Main News

कूटनीतिमा पनि प्रधानमन्त्री प्रचण्डको राजनीति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १५ गते २०:४०
कूटनीतिमा पनि प्रधानमन्त्री प्रचण्डको राजनीति (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुटनीतिमा पनि राजनीति गर्नुभएको छ । देशको प्रतिनिधित्व हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा परराष्ट्रमन्त्रीलाई रोकेर सम्बन्ध नै नरहेका व्यक्तिलाई नेपालको नेतृत्व गर्दै पठाएपछि आलोचना बढेको छ ।

परराष्ट्रमन्त्री विमला राई पौड्याल आइतबार साँझ ६ बजेको फ्लाइटमा जेनेभा जाने तयारी गर्दै हुनुहुन्थ्यो । तर, दिउँसो साढे तीन बजे प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि उहाँको भ्रमण रोकियो ।

त्यसअघि विहानै पनि प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री पौड्यालबीच कुराकानी भएको थियो । बिहान ११ बजे पत्रकार सम्मेलन गरेर नै मन्त्री पौड्यालले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेको जानकारी गराउनुभएको थियो ।

तर, दिउँसो ३ बजे विमानस्थल निस्कनै लाग्दा मुख्यसचिव शंकरदास बैरागीले फोन गरेर परराष्ट्रमन्त्रीलाई भ्रमणमा नजान भनेपछि उहाँ रोकिनुभयो । जसलाई परराष्ट्र मन्त्रीको दल नेकपा एमालेले प्रधानमन्त्रीबाट भएको अपमानजनक काम भन्दै आपत्ति जनाएको छ ।

जेनेभामा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे परराष्ट्र मन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो । नेपालमा मानवअधिकारको प्रश्न बारम्बार उठिरँहदा राजनीतिक तहबाटै सम्बोधन गरिनुपर्ने थियो । विशेषतः पश्चिमाहरुले माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिका हननका प्रश्नहरु उठाउँदै आएका छन् ।

गणतन्त्र स्थापनापछि पनि नेपालको मानवअधिकारबारे अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रश्न उठ्ने गरेको छ । यस्तो अवस्थामा गोविन्द बन्दीलाई नेतृत्व गरेर पठाउँदा उहाँको भूमिकामै प्रश्न उठाइएको छ । विना सांसद मन्त्री समेत भएका बन्दी आफैंमा विवादित व्यक्ति मानिनुहुन्छ । बन्दीलाई नै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै किन पठाइयो ।

बन्दी कानूनमन्त्री रहँदा ल्याइएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक दण्डहिनतालाई प्रश्रय दिने गरी ल्याएको भन्दै आलोचना भएको थियो । यस्तो व्यक्तिलाई नै मानवअधिकार परिषद् बैठकमा किन पठाइयो ? यो प्रश्न उठेको छ । अर्कोतिर बन्दीको हैसियत के हो रु कुन जिम्मेवारीमा उहाँ जाँदै हुनुहुन्छ ? यी प्रश्नहरु छन् । उहाँलाई जेनेभा पठाइनुमा माओवादी स्वार्थ प्रष्ट देखिन्छ । तय भइसकेका कार्यतालिका प्रभावित हुँदा र मन्त्री जानुपर्ने ठाउँमा असम्बन्धित व्यक्तिहरुलाई जवर्जस्त पठाउँदा त्यसको राम्रो सन्देश नजाने परराष्ट्रमामिलाका जानकारहरु बताउँछन ।

नबोलाएका पाहुनालाई पठाउने प्रधानमन्त्रीको निर्णयको गलत भएको टिप्पणी सुरु भएको छ । अकस्मात भ्रमण रोकिएपछि कुटनीतिमा राजनीति प्रवेश गरेको परराष्ट्रमन्त्री पौड्यालको टिप्पणी छ ।

अहिले एमालेसँग दूरी बढ्दा संसदको ठूलो दल नेपाली कांग्रेस माओवादीसँग नजिकिएको छ । परराष्ट्रमन्त्रीलाई रोकेर असम्बनिधत व्यक्तिलाई जेनेभा पठाउनुलाई नेपाली कांग्रेसले स्वभाविक मानेको छ । सत्ता समीकरण फेरिएसँगै कांग्रेस प्रधानमन्त्रीको बचाउमा उत्रिएको छ ।

दलहरुभित्रको झगडाले पटक पटक देशको राजनीति तरंगित भएको छ । तर, प्रधानमनत्रकिो अहिलेको निर्णयले देशभित्र दलहरुकाबिचमा बढेको कटुताको असर अन्तर्राष्ट्रिय मञ्चहरुमा देखिनु पक्कै सोभनीय मान्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *