालेबाट जिल्ला पार्टी अध्यक्ष रामप्रसाद न्यौपाने, पोल्ट्रीविज्ञ डा।तिलचन्द्र भट्टराई, कालिका नगरपालिकाका निवर्तमान नगर प्रमुख गोपी श्रेष्ठमध्ये एकजना उम्मेदवार बन्न तीव्र लबिङमा लागेका छन् । अहिलेसम्म न्यौपानेले मात्रै खुलेर प्रतिस्पर्धा गर्न तयार रहेको चर्चा छ । यद्यपी केन्द्रीय कमिटिले निर्णय गर्ने भएकाले नेकपा एमाले चितवन पर्ख र हेरको अवस्थामा छ ।

क्षेत्र नम्बर २ बाट लामिछाने निर्विकल्प उम्मेदवार बनिरहँदा अन्य उम्मेदवारको तय चैत १९ अघि हुने सम्भावना छैन । तत्कालीन गठबन्धनकै उम्मेदवारलाई हराएर संसदको यात्रा तय गरेका लामिछानेविरुद्ध उम्मेदवार उठाउन गठबन्धन पनि खास तयार देखिँदैन।

राष्ट्रपति निर्वाचनमा गठबन्धनकै उम्मेदवारलाई मत दिएका कारण लामिछानेका लागि बाटो खुला हुन पनि सक्छ । एमाले महासचिव शंकर पोखरेलले गठबन्धन भइरहँदा लामिछानेलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । तर नागरिकता र राहदानी विवाद, सांसद भए लगत्तै सरकारमा सहभागी भएको विषयले विजयी हुने पक्का भएपनि मत घट्ने अनुमान लगाउन थालिएको छ ।

राष्ट्रिय जनमोर्चाले भने पार्टी उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको छ । चितवन २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन् ।

यो क्षेत्रमा २०७० र २०७४ सालको निर्वाचनमा एमालेका पोखरेल निर्वाचित हुनुभएको थियो । लामिछानेको लोकप्रियताकै कारण २०७९ को निर्वाचनको प्रत्यक्षतर्फ मात्रै होइन समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बनेको थियो । समानुपातिकमा रास्वपाले ३५ हजार ९४५ मतलाई हेर्दा गठबन्धन दलभन्दा रास्वपा एक्लै अगाडि देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *