Main News

रामसहाय उपराष्ट्रपति भएपछि बयलबजारमा बहार(भिडियो रिपोर्टसहित)

२०७९ चैत ४ गते २१:००
रामसहाय उपराष्ट्रपति भएपछि बयलबजारमा बहार(भिडियो रिपोर्टसहित)

४ चैत २०७९ बारा । बाराको क्षेत्र नम्बर २ बाट शिक्षक पृष्ठभूमि हुँदै राजनीतिमा प्रवेश गर्नुभएका रामसहाय प्रसाद यादवको भद्र, सादगी र इमान्दार छविलाई बारावासीले सधैँ सम्झन्छन् ।

अब भने बाराका बासिन्दाले सांसद या नेताका रूपमा नभई यादवलाई मुलुककै उपराष्ट्रपतिका रूपमा देख्न पाएका छन् । बाराबाटै चुनाव जितेर संसदमा पुग्नुभएका यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि स्थानीयमा खुसीयाली छाएको छ ।

ढोकामा चामलको बोरा टाँसिएको छ । झट्ट हेर्दा गोठ जस्तै देखिन्छ । तर, यही हो, नवनिर्वाचित उपराष्ट्रपति रासमहायप्रसाद यादवको घर ।

बाराको कलैया उपमहानगरपालिका–५ बयलबजारमा रहेको यही घरमा यादवको पाँच जना परिवार बस्दै आएको छ । उहाँकी श्रीमती चम्पादेवी यादव बिहीबारसम्म यही घरको चुल्हो चौकोमा ब्यस्त हुनुहुन्थ्यो । शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यादव पत्नी काठमाडौँ पुग्नुभएको छ । तर घर भने सुनसान छ ।

घरमा चहलपहल नभएपनि सिंगो गाउँ नै अहिले यादव उपराष्ट्रपति भएकोमा खुसी छन् । उपराष्ट्रपति यादवले देश र जनताको हितका पक्षमा काम गर्ने बयलवासीले विश्वास गरेका छन् । आफनै गाउँको सुख–दुःखमा भिजेका व्यक्ति उपराष्ट्रपति भएपछि गाउँको मुहार फेर्ने उनीहरूको विश्वास छ ।

वन तथा वातावरणमन्त्री भइसकेपछि पनि यादव यही घरमा बस्नुहुन्थ्यो । शिक्षण पेसा छाडेर राजनीतिमा लागेका यादव छाप्रोमै बस्दा पहिलो संविधानसभाताका २०६४ मा तत्कालीन मधेसी जनाधिकार फोरमबाट सभासद बन्नुभएको थियो ।

त्यसपछि २०७४ सालमा पनि उहाँ बारा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभयो । २०४८ सालमा शिक्षण पेसामा प्रवेश हुनुभएका यादवले घर छेउमै रहेको पन्नादेवी माविमा गणित र विज्ञान विषय पढाउनुभएको थियो । आफ्नो छिमेकी उपराष्ट्रपति भएको भन्दै यहाँका बासिन्दा गर्वको महसुस गरिरहेका छन् ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपनि घर भने बारा निर्वाचन क्षेत्र नं ३ मा पर्दछ । घरमा ताला लागेको छ भने सबै काठमाडौँ पुग्दा अबको पाँच वर्षमा नागरिकले अपेक्षा गरेको जस्तो विकास यो क्षेत्रमा हुन्छ वा पाँच वर्षमा यो छाप्रो महलमा परिणत हुन्छ परीक्षा सुरु भएको कतिपयको प्रतिक्रिया छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *