Main News

नयाँ पुस्तामा भाइरल बन्ने ‘रोग'(भिडियो रिपोर्टसहित)

२०७९ फागुन १५ गते ७:४७
नयाँ पुस्तामा भाइरल बन्ने ‘रोग'(भिडियो रिपोर्टसहित)

१५ फागुन २०७९ काठमाडौं । चर्चा कस्लाई प्यारो नहोला र ? तर चर्चा कसरी पाउने त्यो अहम् विषय हो । पछिल्लो समय केही नेपालीलाई सामाजिक संजालमा भाइरल हुने रोगले गाँजेको छ । तरकारीवालीबाट सुरु भएको भाइरल हुने संक्रमण फैलँदै गएको छ । यसले प्रयोगकर्तालाई सकारात्मक भन्दा नकारात्मक असर पारेको छ ।

वि.सं. २०७३ सालमा गोरखाकी कुसुम श्रेष्ठ सामाजिक सञ्जालमा भाइरल भइन । चितवनमा बसेर कलेज पढ्दै गरेकी कुसुमले तिहार बिदामा घर गएका बेला बाआमाले फलाएको गोलभेंडा बेच्न बजार झर्दै गरेको तस्वीर फेसबुकमा पोष्ट भएपछि चर्चामा आयो। ह्यास्ट्याग तरकारी बाली ट्रेन्डको साथ चर्चामा आएकी कुसुमलाई म्युजिक भिडियोदेखि फिल्मसम्मको अफर आयो । छोटो समयमै उदाएकी कुसुम त्यसैगरी हराइन् ।

मन बिनाको धन ठूलो कि धन बिनाको मन बोलको गीत गाएर चर्चित भएका बालकलाकार अशोक दर्जी अहिले करिब करिब गुमनाम छन् । झापा, दमकको सडकतिर गीत गाउँदै हिड्ने बालकलाई एकाएक भाइरल त बनाइयो तर सांगीतिक यात्रा कर्कलाको पानी जस्तै भयो ।

के छ हजुर ? ठीक छ हजुर । भन्ने गुल्मीका एक बालक सचिन परियारको नक्कल गर्ने समूह ठूलै थियो कुनै बेला । सामाजिक सञ्जालमा परियार निकै छाए पनि । अभिनेता राजेश हमालसँग सचिनले भिडियो नै खेले । तर आर्थिक अभावले त्रिवि शिक्षण अस्पतालको शैय्यामा जीवनमरणको अवस्थामा हुँदा सहयोग गर्ने कोही भएनन् । अहिले सचिनको अवस्था के छ भन्ने खोजीनीति गर्ने फुर्सद कसलाई हुनु र ?

त्यस्तै अजीवको हर्कत र बोलीका कारण एक जना आफूलाई अघोरी बाबा भन्ने पात्र सामाजिक संजालमा खुब चर्चित भए। युट्युबरहरूले खुब अन्तर्वार्ता लिए। विजय कार्की नामका ती भाइरल अघोरी बाबा अन्टसन्ट बोल्दै भाइरल त बने । उनै कार्की बहुविवाह मुद्दामा हिरासतमा पुगे ।

म्यादी भाइको रुपमा भाइरल कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का नवराज रेग्मी सिरियल अभिनयमा देखिए । म्यादी हुँ भन्दै एक भिडियो सामाजिक सञ्जालमा हालेपछि भाइरल भएका रेग्मी अहिले के गर्दैछन । अत्तोपत्तो छैन ।

शब्दैपिच्छे अपशब्द बोल्ने प्युठानका मीनबहादुर बुढामगर उर्फ भेलुबाजेलाई कस्ले नचिन्ला र रु लड्बडिएको आवाज अनि फोहरी र गालीगलौचपुर्ण शब्दावलीले बुढामगरलाई टिकटक, युट्युब, फेसबुक जस्ता सामाजिक संजालले चर्चामा पुर्‍यायो । अब भेलुबाजेको बजार भाउ पनि घटेको छ ।

पछिल्लो समय महोत्सवमा जाने र भाइरल हुने क्रम मौलाएको छ । महोत्सवमा जाने भुइँमा लडीबुडी गर्ने, घेरा पर्खाल चढ्दै, रोईकराई गर्ने वा छाती पिट्नेहरुले यतिबेला सामाजिक सञ्जालमा छाइरहेका छन । यस्तै पात्रको रुपमा अहिले चर्चित छन कैलाली महोत्सवमा रुँदै हाउभाउ गरेकी आँचल नाथ । आँचलले म्युजिक भिडियोमा अवसर पाएकी छन ।

यी त केही उदाहरण मात्रै हुन । चर्चामा आउन कतिपयले त टिकटकमा उत्शृखंल र उत्तेजनायुक्त भिडियो हाल्ने गरिरहेका छन । समाजिक सञ्जाल के को लागि हो र किन प्रयोग गर्ने भन्ने अन्योल छ । नेपाली सामाजिक सञ्जालका भाइरल ट्रेन्डप्रति मनोविद्हरुले चिन्ता व्यक्त गर्छन ।

नाम होस, बद्‍नाम होस तर गुमनाम नहोस् भन्ने सोच हुन सक्छ( सामाजिक सञ्जालको दुरुपयोग भइरहेको । वास्तविक प्रतिभालाई निखार्न संजालको प्रयोग भएमा सामाजिक संजालको पनि औचित्य रहन्थ्यो । तर क्षणिक चर्चाका लागि प्रयोग भैरहेको सामाजिक संजालले कतिपयको समय मात्रै हैन जीवन नै बर्वाद पारिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *