राजनीति

स्ववियु निर्वाचन : कहाँ कसको गठबन्धन ? (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २७ गते २०:४१
स्ववियु निर्वाचन : कहाँ कसको गठबन्धन ? (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७९ काठमाडौं । चैत ५ गते त्रिभुवन विश्व विद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विध्यार्थी युनियन स्ववियुको निर्वाचन हुँदैछ । प्रत्येक दुई वर्षमा हुनुपर्ने चुनाव १४ वर्षपछि हुन लागेको हो ।

तर यतिका वर्ष पछि हुन लागेको निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा विद्यार्थी संगठन पनि केन्द्रीय राजनीतिमा जस्तै गठबन्धनको अभ्यासमा लागेका छन् । उपत्यकाका क्याम्पसमा सत्ता गठबन्धनकै वर्चश्व छ भने उपत्यका बाहिर प्रदेश अनुरुपको गठबन्धन बनेका छन् ।

चैतको ५ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन हुँदै छ । तर स्ववियुको स्वतन्त्रता यतिबेला धरापमा छ । कारण हो, विद्यार्थी राजनीतिमा पसेको मुलधार राजनीतिको प्रत्यक्ष–अप्रत्यक्ष दवाव र प्रभाव । त्यसो त नेपालमा विद्यार्थी सङ्गठनहरूको स्थापना अहिलेका राजनीतिक पार्टीहरूभन्दा पहिलै भएको हो ।

तत्कालीन राजाको राजनीति प्रतिबन्ध विरुद्ध विद्यार्थी आवाजलाई सशक्त बनाउन विक्रम संवत् २०१८ मा नेपालमा पहिलो पटक विद्यार्थीहरूको साझा संस्था स्ववियुको स्थापना भयो । त्यसयता मुलुकको व्यवस्था परिवर्तनमा मुख्य भूमिका खेल्दै २०३६ सालमा जनमत सङ्ग्रह गर्न, २०४६ सालमा बहुदलीय व्यवस्था ल्याउन, २०६२–६३ सालको जनआन्दोलन सफल बनाउन विद्यार्थी आन्दोलनले नेतृत्वदायी भूमिका खेलेको थियो ।

तर अहिले तिनै संघसंगठन मुलधार राजनीतिमा देखिएको गठबन्धनको गिजलोमा फसेका छन् । कृपाकै भरमा मुलधार राजनीतिमा उदाउने चाहना राख्ने प्रवित्तिले विद्यार्थी राजनीतिको मोडालिटनै चाप्लुसिमा केन्द्रीत छ । यसैको प्रत्यक्ष प्रभाव स्ववियु निर्वाचन देखिएको छ ।

स्ववियु निर्वाचनमा कहाँ कसको गठबन्धन ?
– त्रिभुवन विश्वविद्यालयमा एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियुको गठबन्धन, नेविसंघ र अखिल क्रान्तिकारी स्वच्छ प्रतिस्पर्धामा ।

–उपत्यकाका अन्य क्याम्पसहरुमा– नेविसंघ, अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियुको गठबन्धन ।

–कास्कीको पृथ्वीनारायण क्याम्पसमा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच समीकरण ।

–गुल्मीमा स्ववियु निर्वाचनका लागि एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु क्रान्तिकारीबीच गठबन्धन ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत क्याम्पसमा चैत ८ गते हुने स्ववियु निर्वाचनमा पनि गठबन्धनकै लहर छ । जसमा नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच सहकार्य हुने भएको छ भने नेकपा एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियूबीच सहकार्य हुने भएको छ ।

पाथिभारा बहुमुखी क्याम्पस ताप्लेजुडमा संयुक्त लोकतान्त्रिक बाम प्रगतिशील गठबन्धन बनेकोछ जसमा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु एस निकट र संघीय विद्यार्थी यूनियनले गठबन्धन गरेका छन् । सिन्धुपाल्चोकको १२ क्याम्पसमा अनेरास्ववियु एमाले निकट र अखिल क्रान्तिकारीबीच सहकार्य हुँदैछ ।

समग्रमा हेर्ने हो भने उपत्यकाकामा मात्र हैन देशैभर नै केन्द्रीय राजनीतिको प्रभाव देखिएको छ । आम विद्यार्थीको हक हित र अधिकारका लागि आवाज उठाएर लोकप्रियता प्राप्ति गर्ने थलोका रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियन पछिल्लो समय राजनीतिको अखडा बनेको छ । आफ्ना संरक्षक रहेका मुलधार पार्टीको राजनीतिक लगाव र गठबन्धनकै सिको विद्यार्थी संगठनहरु नेताका लोकप्रिय हुने होडमा छन् ।

त्रिभुवन विश्वविद्यालयका ६२ आंगीक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुन लागेको निर्वाचनमा केन्द्रीय राजनीतिको बाछिटा प्रष्ट देखिएको छ । स्ववियु विद्यार्थीको हक अधिकार संरक्षण र सम्वर्द्धन गर्ने स्वतन्त्र निकाय हो । तर पञ्चायत कालमा समेत स्वतन्त्र रहेको स्ववियु आजको राजनीतिक परिवेशमा दलको घेरामा पुग्नु लज्जाको विषय बनेको छ । स्वतन्त्र विद्यार्थी युनियन कहिले स्वतन्त्र हुने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्