Main News

पत्रकार सम्मेलनमै किन रोए पूर्वमन्त्री न्यौपाने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ३० गते १७:३७
पत्रकार सम्मेलनमै किन रोए पूर्वमन्त्री न्यौपाने ? (भिडियो रिपोर्टसहित)

३० फागुन २०७९ काठमाडौं । पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही रहेको आरोप लगाउनुभएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्वमन्त्री न्यौपानेले यस्तो बताउनुभएको हो । भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट ९ वर्ष ६ महिना कैद सजाय सुनाइएका पूर्वमन्त्री न्यौपानेले आफ्नो राजनीति सिध्याउन वाह्य र भित्रि शक्ति मिलेर पूर्वाग्रही फैसला गरिएको बताउनुभयो । पत्रकार सम्मेलनमा पूर्वमन्त्री आँशु झारेर रुनु भएको थियो ।

उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएका कारण एकै व्यक्तिलाई ३ वटा सजायसँगै बिगो २० करोड जरिबाना ९ वर्ष ६ महिना कैदसहित पूर्वाग्राही ढंगले विशेष अदालतले निर्णय गरेको बताउनु भयो ।

उहाँले समाज कल्याण परिषद्ले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको भएपनि आफूले फुल बोर्डको बैठक राखेको र मन्त्रिपरिषदमासमेत प्रस्ताव लगेको दाबी गर्नुभयो । पूर्वमन्त्री न्यौपानेले भाडामा लगाउने निर्णय गर्ने प्रक्रियामा सहभागी ५ जना उपसचिवलाई सफाइ दिएको तर आफूलाई ९ वर्ष ६ महिना कैदको फैसला गर्नु पूर्ण रुपमा पूर्वाग्रही भएको जिकिर गर्नुभयो ।

पूर्वमन्त्री न्यौपानेले आफ्नो देशभर कतै जग्गा नरहेको र बैंक ब्यालेन्स पनि नरहेकाले आफूले अदालतको जरिबाना तिर्न नसक्ने बताउनु भयो । उहाँले आफूमाथि लागेका तीन सजाय निराधार र तथ्यहीनताका साथ लगाइएको बताउनु भयो ।

पूर्वमन्त्री न्यौपानेले कार्यसमितिसहितको निर्णयबाट भाडामा लगाउँदा परिषदलाई नोक्शानी र आफूलाई फाइदा हुनसक्ने अवस्था कतैबाट पनि विशेष अदालतले पुष्टि गर्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *