राजनीति

रास्वपाको शक्ति मोह किन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २५ गते २०:५०
रास्वपाको शक्ति मोह किन ? (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७९ काठमाडौं । राष्ट्रपति पदमा अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ८ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई नै मत दियो ।

सबैजसो दल राष्ट्रपति पदमा कुन ध्रुव समात्ने भन्ने निश्कर्षमा पुगिसक्दासम्म छलफल समेत नचलाएको रास्वपाले अन्तिम समयमा रामचन्द्र पौडेलको पक्षमा उभिने निश्कर्ष निकालेको हो । पौडेललाई मत हाल्न कसरी तयार भयो रास्वपा ?

रास्वपा राजनीति सिक्दैछ । तर उसको सिकाई अरु पार्टीको जस्तो चानचुने नभई सत्ता र शक्तिको सामिप्यमा रहिरनेतर्फ केन्द्रित छ ।
मंसिर ४ गतेको निर्वाचन परिणाम आउँदै गर्दा तत्कालीन गठबन्धनकै सरकार बन्ने हल्ला चलिरहेको थियो । यही हल्लाभित्र उक्त गठबन्धनमा रास्वपा पनि मिसिने चर्चा थियो ।

कांग्रेस नेतृत्वको त्यो गठबन्धनले नयाँ प्रधानमन्त्री टुंगो लगाउन नसक्दा पुस १० गते बालकोटमा अचानक नयाँ गठबन्धन बन्यो र यो गठबन्धनको महत्वपूर्ण टेको बन्यो रास्वपा । पहिलो चुनावी प्रयासमै अत्यधिक विश्वास र भरोसा बटुल्न सफल भएको यो पार्टीको कुनै विचार, दृष्टिकोण वा सिद्धान्तका आधारमा नभई जसरी पनि शासन गर्ने ठाउँमा पुग्ने र त्यसमा पनि महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने चेस्टा पुरा भयो ।

प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया चल्दै गर्दा नागरिकतासम्बन्धी उजुरी परेपछि विवादमा तानिएका सभापति रवि लामिछाने आफैले गृह मन्त्रालयको नेतृत्व सम्हाल्न पुग्नुभयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने एमाले नेतृत्वको गठबन्धनमा आफ्नो संख्या निर्णायक हुने भएपछि लामिछानेले रोजेकै र मन्त्रालय पाउन सफल हुनुभयो । प्रकारान्तरले यो गठबन्धनमा रास्वपा पछि राप्रपा र त्यसपछि अनेक दल जोडिँदै गए ।

लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चको फैसला आउँदासम्म गठबन्धन बलियो बनिसकेको थियो भने प्रधानमन्त्री पदमा प्रचण्डले झण्डै शतप्रतिशत विश्वासको मत पाइसक्नु भएको थियो । सरकारलाई प्राप्त अभूतपूर्व विश्वासको मतले सरकारमा रास्वपाको संख्याको अवमूल्यन हुँदै गयो । अर्थात् रास्वपाले छोड्दा पनि सरकार डगमगाएन । बरु लामिछानेलाई सरकारमा पुनः समेट्न एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको तारन्तार दबाबको नतिजा प्रचण्डले ओलीकै साथ छोड्नुभयो ।

राष्ट्रपति पदमा उम्मेदवारी मनोनयन हुँदाको दिन आईपुग्दा रास्वपाको ब्याकफोर्सका रुपमा रहेका ओली एक्लिनुभयो । ओलीको घट्दो शक्तिका कारण रास्वपा यतिबेला एमालेले उठाएको उम्मेदवारलाई भोट दिन तयार भएन, बरु प्रचण्डकै सक्रियतामा निर्मित नयाँ शक्ति केन्द्रको आडमा आइपुगेको छ ।

नयाँ पार्टी भएकाले रास्वपाले गर्ने कतिपय निर्णय केही फरक वा कच्चा लाग्नु स्वभाविक हुन सक्छ । तर विपक्षमा बसेर सरकारका कामको खबरदारी गर्ने चौतर्फी सुझाव र शुभेच्छाका गुच्छाहरु पाइरहेको यो पार्टी नयाँ भएकै कारण राजनीति सिकिरहेको र त्यसैकारण शक्ति केन्द्रकै शीतल खोजिरहेको भन्ने कुरा अस्वभाविक देखिएको छ ।

बरु पार्टीले खास संगठनको स्वरुप धारण गरिनसकेको र सांसदहरुलाई फकाईराख्न, शक्तिमै भइरहने रणनीतिमा रास्वपा देखिएको छ ।आश गरिएको नयाँ पार्टीले सत्ताप्रति देखाएको आशक्तिले मतदाताहरुलाई कस्तो महसुस गराएको छ कुन्नि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्