Main News

राष्ट्रपतिको निर्वाचनपछि कांग्रेस–एमाले सहकार्य सम्भव छ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २३ गते २१:४५
राष्ट्रपतिको निर्वाचनपछि कांग्रेस–एमाले सहकार्य सम्भव छ?(भिडियो रिपोर्टसहित)

२३ फागुन २०७९ काठमाडौं । राष्ट्रपति निर्वाचनको सरगर्मी बढिरहँदा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यको चर्चा शुरु भएको छ। एमाले र कांग्रेस नेताहरुबीच अनौपचारिक छलफल बाक्लिएसँगै यस्तो चर्चा शुरु भएको हो ।

अहिले कांग्रेस एमालेसँग सहकार्य गरिहाल्ने पक्षमा खुल्न सकेको छैन । उ राष्ट्रपतिको निर्वाचनमै केन्द्रित बनेको छ । तर, माओवादी केन्द्रसँग धोका पाएको एमाले कांग्रेसलाई नै सरकारको जिम्मा लगाएरै भएपनि माओवादीलाई बाहिर पठाउन चाहन्छ ।

कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन तोड्न एमाले लागि परेको छ । राष्ट्रपति निर्वाचन नजिकिदै जाँदा एमाले नयाँ पासा फाल्न तत्पर देखिन्छ । केहीदिनदेखि एमालेका दोस्रो तहका नेता कांग्रेसका दोस्रो तहका नेतासँग सम्बादमा छन् ।

केही दिनअघि मात्र एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता विष्णु रिमालसहितले कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहित महामन्त्री, प्रवक्ता लगायतका नेतासँग अनौपचारिक संवाद गरेको कांग्रेस नेताहरुले नै स्वीकार गरेका छन् ।

एमाले नेताहरु प्रस्ताव राखेको घुमाउरो पारामा स्वीकार गरेपनि अहिले नै कांग्रेस तयार नरहेको सन्देश पाएको बताउँछन् । बिहीबार हुने राष्ट्रपतिको निर्वाचनमा मत प्रभावित हुन सक्ने भएकाले कांग्रेस तत्काल माओवादीलाई विच्काइहाल्ने पक्षमा छैन ।

फागुन २२ गते
एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेट

फकाउनका लागि एमालेबाट राष्ट्रपति उम्मेदवार बनेका सुवास नेम्वाङ कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न देउवा निवास धुम्वाराही नै पुग्नुभयो । भन्न त त्यो भेट भोट माग्न नै केन्द्रित रहेको बताइएपनि नेम्वाङले दुई दलीय समीकरणको प्रस्ताव गरेको बताइन्छ ।

सबै दललाई मतका लागि पत्र पठाएको एमालेले कांग्रेसलाई पत्र पठाएको थिएन । तर, भोट माग्न किन गयो त रु यसमा कतै न कतै नयाँ समीकरणको प्रस्तावका रुपमा हेरिएको छ । यसले राष्ट्रपतिमा प्रतिस्पर्धामा रहेपनि एमाले कांग्रेससँग सम्बन्ध सुधार्न मात्र होइन सहकार्यकै लागि तयार रहेको संकेतका रुपमा अथ्र्याइएको छ । जसलाई एमालेकै नेता पनि अस्वीकार गर्दैनन् ।

एमाले आफुसँग गठबन्धन तोडेको माओवादी केन्द्रसँग रुष्ट छ । राष्ट्रपतिमा आफ्नो उम्मेदवार कमजोर देखिँदा एमाले कांग्रेससँग सहकार्यका लागि लचक देखिँदा कांग्रेस अहिले माओवादीसँगको बलियो सहकार्यमा छ ।
एमालेले राष्ट्रपतिमा माधव नेपाललाई फ्याँकेको कार्ड अहिले कांग्रेसलाई फ्याक्न सक्छ । माओवादीलाई देखाइदिने रणनीतिमा रहेको एमाले राष्ट्रपति कांग्रेसलाई छाड्ने र प्रधानमन्त्रीमा देउवालाई समर्थन दिने तहसम्म पुगे अस्वभाविक नहुने सम्मका चर्चा चलेका छन् । यसबारे कांग्रेस भने धेरै खुल्न चाहेको छैन ।

अर्कोतिर कांग्रेसभित्र फरक गुटको नेतृत्व गरिरहेका शेखर कोइरालालाई नागरिक समाजका अगुवा कनकमणि दिक्षित र एमाले निकट मानिने सुशील प्याकुरेलले सुवास नेम्वाङलाई राष्ट्रपतिमा समर्थन गर्न आग्रह गर्नुभएको थियो भने प्रधानमन्त्री कांग्रेसले लिने गरी वातावरण बनाउन जोड दिएका थिए । माओवादीलाई बाहिर राख्नेगरी यो प्रयास कतै न कतै बाह्य खेलका रुपमा हेरिएको छ । दीक्षित र प्याकुरेललाई पश्चिमा शक्ति निकट मानिन्छ ।

नेपालमा लागि भारतका पूर्व राजदूत रञ्जीत रेले एउटा आलेखमा राष्ट्रपति निर्वाचनपछि दोस्रो संविधानसभापछिजस्तै दुई ठुला दल कांग्रेस एमाले एकठाउँमा हुनसक्ने उल्लेख गर्नुभयो ।

यता एमाले नेताहरुले त्यस्तो बताइरहँदा रेको अभिवयीक्तले कांग्रेस एमाले सहकार्यको चर्चालाई बल पुर्‍याएको छ । उसो त सत्तासमीकरण जुनसुकै बेला अदली बदली हुनसक्ने नेपालमा एमालेले भलाएको सहकार्यको चर्चा साँच्चै हो वा राष्ट्रपति निर्वाचनमा कांग्रेससँग माओवादीलाई अविश्वास बढाउन फ्याँकिएको तुरुप मात्रै ? फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि थाहा हुनेनैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *