Main News

प्रदेश सांसदका स्वकीय सचिवका नाममा मात्रै मासिक करोडौँ खर्च (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ९ गते ८:००
प्रदेश सांसदका स्वकीय सचिवका नाममा मात्रै मासिक करोडौँ खर्च (भिडियो रिपोर्टसहित)

९ फागुन २०७९ काठमाडौं । संघीय संसदका सदस्यले जस्तै प्रदेशसभा सदस्यले पनि स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । संघीय संसद सदस्यका लागि स्वकीय सचिवको खर्च मात्रै वार्षिक १७ करोड ५१ लाख ५ हजार ५१२ रुपैयाँ छ ।

सातवटा प्रदेशका स्वकीय सचिवको खर्च यो भन्दा बढी आउने गरेको छ । यसले राज्यलाई थप आर्थिक भार पारिरहेको छ । वार्षिक कति खर्च हुन्छ त प्रदेशसभा सदस्यका स्वकिय सचिवका लागि ?

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सुविधा उपलब्ध गराउन सातै प्रदेशले छुट्टाछुट्टै ऐन बनाएका छन् । प्रदेशसभा पदाधिकारी तथा सदस्यका लागि सुविधा व्यवस्थापनका लागि बनाइएका यस्ता ऐनमा हरेक प्रदेशसभा सदस्यले एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था छ। ऐन अनुसार प्रदेशसभा सदस्यले नायब सुब्बा तहको एक जना स्वकीय सचिव राख्न पाउँछन् । अर्थ मन्त्रालयका अनुसार नायब सुब्बाको सुरु स्केलको तलब ३४ हजार ७ सय ३० रुपैयाँ छ ।

प्रदेश अनुसार प्रदेशसभा सदस्यको संख्या पनि फरक फरक भएकाले पारिश्रमिक मा खर्च हुने रकम पनि फरक फरक छ । कुन प्रदेशमा कति प्रदेशसभा सदस्य छन् र उनीहरुको नीजि सचिव राख्नका लागि कति रकम खर्च हुँन्छ त ? हेर्नुहोस् यो तथ्यांक ।

प्रदेश एक
प्रदेशसभा सदस्यको संख्याः ९३
स्वकीय सचिवको संख्याः ९३
स्वकीय सचिवको तलबमा मासिक खर्च स् ३२ लाख २९ हजार ८९० रुपैयाँ
वार्षिक खर्चः ३ करोड ८७ लाख ५८ हजार ६८० रुपैयाँ

मधेश प्रदेश
प्रदेशसभा सदस्यको संख्याः १०७
स्वकीय सविचको संख्याः १०७
स्वकीय सचिवको तलबमा मासिक खर्चः ३७ लाख १६ हजार ११० रुपैयाँ
वार्षिक खर्चः ४ करोड ४५ लाख ९३ हजार ३२० रुपैयाँ

बागमती प्रदेश
प्रदेशसभा सदस्यको संख्याः ११०
स्वकीय सचिवको संख्याः ११०
स्वकीय सचिवको तलबमा मासिक खर्चः ३८ लाख २० हजार ३०० रुपैयाँ
वार्षिक खर्चः ४ करोड ५८ लाख ४३ हजार ६०० रुपैयाँ

गण्डकी प्रदेश
प्रदेशसभा सदस्यको संख्या ६०
स्वकीय सचिवको संख्याः ६०
स्वकीय सचिवको तलबमा मासिक खर्चः २० लाख ८३ हजार ८०० रुपैयाँ
वार्षिक खर्चः २ करोड ५० लाख ५ हजार ६०० रुपैयाँ

लुम्बिनी प्रदेश
प्रदेशसभा सदस्यको संख्याः ८७
स्वकीय सचिवको संख्याः ८७
स्वकीय सचिवको तलबमा मासिक खर्चः ३० लाख २१ हजार ५१० रुपैयाँ
वार्षिक खर्चः ३ करोड ६२ लाख ५८ हजार १२० रुपैयाँ

कर्णाली प्रदेश
प्रदेशसभा सदस्यको संख्याः ४०
स्वकीय सचिवको संख्याः ४०
स्वकीय सचिवको तलबमा मासिक खर्चः १३ लाख ८९ हजार २०० रुपैयाँ
वार्षिक खर्चः १ करोड ६६ लाख ७० हजार ४०० रुपैयाँ

सुदूरपश्चिम प्रदेश
प्रदेशसभा सदस्यको संख्याः ५३
स्वकीय सचिवको संख्याः ५३
स्वकीय सचिवको तलबमा मासिक खर्चः १८ लाख ४० हजार ६९० रपैयाँ
वार्षिक खर्चः २ करोड २० लाख ८८ हजार २८० रुपैयाँ

सातवटै प्रदेशमा प्रत्यक्ष र समानुपातिक सहित ५ सय ५० प्रदेश सभा सदस्यका स्वकीय सचिवका लागि एक महिनामै राज्यकोषबाट १ करोड ९१ लख १ हजार ५ सय रुपैयाँ खर्च हुने गरेको छ । वर्षमा २२ करोड ९२ लाख १८ हजार रुपैयाँ खर्च हुँदै आएको छ ।

संसदको एक कार्यकालमा प्रदेशसभा सदस्यका स्वकीय सचिवका लागि मात्रै १ अर्ब १४ करोड ६० लाख ९० हजार रुपैयाँ खर्च हुनेछ । यस बाहेक स्वकीय सचिवका रुपमा कार्यरत कर्मचारीलाई दशैं भत्ता भनेर एक महिना बराबरको पारिश्रमिक दिँदा थप झण्डै १० करोड खर्च हुने गरेको छ ।

प्रदेशसभाका सभामुख, उपसभामुख, संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक तथा सचेतकका लागिसमेत राज्यले स्वकीय सचिव, कर्मचारीलगायतको व्यवस्था गरेको हुन्छ । यसमा पनि ठूलो धनराशी खर्च हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *