Main News

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी दर्ता

हिमालय टिभी
२०७९ फागुन २७ गते १४:१६
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी दर्ता

२७ फागुन २०७९ काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनबाट ३ र एमालेबाट एक जनाको उम्मेदवारी परेको छ ।

जनता समाजवादी पार्टी जसपाबाट संसदीय दलका नेता राम सहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झा र नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्ले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवारी दर्तापछि उपराष्ट्रपतिका उम्मेदवारहरुले दलभन्दा माथि उठेर संविधानको रक्षा र पालनाका लागि काम गर्ने बताएका छन ।

सत्तारुढ गठबन्धनले उपराष्ट्रपतिको साझा उम्मेदवार तय गर्न नसकेपछि तीन जनालाई उम्मेदवार बनाएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान बसेको सत्तारुढ १० दलको बैठकमा जनमत पार्टीले पनि दाबी नछाडेकाले उपराष्ट्रपतिको साझा उम्मेदवार तय हुन सकेन ।

बैठकमा जनता समाजवादी पार्टी जसपाले उपपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने सहमति भएको छ । जसपाबाट पुरुषमा यादव र महिलामा प्रमिलाको उम्मेदवारी दर्ता भएको हो । जनमत पार्टीका ममता झाको पनि उम्मेदवारी परेको छ ।

सत्तारुढ चार दल कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच उपराष्ट्रपति जसपाले लिने सहमति भएको थियो । त्यसअनुसार संसदीय दलका नेता रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय पनि जसपाले गरेको थियो । तर निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने बताएको छ । यसअनुसार खसआर्य बाहेकका समुदायका पुरुष पनि उम्मेदवार हुन सक्ने सत्तारुढ नेताहरुको तर्क थियो । तर निर्वाचन आयोगले संविधानको धारा ३८ को उपधारा ४ पनि उल्लेख गरेको छ, जसमा राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ ।

यसले जसपा अफ्ठ्यारोमा पर्‍यो । त्यसैले जसपाबाट महिला र पुरुष दुवै उम्मेदवार बनाउने निर्णय लियो । आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार यादवको उम्मेदवारी रद्ध गरेमा प्रमिलाको नाममा सहमति जुटाउने प्रयासमा हुनेछ । आज उम्मेदवारउपर उजुरी लिने र भोलि अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको तयारी छ । उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *