Main News

सरकारले चीनविरुद्ध गद्धारी गरेको एमाले अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २० गते १८:३१
सरकारले चीनविरुद्ध गद्धारी गरेको एमाले अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)

२० फागुन २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा विश्वविद्यालय बनाउने भारतको प्रस्तावमा सकारात्मक बनेर वर्तमान सरकार चीन विरुद्धको क्रियाकलापमा लागेको आरोप लगाउनुभएको छ ।

एमाले निकट स्थानीय तह कर्मचारी संघले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावमा प्रचण्ड नेतृत्वको सरकार सकारात्मक रहेको भन्दै यो चीनविरुद्धको गद्दारी भएको उल्लेख गर्नुभयो ।

उहाँले मुस्ताङको फल्याक क्षेत्रमा विश्वविद्यालय बनाउँदा निहित स्वार्थ भएका व्यक्ति बाहेक नेपालीलाई फाइदा नहुने टिप्पणी गर्नुभयो ।

मुस्ताङ बौद्ध कलेज बनाउन भारतले ७० करोड ३३ लाख रुपैयाँ अनुदान दिने प्रस्ताव गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले भने बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाले प्रस्ताव गरेकाले यो परियोजना अघि बढाउन खोजिएको बताएको छ । दूतावासले अर्थमन्त्रालयलाई समेत पत्राचार गरिसकेको छ ।

यो प्रस्तावमा सहमति बने परियोजनामा हस्ताक्षर गर्ने भारतको तयारी छ । भारतले प्रस्ताव गरेको कलेज रहने यो क्षेत्र २०२८ सालमा चीनविरुद्ध तिब्बती खम्पाहरुको सशस्त्र आन्दोलनको स्थल थियो ।

खम्पा विद्रोह नियन्त्रणका लागि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नम्बर ३ र ५, लोमन्थाङ गाउँपालिकाको वडा नम्बर १ र ५ तथा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नम्बर १ र ५ अहिले पनि विदेशीकालागि निषेधित क्षेत्रमा पर्छन् ।

ती क्षेत्रमा ट्रेकिङमा जान विदेशीले छुट्टै स्वीकृति लिनुपर्छ र नेपाली गाइडका साथमा मात्र जान पाउँछन् । भारतले यही क्षेत्रलाई चुनेर प्रस्ताव पठाउँदा सरकारले कुनै टिप्पणी गरेको छैन ।

यसैलाई लक्षित गरेर ओलीले वर्तमान सरकार चीनविरुद्ध लागेको आरोप लगाउनुभएको हो । उहाँले यो क्षेत्रमा युरेनियमको खानी रहेकाले कलेजको नाममा खानीमा आँखा लगाएको पनि आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले प्रचण्ड सरकारले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्न रोकेर दलाली गरेको आरोप पनि लगाउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय हित विपरित हुने क्रियाकलापमा खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय हित विपरित नजान पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसअघि अध्यक्ष ओलीले भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवि परिषद् केन्द्रीय समिति बैठकमा राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार भइरहेको गुनासो गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *