Main News

को हुन्, राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १३ गते २१:१९
को हुन्, राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङ ? (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७९ काठमाडौं । सत्तारुढ एमालेले माओवादी केन्द्रसँगको पूर्वसहमति अनुसार राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आएको छ । सहमतिभन्दा बाहिर नजान आग्रह गर्दै एमालेले आफ्ना उपाध्यक्ष सुवास नेम्वाङलाई तेस्रो राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारेको छ । को हुन्, सुवास नेम्वाङ ?

नेपालको संवैधानिक व्यवस्थाका लागि ऐतिहासिक जिम्मेवारी सम्हालेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ संविधानसभाको अध्यक्ष भइसक्नुभएको छ । उहाँ सभामुख पनि बनिसक्नुभएको छ । अहिले उनै नेम्वाङलाई एमालेले राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारेको छ । विक्रम संवत् २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा नेम्वाङको जन्म भएको थियो । कानूनमा स्नातक गरेका नेम्वाङले केही समय कानून व्यवसायमा समेत समय विताउनुभयो ।

नेम्वाङको राजनीतिक यात्राः
विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुकातर्फबाट महेन्द्र रत्न बहुमुखी क्याम्पसमा स्ववियु सभापति हुनुभयो । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङ तत्कालीन नेकपा मालेमा संगठित हुनुभएको थियो ।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ पनि आवद्ध हुनुभयो । त्यसयता एमालेको कानून विभाग प्रमुख हुँदै २०५८ सालबाट नेम्वाङ केन्द्रीय सदस्यमा मनोनित हुनुभयो । त्यसपछि सातौँ महाधिवेशनमा उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि उहाँ स्थायी कमिटी सदस्य बन्नुभयो । २०७८ सालमा सम्पन्न दशौं महाधिवेशनमा नेम्वाङ उपाध्यक्ष रहनुभयो ।

नेम्वाङको सत्ता यात्रा?
विक्रम संवत् २०४८ र २०५२ सालमा नेम्वाङ दुई पटक राष्ट्रिय सभाको अध्यक्ष रहनुभयो । २०५२ सालमै नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री हुनुभयो । २०५६ सालको संसदीय निर्वाचनमा इलामबाट विजयी नेम्वाङ पुनः कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, त्यसपछि सामान्य प्रशासनमन्त्री हुनुभयो । २०५७ सालमा उहाँ सार्वजनिक लेखा समितिको सभापति पनि हुनुभयो ।

२०६२–६३ को जनआन्दोलनपछि माओवादी केन्द्र शान्तिप्रक्रियामा आयो । त्यसपछि २०६३ सालमा संसद पुर्नस्थापना भयो, उहाँ सभामुख चयन हुनुभयो । २०६४ मा भएको निर्वाचनमा इलामबाटै निर्वाचित नेम्वाङ संविधानसभाको अध्यक्ष हुनुभयो । त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनपछि पनि अध्यक्ष रहेका नेम्वाङले सत्ता समीकरणमा आएको फेरबदलसँगै २०७२ असोजमा माओवादी नेतृ ओनसरी घर्तीलाई हस्तान्तरण गर्नुभयो । २०७४ साल, २०७९ सालको आम निर्वाचनमा नेम्वाङ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो ।

राष्ट्रपतिका उम्मेदवार नेम्वाङः
पुस १० गते एकाएक राजनीतिक समीकरणमा फेरबदल आयो । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच गठबन्धन थियो । प्रधानमन्त्रीको अडानबाट कांग्रेस सभापति शेरबहादुर देउवा पछि नहटेपछि पुराने गठबन्धन टुट्यो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासा वालकोट पुग्नुभयो । त्यहाँ प्रधानमन्त्रीका लागि प्रचण्डलाई एमालेले साथ दिने र राष्ट्रपति एमालेको भागमा हुनेगरी एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टीबीच सहमति बन्यो ।

यही सहमतिका आधारमा एमालेले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारेको बताएको छ । तर, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बेला कांग्रेसले ढोक्सा थाप्यो । अब समीकरण कसरी अघि बढ्छ, नेम्वाङको राजनीतिक यात्रा कसरी अघि बढ्छ त्यो हेर्न फागुन २५ गतेसम्म पर्खिनै पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *